स्वास्थ्य रहन अर्गानिक उत्पादन

स्वास्थ्य रहन अर्गानिक उत्पादन
सुन्नुहोस्

आधुनिक विकासशील समाजमा कृषि उत्पादन र त्यसका असरहरूमा विशेष ध्यान दिनु अत्यावश्यक भइसकेको छ । संसारभरि विषादी र रासायनिक मलको अत्यधिक प्रयोगका कारण प्राकृतिक वातावरण र मानव स्वास्थ्यमा गम्भीर असरहरू परेका छन् । यसै कारण अर्गानिक कृषि उत्पादनलाई बढावा दिनु अहिलेको आवश्यकता हो । नेपालमा पनि अर्गानिक कृषि उत्पादनको महत्वलाई बुझ्दै यसलाई प्राथमिकतामा राख्नु अत्यन्तै आवश्यक छ ।

कर्णाली प्रदेश सरकारले माटोलाई बचाउँदै प्रांगारिक मलको प्रयोगलाई जोड दिने नीति लिएको छ । यो सराहनीय कार्य हो । कर्णालीमा उत्पादन हुने कृषि उपजमा विषादी र रसायनको प्रयोग नगर्ने, माटोको उर्वरा शक्ति नबिगार्ने र विषादीयुक्त कृषि उपज प्रदेशमा भित्रिन नदिने सरकारी रणनीति छ । अहिलेलाई प्रांगारिक कृषिको आधार तयार गरी कालान्तरमा प्रदेशलाई जैविक (अर्गानिक) प्रदेश घोषणा गर्ने रणनीति सरकारको छ । यसका साथै मार्सी धान, सिमीजस्ता रैथाने बालीको संरक्षण र प्रबद्र्धनसँगै बालीमा विषादी र रसायन प्रयोगलाई रोक्ने योजना छ । 

यो योजना कार्यान्वयनलाई विशेष जोड दिनुपर्छ ।

अर्गानिक कृषि उत्पादन प्राकृतिक विधिबाट उत्पादन गरिन्छ, जसमा रासायनिक मल र विषादीको प्रयोग नगरी मात्र जैविक मल र अन्य प्राकृतिक स्रोतहरूको प्रयोग गरिन्छ । यसले माटोको उर्वरता बढाउँछ भने उत्पादन भएका खाद्यपदार्थमा रासायनिक हानिकारक तत्वहरूको हुन दिँदैन । यस्तो प्रकारको कृषि उत्पादनले मानिसको स्वास्थ्यलाई प्रत्यक्ष फाइदा पुर्‍याउँछ किनकि अर्गानिक उत्पादनमा कुनै प्रकारको विषादीको अवशेष हुँदैन । नेपालमा उत्पादन हुने प्रांगारिक मलको प्रयोग बढाउन आवश्यक छ । कृषकहरूमा अर्गानिक मलको प्रयोगका फाइदाको सचेतना बढाउनुपर्छ । जसले माटोको संरचनामा सुधार ल्याउँछ, उर्वरता बढाउँछ र यसका पोषक तत्वलाई सन्तुलित राख्न मद्दत पुर्‍याउँछ । यसका साथै, अर्गानिक मलको प्रयोगले जलवायु परिवर्तनका असरहरूलाई पनि कम गर्न सहयोग पुर्‍याउँछ ।

कृषि उत्पादनमा विषादीको प्रयोग प्रकृतिको विनास हो । विषादीले कृषकहरूको स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउँछ । कृषकमा धेरै प्रकारका क्यान्सर र अन्य जटिल रोगहरूको जोखिम देखिएका छन् । यसैले, सरकारले अर्गानिक कृषि उत्पादनमा जोड दिनु अति आवश्यक छ । स्थानीय, प्रदेश र संघीय सरकारले अर्गानिक कृषि उत्पादनलाई प्रोत्साहन दिने नीतिहरू लागू गर्नुपर्नेछ । कृषकहरूलाई प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउनु, अर्गानिक मलको उत्पादन र आपूर्तिमा सुधार ल्याउनु र कृषकहरूको सचेतना अभिवृद्धि गर्नुपर्छ । साथै, अर्गानिक उत्पादनको बजारलाई बढावा दिन आवश्यक छ, ता कि कृषकहरूको उत्पन्न पनि बढोस् र नागरिकहरूले स्वास्थ्यमूलक खाद्यपदार्थको प्रयोग गर्न सकून् । अर्गानिक कृषि उत्पादनको प्रबद्र्धनले नेपालको कृषियोग्य भूमि र जनताको स्वास्थ्यलाई लाभ पुर्‍याउने छ । विषादी र रासायनिक मलको आयातसमेत कम हुँदै जानेछ । सरकारले यस दिशामा ठोस कदम चालेमा एक स्वस्थ र समृद्ध राष्ट्रको निर्माण गर्न सक्षम हुनेछौं ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.