म जाँदैछु
खाडीको बगरमा पसिना बगाउन ।
असंख्य सम्भावनाका चुली टेकेर
सफलताको माला लगाउने मेरो संकल्प
कति निर्ममतापूर्वक कुल्चियौ ?
ए सरकार !
कहाँ छ तिमीभित्र देश प्रेम ?
लगाउन त म पनि
प्रत्येक जन्मदिनमा
माटोकै टीका लगाउँछु
हरेक बिहान मुस्काएको हिमालसँग खुसी हुन्छु
काँधमा देशको झण्डा भिरेर
पुर्खाको पौरख र वीरतामा गर्व गर्छु ।
देशमा शान्ति छाओस् भनेर
भगवान्सँग प्रार्थना पनि गर्छु
एउटा नागरिकले जे गर्न सक्छ, गरेकै छु
म धेरै कुरा मागेर सरकारलाई
अप्ठ्यारो बनाउन चाहन्नँ ।
उद्यम गर्न माग्छु थोरै ब्याजमा ऋण
बैंक माग्छ चर्को ज्यानमारा ब्याज
म माग्छु छिटोछरितो सेवा
कर्मचारी माग्दछ घूस
म माग्छु उद्यमीमैत्री नीति
सरकार बनाउँछ बिचौलिया पोस्ने रणनीति
म माग्छु न्याय
न्यायालय दिन्छ वर्षौं लामो तारिख
म माग्छु गुणस्तरको शिक्षा
पार्टीहरू बनाउँछन् शिक्षकलाई कार्यकर्ता
म माग्छु सहुलियत दरमा मल, बिउ
सरकार भिœयाउँछ विषादी तरकारी
म माग्छु स्वदेशमै रोजगारी
सरकार बनाउँछ फ्रि भिसा फ्रि टिकटको नीति
म माग्छु सुलभ सार्वजनिक यातायात
सरकार बढाउँछ साना सवारीसाधनको आयात ।
म सरकारसँग माग्दामाग्दै थाकेको छु
हरेक अड्डा धाउँदाधाउँदै थाकेको छु ।
आफ्नै पैतालाको भरमा उभिन खोज्दा
म जमिनबिनाको एक्लो बनेको छु
सुन ए सरकार !
म जाँदैछु
यहीँ कतै छाडेर जाँदैछु
तिम्रो अजंगको असफलता
जाँदाजाँदै मेरो बिन्ती सुन
मेरो मातृभूमिलाई थप असफल नबनाऊ
मेरो जन्मभूमिलाई थप कंगाल नबनाऊ ।