सात अर्बमा बन्दैछ सुदूरपश्चिमको पहिलो केबलकार
चिसापानी : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको लगानीमा सुदूरपश्चिममा पहिलो केबलकार चिसापानीमा निर्माण हुने भएको छ।
सुदूरपश्चिम प्रदेशको प्रबेशद्बार चिसापानीबाट राजकाडासम्म चल्ने केबलकार जालपादेवी केबलकार कम्पनीको सात अर्ब लगानीमा निर्माण हुने भएको हो। आज परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले एक कार्यक्रमबीच शिलान्यास गरेकी छन्।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले भनिन्, 'केबलकारको निर्माणले सुदूरपश्चिमको पर्यटकीय विकासमा मद्धत पुग्ने बताइन्। सुदूरपश्चिम प्रदेश प्राकृतिक सुन्दरता, स्रोत साधनयुक्त प्रदेश हो। केबलकारको लगानीले थप लगानी भित्र्याउन सहज हुनेछ।'
उनले सुदूरपश्चिमको विकासका लागि कृषि जलस्रोत र पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्ने बताइन्। 'देशको समृद्धिका लागि नै दुई दल मिलेर सरकार गठन गरेको हो,' मन्त्री राणाले भनिन्, 'देशको समग्र विकासका लागि बाधकरूपमा रहेका ऐन, कानुन र नियमहरू संशोधनको तयारी भइरहेको छ। त्यसले देशको समृद्धि हुने गरी काम भइरहेको छ।'
केबलकारको निर्माणले सुदूरपश्चिमको पर्यटकीय विकाससँगै निजि क्षेत्रलाई लगानीको वातावरण बनाउन थप मद्धत पुग्ने सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बताए। 'निजी क्षेत्रलाई सुदूरपश्चिममा लगानी ल्याउन आग्रह गर्दछु,' उनले भने, 'प्रदेस सरकार लगानीको वातावरण बनाउन प्रतिबद्ध छ।'
होटल, रिसोर्ट, केबलकारसहितका पर्यटकीय पूर्वाधारहरू सो केबलकार कम्पनीले निर्माण गर्नेछ। गत वैशाखमा सुरु भएको पहिलो चरणको काम सकिएपछि कम्पनीले निर्माणको चरणमा प्रवेश गरेको छ। दुई वर्षमा निर्माण सम्पन्न गर्दै सञ्चालनमा ल्याउने उद्देश्यका साथ कम्पनीले काम गरिरहेको कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए।
आयोजना स्थलका एक हजार आठ सय ६६ वटा रुख काटिएका छन् भने केबलकार सञ्चालनका लागि २० बिघा जमीन कम्पनीका नाममा सारिएको छ। चिसापनीदेखि राजकाँडासम्म केबलकारको कूल लम्बाई ३.१ किलोमिटरको रहने छ।
केबलकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहने छन्। केबलकार निर्माणसँगै राजकाँडामा रहेको जलपादेवी, कालभैरव, कालिकादेवीको मन्दिरको स्तरोन्नति गर्ने बताइएको छ। राजकाँडामा एक सय र चिसापानीमा ५० बेड क्षमताको होटलसमेत निर्माण गरिने बताइएको छ।