२० गैंडा भारतीय जंगलमा
गुलरिया : मंसिर दोस्रो साता बर्दिया राष्ट्रिय निकुञ्जको कर्णाली नदी तटीय क्षेत्रमा एकसिंगे गैंडाको अनुगमन गरियो। त्यस क्रममा १५ देखि २० गैंडा भारतको कर्तनियाघाट पुगेको पत्ता लाग्यो। पानीको अभावका कारण ती गैंडा भारतको जंगलहुँदै कर्तनियाघाट पुगेको अनुगमनकर्ताहरूको भनाइ छ। कुनै गैंडा नछुटून्, कुनै नदोहोरिऊन् भन्ने मान्यतासहित गरिएको गैंडा अनुगमनका क्रममा एकसिंगे गैंडा भारतको कर्तनियाघाट वन विहारतर्फ गएको पाइएको छ।
निकुञ्जभित्र कुनै घटना छ—छैन, वन्यजन्तुलाई नोक्सानी पु¥याउन कुनै पासोहरू थापिएको छ—छैनलगायत निकुञ्जभित्रका वन्यजन्तुका बासस्थानको अवस्थाबारे पत्ता लगाउन अनुगमन गरिएको थियो। त्यससँगै प्रत्यक्ष गणना विधिबाट गैंडाको गणना पनि गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोककुमार रामले बताए। अनुगमनबाट निकुञ्जभित्रको सबै अवस्था राम्रै भएको पाइएको उनले बताए। ‘गैंडाको विचरण राम्रै देखियो। पानी अभावका कारण १५ देखि २० वटा गैंडा भारतको कर्तनियाघाट वन्यजन्तु आरक्षमा पुगेको पाइयो। वर्षान्तपछि स्विप गर्दै निकुञ्जमा गैंडा अनुगमन गरिएको हो’, उनले भने।
गैंडाको बासस्थान रहेको सबै स्थानमा ५० देखि १०० मिटरको दूरीमा जीपीएस, दुरबिन र डिजिटल क्यामेरालगायतका आधुनिक उपकरणको प्रयोग गरिएको थियो। स्विप गर्दै प्रत्यक्ष गणना विधिबाट गैंडा गणना गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सूर्य खड्काले बताए। मंसिर १२ गतेदेखि १८ गतेसम्म गैंडा अनुगमन तथा गणना गरिएका थिए। त्यस क्रममा २६ वटा गैंडा भेटिएका थिए। बर्दिया राष्ट्रिय निकुञ्जका ५ र एनटीएनसीको एउटा गरी ६ वटा हात्तीलाई गैंडा गणनामा परिचालन गरिएका थिए। निकुञ्ज तथा एनटीएनसी बर्दियाका प्राविधिक, निकुञ्ज सुरक्षार्थ खटिएका जबरजंग गणका सुरक्षाकर्मी, बर्दिया हात्तीसारका ६ जना कर्मचारीको टोलीले गैंडा अनुगमनसँगै गणना गरेको उनले प्रष्ट्याए। राष्ट्रिय गैंडा गणना २०७७ अनुसार नेपालमा भाले १ सय ४६, पोथी १ सय ९८, लिंग नछुट्टिएको ४ सय ८ गरी ७ सय ५२ वटा एकसिंगे गैंडा छन्। जसमध्ये वयस्क ५ सय २०, अर्ध वयस्क ९६ र बच्चा १ सय ३६ वटा छन्।
चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र आसपासका वन क्षेत्रमा भाले १ सय २८, पोथी १ सय ७४ र लिंग नछुट्टिएको ३ सय ९२ गरी ६ सय ९४ वटा गैंडा छन्।
बर्दियामा भाले १४, पोथी १९ र लिंग नछुट्टिएका ५ गरी ३८ वटा एकसिंगे गैंडा छन्। त्यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ तथा पर्सा राष्ट्रिय निकुञ्जमा ३ वटा गैंडा छन्। बर्दिया राष्ट्रिय निकुञ्जको कर्णाली तटीय क्षेत्रमा गैंडा अनुगमन कार्य सहज रूपमा सकिएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत अजित तुम्बाहाङफेले बताए। बबई तटीय क्षेत्रको गणना कार्य बाँकी रहेकाले चैत महिनामा हुने राष्ट्रिय गैंडा सर्भेका क्रममा पूर्णता पाउँछ। उनले भने, ‘यतिखेर निकुञ्ज तथा जंगलहरूमा खरका झाडीहरू अग्ला हुने भएकाले पनि गैंडा अनुगमन तथा गणना कार्यमा कठिनाइ हुन्छ।