प्रतिष्ठा राष्ट्रिय पोसाकको

समाज/संस्कृति

प्रतिष्ठा राष्ट्रिय पोसाकको

राष्ट्रिय पोसाक घर’ नेपालमा मात्र होइन, बेलायतमा पनि स्थापित ब्रान्ड बन्दै छ। जसले ‘राष्ट्रिय पोसाक’ सँगै ‘नेपाली फेब्रिक’लाई ग्लोबल मार्केटमा पुर्‍याउँदैछ।

थिंक लोकल्ली, एक्ट ग्लोबल्ली। अंग्रेजीको यो वाक्यलाई आत्मसाथ गर्दै नेपाली राष्ट्रिय पोसाक (दौरासुरुवाल, कोट र टोपी)लाई अन्तर्राष्ट्रियरूपमा प्रवर्द्धन गर्न तल्लिन छन्, राजकुमार (राजानन्द माण्डव्य) र श्याम बजगाईं। जो राष्ट्रिय पोसाक घरका संस्थापक हुन् ।

काठमाडौं बानेश्वरबाट सुरु भएको उनीहरूको व्यवसाय नेपाल बाहिर बेलायतसम्म विस्तार भएको छ। काठमाडौं उपत्यकाबाहिर पोखरासम्म पुगेको छ। स्वदेश होस् वा विदेश, बिहेको सिजन होस् वा अन्य कुनै औपचारिक कार्यक्रम, राष्ट्रिय पोसाक फेसन झैं बनेको छ। कुनै बेला अरूले सिलाएका ढाका टोपी, दौरासुरुवालमा सजिएर राष्ट्रिय पोसाक दिवस मनाउने बजगाईं दाजुभाइको अहिले जीवनशैली फेरिएको छ। राष्ट्रिय पोसाक घरलाई ‘ट्रेन्ड सेटर’ बनाउने अभियानको दौडधुपमा छन् उनीहरू ।

‘पोखरामा प्लेटिनम लेभलको आउटलेट खोलिसकेका छौं। काठमाडौंमा पनि अर्को प्लेटिनम लेभलको आउटलेट खोल्ने योजना छ’, श्याम भन्छन्, ‘बेलायतमा पनि फ्रेन्जाइज विस्तार गरेका छौं। दुई वर्षभित्र अस्टे«लियाको बेलबर्न वा सिड्नीमा पनि खोल्ने योजना छ ।’ ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकता दिने सफलता पाइरहेको उनी बताउँछन्। राष्ट्रिय पोसाक घरमा निर्मित दौरासुरुवाल, कोट र टोपी त पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि चर्चित कलाकार र खेलाडीहरूले पनि लगाइरहेका छन् ।

राष्ट्रिय पोसाकको राष्ट्रिय/अन्तर्राष्ट्रिय माग पु र्‍याउन दाजुभाइलाई भ्याइनभ्याइ छ। जसको अन्तर्राष्ट्रियकरण गर्ने सोच पनि उनीहरूको छ।

तत्कालीन प्रधानमन्त्री भट्टराईले चित्त दुखाएपछि... :  राष्ट्रिय पोसाकको प्रवद्र्धनमा लाग्नुको पछाडिको रहस्य रोचक छ। २०६८ सालमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले दौरासुरुवाल र गुन्यूचोली समयसापेक्ष नभएको भन्दै राष्ट्रिय पोसाकबाट हटायो। नेपालमा लगाइने सबै पोसाकलाई राष्ट्रिय पोसाकको मान्यता निर्णय गर्‍यो । सरकारको यो निर्णयले राजानन्दको मन कुँडियो।

‘मन यति दुखेछ कि राष्ट्रिय पोसाक दिवस मनाउन मैले साथी भेला गरें। दौरासुरुवाल लगाएर दिवस बनाउने योजना बनाए’, उनी सम्झन्छन्, ‘त्यो बेला राष्ट्रिय पोसाक लगाउनु भनेको सरकारको विरोध गर्नुजस्तै थियो। भूमिगत हुनुपर्ने पो हो कि भन्ने डर पनि थियो। दुई वर्ष चुपचाप बसियो ।’ जब भट्टराई नेतृत्वको सरकार ढल्यो, राजानन्दको विरोध कार्यक्रम सतहमा देखियो ।

त्यसपछि उनीहरू अंग्रेजी नयाँ वर्ष जनवरी १ को दिन बनेपामा राष्ट्रिय पोसाक लगाएर दिवस मनाउन थाले। काठमाडौं, असनबाट १०/११ जोर दौरासुरुवाल किनेर केही युवाले बनेपामा बृृहत् सांस्कृतिक कार्यक्रम गरे। कार्यक्रमले अपेक्षा अनुरूप व्यापकता नपाएपछि उनको अभियान संघीय राजधानी काठमाडौं केन्द्रित भयो ।

काभ्रेदेखि बसन्तपुर, दरबारसम्म गाडी रिजर्ब गरी पन्चैबाजा, खैंजडीसहित उनको टोली बसन्तपुरमा आएर जनवरी १ कै दिन नेपाली पोसाक दिवस मनाउने कार्यलाई निरन्तरता दिए। यी कार्यले पनि ध्यानाकर्षण हुन नसकेपछि दाजुभाइले रचनात्मक विरोधको शैली नै फेरे । २०७४ बैशाख १४ गते माइतीघर मण्डलामा सालको पात लगाएका बजगाईंसहितका युवाले र्‍याली प्रदर्शन गरे। सालको पातलाई फेबिकलले कम्मरमा टाँसेर राजकुमारको नेतृत्वमा युवाले सडकमा  र्‍याली निकाल्यो। माइतीघरबाट बानेश्वरसम्म पैदल मार्च गरेका युवाको टोलीले राष्ट्रिय पोसाक घोषणा गर्न माग गर्‍यो ।

प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले दौरासुरुवाल र गुन्यूचोली समयसापेक्ष नभएको भन्दै राष्ट्रिय पोसाकबाट हटायो। नेपालमा लगाइने सबै पोसाकलाई राष्ट्रिय पोसाकको मान्यता निर्णय गर्‍यो । सरकारको यो निर्णयले राजानन्दको मन कुँडियो।

‘त्यो बेलासम्म राष्ट्रिय पोसाकको नै व्यवसाय गर्ने भन्ने कुनै सोच थिएन। राष्ट्रिय पोसाक घोषणा गर्नुपर्ने लहडी विरोध प्रदर्शन मात्र थियो’, राजानन्द सुनाउँछन्, ‘हामीलाई साथ दिनेहरू क्रमश:  विदेश लाग्न थाले। अनिमात्र राष्ट्रिय पोसाक घर बनाएर व्यवसाय गर्ने विचार पलायो ।’ उनी अहिले राष्ट्रिय पोसाकको प्रवर्द्धनमा जुटेका छन् ।

त्यसो त कुनै बेला साधु बन्ने उद्देश्यले बनारस पुगेका राजानन्द कुनै समय दुबईमा सेल्सम्यान हुन पासपोर्ट बनाउने युवा हुन्। उनै यतिबेला भने अहिले राष्ट्रिय पोसाकको ब्रान्ड बनाउन लागिपरेका छन्। ‘जीवनमा आरोह–अवरोह आए। सबै योजना भताभुंग भए’, उनी भन्छन्, ‘गाई भए गोरस, भाइ भए भरोस भन्ने उखान व्यवहारमा लागू भयो। भाइ श्यामको आड, भरोसामा राष्ट्रिय पोसाकको व्यापारले गति लिइरहेको छ ।’

दाजुभाइको लगानी :  व्यवसाय गर्ने सोचले मात्र कहाँ हुन्थ्यो र ? पैतृक सम्पत्ति लगानी गर्ने अवस्था पनि थिएन। सहकारीबाट ऋण लिए। अन्य विश्वासिला व्यक्तिले पनि आर्थिक सहयोग गरेपछि झन्डै २० लाख जुट्यो। २०७४ चैतमा बानेश्वरमा राष्ट्रिय पोसाक घरको खोले ।

‘सधैं अन्यत्रबाटै दौरासुरुवाल किनेर एक दिन दिवस मनाउनुको औचित्य नभएपछि बिजनेस गर्नेतिर लागियो’, उनी भन्छन्। पूर्व संस्कृतिमन्त्री आनन्दप्रसाद पोखरेल र अग्रज पत्रकार भैरव रिसालले उद्घाटन गरे। चिया पसलसमेत नचल्ने ठाउँमा राष्ट्रिय पोसाकको शो रुम देख्दा कतिपयले 
डुब्ने भयौ भन्दै तर्साए ।

‘कपडाका बारेमा ज्ञान त शून्य नै थियो। हामीलाई फित्ता नाप्नसमेत आउँदैनथ्यो। कुनै आइडिया थिएन। सुरुमा कति नाप्न नजानेर कति कोट, दौरा, सुरुवाल खेर गए’, राजानन्द हाँस्दै सुनाउँछन्, ‘एक किसिमले जुवा खेले झैं भयो। नाप्न नजान्दा बनाइएका कोट, दौरा, सुरुवाल खेर गए। जसलाई घरमा झुन्ड्याएका छौं ।’

जनसम्पर्कका कारण ग्राहकले पोसाक अर्डर गर्न थाले। ‘एकातिर हामीले भव्यरूपमा राष्ट्रिय पोसाक दिवस मनाउन थाल्यौं’ उनी थप्छन्, ‘कहाँ पाइन्छ पोसाक ? भनेर सोध्नेलाई हाम्रोमा आउनुस् भन्दै ग्राहक बनायौं ।’ उनीहरूको व्यवसायले गति लिन लाग्दा कोभिड सुरु भयो। तैपनि कोभिडको बेला बेलुका सटर खोल्थे उनीहरू ।

‘ज्यान दाउमा राखेर घरघरमा सेवा दिन थालियो। दुई वर्षको अवधिमा पनि दौरासुरुवाल सिलाएर घरघरमा लगेर दियौं’, उनी स्मरण गर्छन्। अहिले राष्ट्रिय पोसाकको अभियान चलाउनेदेखि सामाजिक उत्तरदायित्व बहन गर्नेसम्मका काम राजानन्दले गरिरहेका छन्। भाइ श्यामको भूमिका कर्पोरेटमा छ। जसको व्यवस्थापकीय पाटो भने आयुष शर्माले सम्हालेका छन् ।

राष्ट्रिय पोसाकको राष्ट्रिय/अन्तर्राष्ट्रिय माग पुर्‍याउन उनीहरूलाई भ्याइनभ्याइ छ। अन्तर्राष्ट्रियकरण गर्ने सोच भाइ श्यामको हो। २०७४ सालमा गैरसरकारी संस्थाको जागिर छोड्ने बेला अभिभावकको पूर्ण सहमति थिएन। ‘नाङ्लोबाट भए पनि व्यवसाय सुरु गर्छु भन्ने हुटहुटी थियो’, श्याम सुनाउँछन्, ‘बोली बिक्यो। सुरुवाती लगानीमा धेरथोर सहयोग पाएका कारण सटरबाट व्यवसाय सुरु गर्न पाइयो ।’ त्यो बेला सटर भाडा २० हजार थियो। अहिले झन्डै एक लाख छ ।

राष्ट्रिय पोसाक (दौरासुरुवाल, ढाका टोपी) प्रवद्र्धनमा तल्लीन छन् उनीहरू। त्यो पनि स्वदेशमा होइन, विदेशमा। ‘राष्ट्रिय पोसाक देखिनेमात्र होइन, अनुभूति गर्ने विषय पनि हो। जहाँ जहाँ नेपाली बस्छन्, त्यहाँ त्यहाँ राष्ट्रिय पोसाक उपलब्ध गराउने दीर्घकालीन योजना छ’, उत्साहित हुँदै श्याम थप्छन्, 
‘अल्लो, सिस्नो, लोक्तालगायतबाट बनेको नेपाली फेब्रिकलाई ग्लोबल मार्केटमा पु र्‍याउन थालेका छौं। हाम्रो स्टोरमा कम्तीमा २० प्रतिशत नै भए पनि नेपाली फेब्रिक उपलब्ध हुनेछ। राष्ट्रिय पोसाकसँगै नेपाली अर्गानिक फेब्रिकलाई अन्तर्राष्ट्रियकरण गराउन पाउँदा गर्व महसुस हुन्छ ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.