हिउँदयाममा दाउरा जोहो गर्दै मुस्ताङी

हिउँदयाममा दाउरा जोहो गर्दै मुस्ताङी
जंगलबाट सुकेका दाउरा संकलन गरी आफैं बोकेर वा गौरु झोपालाई बोकाएर घरमा ल्याउँदै स्थानीय। तस्बिर : सुन्दरकुमार थकाली

जोमसोम : मुस्ताङका अधिकांश लेक जंगलमा स्थानीय नागरिकलाई हिउँदयामको जोहो दाउरा संकलन गर्न भ्याइनभ्याइ छ। हिउँदयामको समयमा दाउरा संकलन गर्ने यहाँको सदियौं वर्षदेखिको नियमित प्रचलन हो।

मुस्ताङमा उपल्लो र तलाो गरी एक्यापअन्तर्गतका १६ वटा संरक्षण क्षेत्र व्यवस्थापन समिति (सीएमसी) छन्। जुन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत सञ्चालित छन्। जसमध्ये वारागुङ मुक्तिक्षेत्रदेखि तलको भूभागमा १० वटा संरक्षण क्षेत्र व्यवस्थापन समितिले बर्सेनि हिउँदयाममा दाउरा फुकुवा गर्ने गरेका छन्। एक्याप जोमसोमको स्वामित्वमा रहेको जंगल र लेकमा सम्बन्धीत संरक्षण व्यवस्थापन समितिले हिउँदयाममा समय अनुकूल कार्यतालिका मिलाएर निश्चित अवधिका लागि दाउरा फुकुवा गर्ने गरिएको छ। मुस्ताङका ३ स्थानीय तहमा हिउँदयामको मौसममा स्थानीय नागरिकले जंगलका दाउरा संकलन गर्छन्।

बर्खे बाली सकेर हिउँदेबाली लगाएपछि मुस्ताङका किसान केही फुर्सदिला हुन्छन्। यद्यपि मुस्ताङमा स्याउ बगैचा व्यवस्थापन लगायतका नियमित कृषि कर्म सञ्चालन भइरहन्छ। हिउँदयाम पशुचौपायालाई कुडो पकाउन, घरायसी प्रयोजनका लागि खाना पकाउन र हिउँदयाममा चिसो थेग्न दाउरा आवश्यक पर्ने हुन्छ। यही प्रयोजनका लागि मुस्ताङका लेकमा स्थानीय संरक्षण व्यवस्थापन समिति र गाउँसमाजले मिलेर निश्चित अवधिका लागि दाउरा फुकुवा गर्ने चलन छ।

घरपझोङ–४ जोमसोमका संरक्षण व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर थकालीले जोमसोमको लेकमा पुस १ गतेदेखि स्थानीय गाउँमा कुरिया दर्ता भएका घरधुरीलाई दाउरा संकलन गर्न फुकुवा गरिएको बताए। उनले समितिले निश्चत अवधि तोकेर कुरिया दर्ता भएका घरधुरीलाई लेकमा पुगेर सुकेका दाउरा ल्याउन अनुमति प्रदान गरिएको बताए।

हिउँदयामको जोहोका लागि दाउरा संकलन गर्न स्थानीय नागरिकले चिसो सहँदै बिहानै झिसमिसे उज्यालोमा लेकमा प्रस्थान गर्छन््। लेकमा पुगेर त्यहाँँ सुकेका दाउरा संकलन गरिन्छ। लेक जंगलमा काँचो दाउराहरू ढलेर काम नलाग्ने अवस्थामा भेटिएमा त्यस्ता काँचो दाउरा पनि घरमा ल्याउन दिइन्छ। एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले प्राकृतिक श्रोत साधनको रक्षा, संरक्षण र उपयोग गर्ने अख्तियारी सम्बन्धित स्थानीय संरक्षण समितिमा निहित रहेको बताए। उनले स्थानीय आवश्यकता र औचित्य हेरी लेक जंगलका दाउरा र अन्य प्राकृतिक स्रोतहरूको उपयोग गर्ने अख्तियारी एक्यापले समितिलाई प्रदान गरेको बताए। असार र भदौ मसान्तसम्म बाहेक अन्य समयमा लेक जंगलका दाउरा र अन्य प्राकृतिक स्रोतको उपयोग र अधिकार समितिले गर्ने गरेको उनले बताए।

स्थानीयले कृषि प्रयोजनका लागि पालन गरिएका गोरु, झोपा, घोडा र खच्चड जस्ता घरपालुवा चौपाया लिएर आफ्नो पायक पर्ने लेक जंगल पुग्छन्। उनीहरूले दाउरा खोजेर तिनै चौपायाको सहयोगमा भारी बोकाई घर फर्कन्छन्। चौपाया नहुनेले आफैं बोकेर दाउरा घर ल्याउँछन्।

मुस्ताङका लेक जंगलमा दाउरा टिप्दा काँचो काट्न पाइँदैन र काँचो दाउरा काटेको प्रमाणित भएमा संरक्षण समितिले हर्जाना तिर्नुपर्ने हुन्छ। कुरिया दर्ता भएका घरधुरीहरूले मापदण्डविपरीत वा काँचो दाउरा ल्याए नल्याएको समिति र स्थानीय जनप्रतिनिधि मिलेर नियमित अनुगमन गर्ने गरिएको छ।

यसअघि सुनसान हुने मुस्ताङको बनपाखामा दाउरा संकलन गर्नेहरूको भीडले रौनक थपेको छ। यसप्रकारको रौनक बर्सेनि यार्सा गुम्बाको सिजन सुरु हुँदा पनि हुने गर्छ। घरपझोङ गाउँपालिको जोमसोम, ठिनी, ढुम्बा, स्याङ, मार्फा, छैरो र चिवाङका अधिकांश मानिस नीलगीरी र धौलागिरी हिमाली फेदको जंगल पुगेर दाउरा संकलन गर्न जान्छन्। थासाङ गाउँपालिकाका लेकमा पनि गाउँलेले आफ्ना मातहतका जंगलमा दाउरा खोज्ने गरेको थासाङ २ सौरुका स्थानीय सोजन हिराचनले जानकारी दिए। ‘गाउँ मुखिया र संरक्षण व्यवस्थापन समितिले निश्चित समयका लागि दाउरा फुकुवा गर्ने थासाङका स्थानीय सोजन हिराचनले उल्लेख गरे।

जोमसोमका किसान लेखबहादुर गुरुङका एकजोडी झोपा छन्। खेत जोत्ने, मल ओसार्ने र दाउरा संकलन गर्ने प्रयोजनमा पालन गरेका तिनै झोपामार्फत उनले दैनिक चार भारी दाउरा संकलन गर्छन््। उनी बिहानै ४ बजे उठेर झोपा खेदै नीलगिरी लेकको जंगलमा पुग्छन्।

‘चिसो मौसम छ,चिसोको महशुस हुँदैन’, उनले भने, ‘गाउँभन्दा जंगलमा दाउरा टिप्नेको रमाइलो छ, अहिले टिपेको दाउराले वर्षदिन पुर्‍याउनु पर्ने हुन्छ।’ त्यस्तै अर्का किसान मनोज गोतामेले पनि झोपाकै सहयोगमा दाउरा संकलन गरेका छन्। अघिपछि खेती किसान र अरानमा व्यस्त रहने मनोज ती सबै काम थाँती राखेर दाउरा संकलन गर्न जुटेका हुन्। ‘संरक्षण व्यवस्थापन समिति, जनप्रतिनिधि र गाउँ प्रतिनिधिले १० दिन जंगल खुला गरेको छ’, उनले भने, ‘वस्तुभाउ र परिवारले आगो ताप्न दाउरा चाहिन्छ, खोजिएका दाउराले १ वर्ष पुर्‍याउनुपर्छ।’

जोमसोम र अन्य गाउँमा कुरिया दर्ता भएका र खेतवारी कमाइ बसेकालाई मात्र दाउरा संकलन गर्न अनुमति दिइन्छ। स्थानीय किसानले दाउराका साथसाथै सल्लो र धूपीको पात (सन्) ओसार्ने गर्छन््। यो उनीहरूले अर्गानिक मलका रूपमा प्रयोग गर्न मलखातमा बिच्छ्याउँछन्। कतिपयले दाउरा खोज्न आफूसँग भएका चौपाया अधिया दिएर दाउरा बराबरी भाग लगाउने चलन पनि छ।

मुस्ताङका प्रत्येक गाउँमा छत माथि दाउरा पाज्ने चलन छ। घरको अगाडि दाउरा पाज्ने चलनले स्थानीय कला संस्कृतिको संरक्षण गर्ने स्थानीयको भनाइ छ। छत माथि धेरै दाउरा पाज्दा त्यो घर सम्पन्नको उदाहरण बन्ने गरेको स्थानीयले बताए। मुस्ताङमा यातायात सञ्जाल नजोडिँदा यहाँका स्थानीयले घरको सम्पूर्ण कार्य दाउराबाट हल गर्थे। पछिल्लो समय मुस्ताङमा सडक सञ्जाल सहज हुँदै जान थालेपछि सडक सहज भएसँगै दाउराको खपत घटेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.