महिला सहकारी भवन निर्माण
नुवाकोट : नुवाकोटको जिलिङमा महिला सहकारी संस्थाको भवन निर्माण गरिएको छ। बेलकोटगढी नगरपालिका-८ जिलिङस्थित अपेक्षा सामाजिक उद्यमी महिला सहकारी संस्थाले निर्माण गरेको भवन उद्घाटन गरिएको छ।
सो सहकारीको १३ औं वार्षिक साधारण सभाका अवसरमा शनिबार कुल १४ लाख रुपैयाँको लागतमा नवनिर्मित कार्यालय भवन उद्घाटन गरिएको हो। पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले भवनको उद्घाटन गरेका हुन्।
सहकारीको भवन तथा वार्षिक साधारण सभाको उद्घाटन गर्दै केसीले ग्रामीण भेगमा जीविकोपार्जन तथा स्वरोजगारमा सहकारीले योगदान पुर्याएको बताए। उनले सहकारीको संरक्षणका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने बताए।