सुर्खेतमा फुड फेस्टिभल
वीरेन्द्रनगर : अंग्रेजी नयाँ वर्षको अवसरमा सुर्खेतमा फुड फेस्टिभल आयोजना गरिने भएको छ। सुर्खेतको शुभ होटल प्रालिले कर्णालीका रैथाने बाली तथा स्थानीय उत्पादनहरूको बजारीकरण गर्न फुड फेस्टिभलको आयोजना गर्न लागेको हो।
शनिबारदेखि चार दिनसम्म सञ्चालन हुने उत्सवमा लघुउद्यमी तथा साना किसानहरूले उत्पादन गरेको स्थानीय उत्पादन स्टलमा राख्नका लागि निःशुल्क १५ स्टलको व्यवस्था गरिएको छ। होटल शुभका संस्थापक तथा उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शनिबारदेखि हुने प्रदर्शनीमा स्थानीय उत्पादनको बजारीकण, कर्णालीको कला, संस्कृतिको संरक्षण गर्न सांस्कृतिक कन्सर्ट, प्रदेश सरकारका कृषि मन्त्रालय र उद्योग वन पर्यटन मन्त्रालयका मन्त्री र सचिवलाई राखेर उद्योगीहरू र व्यवसायीसँग अन्तरक्रियालगायतका कार्यक्रमहरूको तयारी गरिएको जानकारी दिए। उनका अनुसार यो उत्सव अवधिभर शुभ होटलले प्रदान गर्ने सेवाहरूको बजारीकरण गर्ने, रैथाने बालीहरूबाट बन्ने परिकारहरू निःशुल्क रूपमा चखाउने, केही परिकारहरू केही प्रतिशत छुटमा बिक्री पनि गर्ने, अन्य केही व्यापारिक स्टलहरू पनि राखेर स्थानीय उत्पादित वस्तु तथा फुड परिकारहरू प्रदर्शनी गरिनेछ।
कार्यक्रममा शुभ होटलका अध्यक्ष एवं निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेशका महासचिव मानव बमले मेलाले कर्णालीको बिजनेस एक्सपोका रूपमा लिएको बताए। उनका अनुसार यस एक्सपोले कर्णालीका रैथाने बालीहरूको उपभोग वृद्धि हुने, प्रचारप्रसार हुने, सरकारसँग साना व्यवसायी तथा किसानहरूले आफ्ना समस्या र सबाल राख्न पाउने, कर्णालीको उत्पादन बजारीकरण हुने जस्ता सकारात्मक उपलब्धिहरू हासिल हुनेछन्। उनले भने, ‘मेलाको तीन दिन प्रवेश निःशुल्क हुनेछ। मेलाको अन्तिम दिन सांस्कृतिक कन्सर्ट हुनेछ। जहाँ स्थानीय हुड्केदेखि चर्चित गायक दीपक लिम्बूजस्ता गायकहरूले सांस्कृतिक प्रस्तुति राख्नेछन्। अध्यक्ष बमले अंग्रेजी नयाँ वर्ष उत्साहका साथ मनाउने र कर्णालीका उत्पादनहरू बजारीकरण पनि गर्ने उद्देश्यले यो मेलाको आयोजना गरिएको बताए।