फास्ट ट्रयाकको प्रस्थान विन्दु कायम गरिन्छ : मन्त्री दाहाल
काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणमा देखिएका समस्या लम्बिन नदिने बताएका छन्।
शनिबार द्रुतमार्गको प्रस्थान विन्दु मानिएको खोकनादेखि बुंमती हुँदै फसिडोलसम्मको अवलोकन एवम् निरीक्षण गर्दै देखिएका समस्या र चुनौती समाधान तर्फ लाग्ने बताएका हुन्।
‘यो फास्ट ट्रयाक तराई र काठमाडौं जोड्ने लाईफलाईन हो’ निरीक्षणका क्रममा मन्त्री दाहालले भन्नुभयो, ‘यसको प्रस्थान विन्दु कायम गर्ने विषयमा केही चुनौती देखिएका छन् तर यी विषयलाई लम्बिन दिनु हुँदैन, सबैले समाधानको विकल्प खोजी गर्नुपर्छ ।’ सडक निर्माण एवम् विस्तार गर्दा कसैको पनि आस्था माथि प्रहार गर्न नहुनेमा सरकार सजग रहेको भन्दै मन्त्री दाहालले धार्मिक, सांस्कृतिक एवम् परम्परागत मान्यता र आस्थाहरूको संरक्षण गर्दै निकाश निकाल्नु पर्नेमा जोड दिए।
फास्ट ट्रयाकले सर्वसाधारणको आवतजावत सहज पार्ने मात्र नभई नेपालको वैदेशिक व्यापारलाई समेत प्रवर्द्धन गर्ने भन्दै उनले समृद्ध नेपाल निर्माणको एउटा आधारमा रूपमा यसलाई लिएको बताए। मुआब्जा वितरण, क्षतिपूर्ति, मोही तथा गुठी आदिका विषयहरूलाई निराकरण गरि यसको निर्माण कार्यलाई गति दिन जरुरी रहेको उनको जोड थियो।
त्यस क्रममा उनले फास्ट ट्रयाक निर्माणको जिम्मा पाएको नेपाली सेना प्रति सरकारको उच्च भरोसा रहेको बताउँदै विकास निर्माणमा सेनाको योगदान सह्रानीय रहेको बताए। मन्त्री दाहाललाई नेपाली सेनाका मेजर रमेश आचार्यले फास्ट ट्रयाक निर्माणको अवस्था, चुनौती एवम् विकल्पहरूका बारेमा ब्रिफिङ गरेका थिए।