दूधमतीको सौन्दर्यीकरणमा जुट्यो मधेस सरकार
जनकपुरधाम : हिन्दु धर्मावलम्बीहरूको पवित्रस्थल मानिन्छ– जनकपुरधामको दूधमती नदी। त्रेतायुगमा राजा जनककी छोरी सीताले समेत दूधमतीमा स्नान गरी धार्मिक अनुष्ठान गरेको जनविश्वास छ। त्यसैकारण, भारतका विभिन्न स्थानबाट स्नान गर्न यहाँ हिन्दु धर्मावलम्बी आउँछन्।
दूधमती नदीमा स्नान गर्दा पुण्य प्राप्त हुने र चिताएको पुग्ने जनविश्वास छ। देवकार्य, पितृकार्य, गर्ने महत्वपूर्ण धार्मिक कार्य यही नदी किनारमा हुने गर्छन। तर, पछिल्लोपटक उद्योगहरूबाट निस्कने दुर्गन्ध र स्थानीयले जथाभावी फोहोर फ्याँक्दा दूधमती दुर्गन्धित बन्दै गएको छ। त्यसैकारण, यो नदीको सरसफाइ अभियानमा मधेस सरकार जुटेको छ। सरकारले नदीको अस्तित्व उत्खनन तथा सौन्दर्यीकरण पनि गर्न लागेको हो।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका—३ सखुवा महेन्द्रनगरबाट सुरु हुने दूधमती नदी जनकपुरधाम हुँदै महोत्तरीको मटिहानीसम्म बग्छ। त्यहाँबाट अर्को नदीमा मिसिन्छ। त्रेतायुगमा राजा जनककी छोरी सीताले समेत स्नान गरी धार्मिक अनुष्ठान गरेकाले नेपाल र भारतका विभिन्न स्थानका हिन्दु धर्मावलम्बी तथा जनकपुरवासीले यसलाई पवित्र मान्दै आएको जनकपुरधामका साधुसन्त जगदीशदास वैष्णव बताउँछन। दूधमती नदीमा स्नान गर्दा पुण्य प्राप्त हुने र चिताएको पुग्ने जनविश्वास छ।
‘विगतमा दूधमती नदी स्वच्छ, सफा र पिउन योग्य पानी बग्थ्यो,’ जनकपुरधाम उपमहानगरपािलकाका सफाइ अभियानकर्ता सुरेश शर्माले भने,‘ पछिल्लो समय फोहर मैलोले दूषित बन्यो। झारपात उम्रिए। कतिपयले फोहोर मैला फाल्ने स्थान बनाए।,’ विगतमा सम्बन्धित निकायले
चासो नदिए पनि स्थानीयवासीले सरसफाइ अभियान सुरु गरेको शर्माले बताए। ‘अब प्रदेश सरकारले उत्खनन, सौन्दर्यीकरण तथा पर्यटन प्रवद्र्धनको हिसाबले काम सुरु गर्न लागेकोमा खुसी छौं,’ शर्माले भने।
जनकपुरधाम–२२ विसपट्टीका बासिन्दा, नेपाली सेना, प्रहरी, स्थानीय युवा, जनप्रतिनिधिसहितको टोलीले हरेक शनिबार बिहान दूधमती नदी सरसफाइ गरिरहेको छ। नदी सरसफाइमा मधेस प्रदेशसभा सदस्य रामअशिष यादव पनि सहभागी हुने गरेका छन्। ‘स्वच्छ जनकपुर, सुन्दर जनकपुर अभियान’ का अगुवासमेत रहेका सांसद यादवले दस वर्ष अघिबाट गंगासागर सरसफाइ अभियानबाट प्रभावित स्थानीयवासीले दूधमती नदी सरसफाइ महाअभियान थालेका थिए।
नदी सरसफाइका लागि जनकपुरधाम–२२ वसबिटीका बासिन्दाले ‘दूधमती नदी गरिमा संरक्षण समिति’ नै गठन गरेका थिए। स्थानीयवासीले हरेक साता नियमित नदीको सरसफाइ गर्दै आएको महोत्तरी पिपरा गाउँपालिका– ५ का हरेराम तिवारीले बताए। धनुषाको सखुवा महेन्द्रनगरदेखि महोत्तरीको मटिहानीसम्म ४६ किलोमिटर लम्बाइको दूधमती नदी मिथिलाञ्चलको सबैभन्दा पुरानो नदी हो। तर नदीको मुहान बन्द गरी एभरेस्ट पेपर मिललगायत अन्य उद्योगलाई ठेक्का दिएको र जसबाट धेरै फोहर नदीमा प्रवेश पाउने गरेको छ। उक्त कार्य बन्द गरी नदीलाई स्वच्छ र सफा राख्न स्थानीयले माग गर्दै आए पनि सरकारले बेवास्ता गरिरहेको संरक्षण समितिका सचिव विमलेश यादवले बताए।
उनका अनुसार दूधमती नदीको दायाँबायाँ घाट, सडक र धर्मशाला निर्माण गरी पवित्र धार्मिकस्थलका रूपमा संरक्षण गर्ने समितिको योजना छ। दूधमती नदीकिनारामा स्थानीयवासीले शव दाहसंस्कार गर्दै आएका छन्। दाहसंस्कारका लागि मसानघाट, साधुसन्त बस्ने, भजन गाउने, पूजाआजा गर्ने मठमन्दिर, धर्मशाला, तपस्या स्थल, पार्किङस्थल, निर्माण गरी वरिपरि वृक्षरोपण गर्नुपर्ने समितिको माग छ। ‘उहिले हामीले दूधमतीको पानी पिउथ्यौं, साधुसन्त, स्थानीयवासी सबैले पिउँथे, अहिले दूषित बन्यो,’ स्थानीय चन्द्र हरिदास वैष्णवले भने, ‘नदीको पानी पहिलेजस्तै सफा राख्नुपर्छ।’
दूधमतीको नक्सांकन तथा रेखांकन हुँदै
धनुषा र महोत्तरी क्षेत्रमा पर्ने दूधमती नदीको संरक्षण, जीर्णोद्धार र सौन्दर्यकरणका लागि आगामी आइतबारदेखि नक्सांकन तथा रेखाकंनको काम सुरु हुँदैछ। मधेस प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको दूधमती संरक्षण तथा सौन्दर्यकरण कार्यक्रमअन्तर्गत दूधमती नदी संरक्षण उच्चस्तरीय उपसमितिको मंगलबार बसेको बैठकबाट नदी क्षेत्रको जग्गा छुट्ट्याउन नक्सांकन तथा रेखांकन गर्ने निर्णय गरिएको हो।
उपसमितिका अध्यक्ष ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवको अध्यक्षतामा बसेको उपसमितिको बैठकबाट दूधमती नदीको नक्सांकन तथा रेखांकनसहित विभिन्न ६ बुँदे निर्णय गरिएको छ। पुस १४ गतेदेखि सुरु हुने नक्सांकन अर्थात् नदी क्षेत्र नापजाँचका लागि तीन महिना समय दिइएको छ। दूधमती नदीको उद्गमस्थल क्षीरेश्वरनाथ नगरपालिका ५ अरजनवादेखि महोत्तरीको मटिहानी सीमावर्ती क्षेत्रसम्म गरिनेछ।
दूधमती नदीको संरक्षण र सौन्दर्यीकरण प्रदेश सरकारको गौरवको आयोजना रहेकाले आयोजना सम्पन्नपश्चात् पर्यटकीय र आर्थिकसहित कृषि क्षेत्रको समेत विकास हुने उपसमितिका अध्यक्ष मन्त्री यादवले बताए। उनले भने, ‘यीबाहेक ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयद्वारा विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार पारिने, बजेटको व्यवस्थापन सम्बन्धित मन्त्रालयले गर्ने, डीपीआरपछि टेन्डर प्रक्रियाअघि बढाइने, चालू आर्थिक वर्षमा छुट्ट्याइएको रकमबाट तत्काल कार्य अघि बढाइने र प्रचारप्रसार समिति गठन गर्ने सहितका निर्णयसमेत गरिएको छ।’
सो बैठकमा उपसमितिका पदाधिकारी, धनुषा र महोत्तरी जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, नापी तथा मालपोत कार्यालयका प्रतिनिधिसहित सरोकारवाला निकायका प्रतिनिधि, प्रहरी प्रशासन समेतको उपस्थिति रहेको थियो।