लागुऔषध दुर्व्यसनी बढेको बढ्यै, कसरी जोगाउने युवा ?
काठमाडौं : बूढानीलकण्ठका प्रदीप कँडेल १८ वर्षका मात्रै भए। उनका बुवा प्रायः काममा व्यस्त हुन्छन्। आमा सरकारी जागिरे। खान लगाउन कुनै समस्या छैन। पढाइमा अब्बल सुजन कक्षा ११ को परीक्षामा भने फेल भए। प्रायः साथीहरूसँगै घुलमिल हुने गरेका उनी पछिल्लो समय बुवा आमासँग पनि कुरा गर्दैनथे। बाबुआमाले बोलाउँदा रिसाएर, झर्किएर हिँड्थे। लागुपदार्थ सेवन गरेको भेटिएपछि प्रहरीले प्रदीपलाई हिरासतमा लग्यो। अनि मात्रै उनी लागूऔषध दुर्व्यसनी भएको घर परिवारमा थाहा भयो।
‘प्रहरीले पक्राउ गरेपछि हामी त खङ्ग्रङ्ग भयौँ,’ उनका बुवा भन्छन्, ‘छोराले त गाँजा, चरेस र ट्याब्लेट खान सिकेछ।’ प्रहरीबाट छुटेपछि प्रदीपले घर परिवारमा झन दुःख दिन थाले। बुवाआमालाई जानकारी नै नदिई गाडी लिएर हिँड्थे। कहिलेकाहीँ दुर्घटना गराएर फरार हुन्थे। ‘केही गर्दा पनि सुधार्न सकिएन,’ बुवा भन्छन्, ‘सुधार केन्द्रमा पनि ६ महिना राख्यौं, तर छोरोको लागुऔषध लत छुटाउन सकेनौं। झन् धेरै साथी बनाएर आएछ। केही सम्झायो त रिसाएर हिँड्छ। घरमा नै आउँदैन।’ महँगो बाइक किनी नदिएको निहुँमा केही दिनअघि उनका बुवा चढ्ने गाडीको सिसा नै फोडिदिएका थिए, प्रदीपले।
परिवारमा एकजना मात्रै पनि लागुऔषध प्रयोगकर्ता भए भने परिवारको अवस्था कस्तो हुन्छ भन्ने बुझ्नलाई प्रदीपको कथा पढे हुन्छ।प्रयोगकर्ताको व्यक्तिगत जीवन त बर्बाद हुन्छ नै। परिवारका अन्य सदस्यहरूको पनि निद हराम हुन्छ। लागुऔषध दुव्र्यसनीले कतिबेला घरमा चोरी गर्ने हो ? महँगा सामान लुकाउनुपर्नेदेखि हरेक समयमा सचेत हुनुपर्ने वातावरण सिर्जना हुन्छ। स्वास्थ्य समस्यादेखि सामाजिक रूपमा पनि असर परिरहेको हुन्छ। लागुऔषध प्रयोगकर्ता भएको हरेक दिन घरमा झैझगडा र विवाद त सामान्य भइहाल्यो।
नेपाल प्रहरीका प्रवक्ता विश्व अधिकारी भन्छन्, ‘देशभरमा लागुऔषध प्रयोगकर्ता र तस्करीको अवस्था भयावह छ। प्रायःजसो पहाडका भन्दा पनि छिमेकी देशसँग सीमा जोडिएका तराईका जिल्लामा लागुऔषधको कारोबार बढी भैरहेको देखिन्छ। यसमा पनि युवापुस्ताको संलग्नता अत्यधिक छ। लागुऔषध दुर्व्यसनको संख्यामा वृद्धि भइरहेको छ। अन्य ठाउँमा भन्दा राजधानीमा नै लागुऔषध कारोबारी धेरै छन्।’ कहिले मनोदिपजन्य गैरकानुनी औषधि बेचेको कसुरमा मेडिकल सञ्चालक समातिन्छन् त कहिले जुसका बट्टामा लागुऔषध वोकेको कसुरमा विदेशी समातिन्छन्।
दुर्व्यसनीको संख्या बढेको बढ्यै
सरकारले लागुऔषध दुर्व्यसनी रोक्न र तस्करी नियन्त्रण गर्नका लागि विभिन्न योजनाहरू अघि सारेको छ। नाकामा नियन्त्रण र निगरानी राख्नेदेखि नेपाल प्रहरीमा छुट्टै ब्युरो स्थापना गरेर तस्करी नियन्त्रण गरिरहेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थलमा लागुऔषध नियन्त्रणका टोलीले निगरानी गरिरहेका छन्। लागुऔषध सचेतना कार्यक्रम, छलफल, गोष्ठी तथा स्कुल कलेजमा अन्तक्रिर्या जस्ता कार्यक्रम पनि अघि बढेकै छ। तर, पनि लागुऔषध तस्करी नियन्त्रणमा आएको छैन। यसको तथ्यांक उकालो ग्राफमा बढिरहेको छ।
प्रहरी प्रधान कार्यालय नक्सालले केही दिनअघि मात्रै चालु आर्थिक वर्षको पहिलो ४ महिनाको विभिन्न अपराधको तथ्यांक सार्वजनिक गरेको थियो। आर्थिक वर्ष ०८१/८२ को साउनदेखि कात्तिकसम्म देशभर १,६१९ वटा लागुऔषधका घटना दर्ता भए। चार महिनामा तस्करीमा संलग्न २,५२६ जना पक्राउ परे। देशभर भएका तस्करीका घटनामा चार महिनामा १३,६०८ किलो गाँजा प्रहरीले बरामद गर्यो। २९० किलो चरेश, ९ किलो कोकिन, ५ किलो हिरोइन र २५ किलो अफिम, ९ किलो पोलेन बरामद भएको छ।
प्रहरीको तथ्यांकअनुसार आव ७६/७७ देखि आव ८०/८१ सम्म पाँच वर्षमा लागुऔषध ओसारपसार तथा दुव्र्यसनी कसुरमा २७,८६१ जना व्यक्ति पक्राउ परेका छन्। यो संख्या हरेक वर्ष बढ्दो क्रममा छ। आव ७६/ ७७ मा लागुऔषध कसुरमा २,९०० वटा घटनामा मुद्दा दर्ता भयो। जसमा ४,५४६ जना व्यक्ति पक्राउ परे। आव ७७/७८ मा ३,०१३ वटा मुद्दा दर्ता भयो जसमा ४,६२६ जना आरोपी पक्राउ परे।
आव ७८/७९ मा ३,८५६ वटा घटनाका मुद्दा दर्ता भयो यसमा ५,७८९ जना पक्राउ परे, आव ७९/८० मा लागुऔषध कसुरका ४,१०२ वटा मुदा दर्ता भए भने ६,१८६ जना पक्राउ परे। आव ८०/८१ मा ४,३९८ मुद्दा दर्ता भए भने ६,११४ जना पक्राउ परे।
१४ देखि २१ वर्षका युवक बढी संलग्न
गृह मन्त्रालयका लागुऔषध नियन्त्रण शाखाले गरेको अनुसन्धानअनुसार कारागारमा भएका कैदीबन्दीमध्ये २१ प्रतिशत लागुऔषध मुद्दाका छन्। त्यसमा ५० प्रतिशतको हाराहारीमा १४ देखि २१ वर्ष उमेर समूहका युवा छन्। लागुऔषध मुद्दामा जेलमा भएकामध्ये ८० प्रतिशत बढी १४ देखि ४० वर्षका छन्।
मंसिरको सुरुवातमै सशस्त्र प्रहरी बल नेपाल र भारतीय एसएसवी टोलीका महानिर्देशक सहितको सुरक्षा समन्वय समितिको बैठक बसेको थियो। उक्त वैठकमा पनि धेरैजसो लागुऔषध तस्करीको विषय उठेको थियो। सीमामा हुने अपराध र लागुऔषध तस्करी रोक्न सहयोग गर्न भारतीय पक्षसँग नेपालले आग्रह गरेको थियो। भारतीय पक्षले पनि गाँजा, चरेस जन्य लागुऔषध नेपालबाट भारततर्फ तस्करी हुने जानकारी दिँदै यसका लागी दुवै देशले कडाइका साथ लाग्नुपर्ने बताएका थिए।
कहाँबाट आउँछ लागुऔषध ?
लागुऔषध नियन्त्रणमा संग्लन प्रहरी अधिकृतका अनुसार नेपालमा खपत हुने लागुऔषधमध्ये ८० प्रतिशत भारतबाट आउने गर्छ। खुला सिमानाको फाइदा उठाउँदै तस्करले सीमा नाकाबाट भिœयाउँछन्। प्रहरीको लागुऔषध नियन्त्रण व्युरोका प्रमुख एसएसपी दिनेशराज आर्चाय भन्छन्, लागुऔषधमध्ये कोकिन अत्यधिक महँगो छ। नेपालमा कम मात्रै प्रयोग हुन्छ। कोकिन प्रयोग गर्ने नेपाली हामीले भेटाएका छैनौं। कोकिन र हिरोइन दुवै नेपालमा प्रयोग हुँदैन। औषधिजन्य लागुऔषधि र ट्याब्लेट नेपालमा बढी प्रयोग हुन्छ।
कोकीन र हिरोइन अफ्रिकन मुलुकबाट आउँछ। गिनी, बेनिन, कोलम्बिया, पेरु, बोलिभिया ब्राजिल, इथोपियालगायतका देशबाट कोकिन आउँछ। अन्य लागुऔषध भारतबाट नै नेपालमा आउने गर्छ। औषधिजन्य ड्रग्स पनि नेपालमा धेरै प्रयोग हुन्छ। औषधिजन्य लागुऔषध र ब्राउनसुगर भारतबाट आउँछ। तर, तस्करले यही देशबाट मात्रै ल्याउँछन् भन्ने छैन। चीन, भारत, अमेरिका, यूएई, थाइल्यान्ड, कतार, मलेसिया, हङकङलगायत जुनसुकै देशबाट पनि लागुऔषध आउने गर्छ। नेपालमा अहिले चरेश, ब्राउनसुगर, अफिम, गाँजा, हिरोइन र औषधिजन्य ड्रग्स बढी प्रयोग हुन्छ।
लागुऔषध तस्करको लागि कतार र दुबईको विमानस्थल बढी प्रयोग भएको देखिन्छ। कामदारका रूपमा खाडीमुलुक गएका श्रमिकहरू घर फर्कदासमेत तस्करले पैसाको प्रलोभनमा लागुऔषध नेपाल पठाउने गरेको प्रहरी अधिकृत बताउँछन्।
पुनर्स्थापना केन्द्रमा छन् ६ हजार युवा
गृह मन्त्रालयको लागुऔषध नियन्त्रण शाखा प्रमुख उपसचिव कृष्णप्रसाद चापागाईंका अनुसार देशभर सयौं पुनस्र्थापना केन्द्र छन्। गृह मन्त्रालयको निगरानीमा ३०० बढी पुनस्र्थापना केन्द्रमा ६ हजार बढी व्यक्ति उपचार गरिरहेका छन्। लागुऔषधको ज्यादा लतमा फसेका युवाहरू उपचारकै क्रममा पनि ज्यान गुमाउँछन्। गृह मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाका शाखा अधिकृत रेम्बु चाम्लिङ राईका अनुसार कतिपय पुनस्र्थापना केन्द्रहरू व्यक्तिगत तवरमा पनि सञ्चालन भएका छन्।
लागुऔषध प्रयोगकर्ता खुलेर सार्वजनिक नहुने र जटिल अवस्थामा पुगेपछि मात्रै सम्बन्धित निकायमा पुग्ने हँुदा यति नै प्रयोगकर्ता छन् भनेर अनुमान लगाउन नसकिने चाम्लिङले बताए। मदिराजन्य एडिक्टेडको संख्यासमेत जोड्दा नेपालभर एक लाख बढी प्रयोगकर्ता हुनसक्ने अनुमान लगाए।
युवाहरू लागुऔषधको लतमा पर्नु समाजको समस्या भएको बताउने राईले देशको समृद्धि र विकासका लागि युवाहरूको सीप, क्षमता, संरक्षण, परिचालन र महत्वपूर्ण भूमिका आवश्यक हुनेमा जोड दिए। उनी भन्छन्, ‘युवाहरूको सहभागिता बिना देश विकासका काम प्रभावकारी हुँदैन। लागुऔषधको प्रयोग तथा दुरुपयोगले युवाहरूले आफूलाई मात्रै हैन, घर परिवार, समाज र राष्ट्रलाई नै क्षति पुर्याइरहेका छन्। आफ्नै जीवन बिगारिरहेका छन्। लागुऔषध सेवनकर्ता भएको परिवार आर्थिक तथा सामाजिक समस्यामा परिरहेको हुन्छ।’
अपराधका वृद्धिको मुख्य कारण लागुऔषध र मापसे
प्रहरी प्रवक्ता विश्व अधिकारी भन्छन्, ‘अधिकांश जघन्य घटना लागुऔषध तथा मापसेकै कारण हुन्छ। लागुऔषधको सेवनले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्ने गर्दछ। सेवनकर्ताको भावना र सोचाइमा समेत असर पार्छ। लागुऔषध प्रयोग गरेको अवस्थामा मानिसले आपराधिक कार्यको बारेमा सोच्ने, यस्तै भिडियो तथा फिल्म हेरेर बस्ने, उत्तेजित हुने र अपराध गर्ने गरेको अधिकांश घटनामा देखिन्छ। देशभर घट्ने जघन्य अपराधका घटनाको कारणमा ७० प्रतिशत बढि मापसे वा लागुऔषधको सेवनका हुने गरेको छ।’
लागुऔषधले मानसिक चेतना, र मनोभावनालाई प्रभावित गर्छ। सोच्ने शक्तिलाई विकृत बनाउँछ। लागुऔषध सेवन गर्ने मानिस सामान्य जीवनमा फर्कन पनि सजिलौ छैन। समाजले पनि सहज तरिकाले उसलाई स्विकार गर्देन। आफ्नो आवश्यकता पूरा गर्न नसक्दा उसले चोरी, डकैती, ठगी, ब्ल्याकमेल, अपराधिक कार्यदेखि लिएर हत्यासम्मको अपराध गरिरहेको हुन्छ। लागुऔषध प्रयोग गर्ने निम्न वर्गका मानिस मात्रै छैनन्। उच्च कुल घरानाका मानिसदेखि लिएर प्रतिष्ठित व्यक्ति पनि छन्। उच्च वर्गले आनन्द महसुस गर्नका लागि महँगो खालको लागुऔषध प्रयोग गरिरहेको पाइन्छ। करोडौं मूल्य पर्ने लागुऔषधि नेपालमा पनि बरामद भैरहन्छ।
विश्व स्वास्थ्य संगठनले मष्तिष्कको कामलाई उत्तेजित बनाउने अवैध लागुऔषधको हानिकारक वा खतरनाक प्रयोगलाई लागुऔषध दुव्र्यसन मानेको छ। नेपालको लागुऔषध ऐन २०३३ अनुसार गाजा अफिम वा तयारी अफिम, औषधोपयोगी गाजा वा अफिम, कोकाको सारतत्व मि श्रण, लवणसमेत मिसाइ तयार गरिने पदार्थलाई लागुऔषध भनिन्छ। विश्वमा ३ करोड ५० लाख बढी लागुऔषध प्रयोगकर्ता छन्। सवैभन्दा बढी युवा तथा किशोरकिशोरी छन्।
सीमावर्ती भारतीय सहरबाट नेपालमा पनि लागुऔषध भित्रिने क्रम उच्च छ। लागुऔषधको बढ्दो प्रयोगकै कारणले नेपालमा अपराधिक गतिविधि पनि बढिरहेको छ। आफ्नै साथीबाट हत्या गरिएका कैलालीका अर्जुन दासको घटना होस या विराटनगरमा अपहरणमा परेर मारिएका सिरहा गोलबजारका अंशु सदा हुन, लागुऔषध प्रयोगकै कारण भएका जघन्य अपराध हुन्। आर्थिक प्रलोभनमा परेर अधिकांश मानिसहरू भरियाका रूपमा प्रयोग भइरहेका छन्। यसकै कारण उनीहरू पक्राउ पर्ने र सजाय भोग्नुपर्ने अवस्था छ। त्यसले उनीहरूको पारिवारिक संरचनामा पनि समस्या सिर्जना गरिरहेको छ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख दिनेशराज आर्चायका अनुसार चेतना र सही अभिभावकत्वको अभावमा युवाहरू लागुऔषध प्रयोगकर्ता बनिरहेका छन्। गलत संगतमा फसेर पनि उनीहरू दुव्र्यसनी बनिरहेका छन्। सचेतनाको कमी, देखासिकी, बालबच्चामाथि निगरानी कमी, सिमानाका खुला हुँदा सजिलै तरिकाले युवाहरू सीमा वारपार जानेआउने गरिराखेका हुन्छन्।
खुला सिमानामा लागुऔषधको सहज प्राप्ति, मनोरन्जनका लागि खाएर त हेर भन्दै दबाब दिने खराब साथीहरूको संगतका कारण प्रायः युवाहरू लागुऔषधको लतमा फस्छन्। एकबारको जुनी हो रमाइलो गर्नुपर्छ भन्ने गलत मान्यता विकास हुँदा पनि दुव्र्यसनी बढिरहेका छन्।
मनोरन्जनका लागि भन्दै १/२ पटक लिएको लागुऔषध विस्तारै लत बन्ने हुँदा गलत कुरा खाँदै खान्न भन्ने आत्मविश्वास हरेकमा लिनुपर्छ। लत बसेपछि छोड्न निकै गाह्रो हुन्छ। एसएसपी आर्चाय अगाडि भन्छन्, ‘लागुऔषधको दुष्परिणामबारे सामूहिक छलफल हुनुपर्छ। यसले व्यक्तिलाई मात्रै नभएर एउटा समूहलाई नै असर पार्ने हुँदा यसको खराव प्रभावका बारेमा जानकारी हुनुपर्छ।
अभिभावकको सचेतनाले बालबच्चालाई दुव्र्यसनी हुनबाट बचाउँछ। यसका लागि बालबच्चाको संगत कोसँग छ ? साथीसंगत कस्ता छन् ? के खान्छन् ? केसकुरा माग गरिरहेका छन् ? पढाइको स्तर कस्तो छ ? पढाइमा रुचि के छ ? खानपानदेखि सुत्ने समयसम्म विचार गर्नुपर्छ। सोसल मिडियामा के गरिरहेका छन् ? सूक्ष्म निगरानी बढाउनुपर्छ।
यस्ता छन् दुर्व्यसनका लक्षण
लागुऔषध प्रयोग गर्ने व्यक्तिहरूको व्यवहार पनि परिवर्तन भएको हुन्छ। एकान्तमा बस्न रुचाउने, कम भोक लाग्ने, खाना खान नखोज्ने, प्रायःजसो झुट्टो बोल्ने, आफन्त दिदीभाइ तथा घरपरिवारमा झुट बोल्ने, असमान्य व्यवहार देखाउने। पढाइको स्तर घट्ने, घरपरिवारमा कुरा नगर्ने, पैसा मागिरहने, रिसाउने, झर्कने, समय समयमा हराउने, साथीहरूसँग बढी समय बिताउने।
उत्तेजित हुने, ससाना विषयमा विवाद गर्ने, दुब्लाउँदै जाने, पढ्न मन नगर्ने, अपराध कर्ममा लाग्ने, धन सम्पत्तिको बर्बादी तिर लाग्ने, समाजमा विभिन्न प्रकारका अपराधहरू घट्दै जाने, सामाजिक मूल्य र मान्यताहरू भत्किँदै जाने हुन्छ। धेरैजसो युवायुवती यौन विकृतिमा लाग्ने, पोनोग्राफी हेर्ने जस्ता असामान्य व्यवहार पनि देखाउँछन्।
लागुपदार्थको सेवनले शारीरिक, मानसिक तथा सामाजिक असरहरू देखिने गर्छ। उनीहरूमा शारीरिक रूपमा विभिन्न रोगले च्याप्ने गर्छ। एचआईभी/एड्स, हेपाटाईटिस तथा यौनजन्य रोगहरू संक्रमण हुने, तौल घट्ने, शरीर दुब्लाउने, खानामा रुचि नहुने, ओभरडोज भएर मृत्युसमेत गर्दछ भने एकोहोरोपन, फ्रस्टेसन, डिप्रेसन, सोच्न सक्ने शक्ति हराउने, स्मरण शक्ति कम हुने, नकारात्मक भावनाको सिर्जना, आत्महत्या गर्न प्रेरित हुने पनि गर्दछ।
किन घटेन लागुऔषध दुर्व्यसनको तथ्यांक ?
स्कुल कलेजमा साथीसाथीको लहलहैमा चुरोट सुर्ती खाने बानी बढ्दै गएपछि लागुऔषध प्रयोगकर्ता बन्ने बताउँछन् सरोकारवालाहरू। गृह मन्त्रालयका निवर्तमान सहसचिव भीष्मकुमार भुसालले समाजमा बढ्दो पारिवारिक बिचलनले पनि दुव्र्यसनी मौलाएको तर्क गरे। उनी भन्छन्, ‘काममा व्यस्त भएका परिवारले सन्तानलाई एक्लै छाड्ने, होस्टल छाड्ने, निगरानी गर्न नसक्ने र अत्यधिक सुविधा पुर्याउँदा पनि उचित स्याहारको अभावमा बालबालिकाहरू गलत संगतमा पर्ने गरेको देखिन्छ।’ प्रायः दुव्र्यसनी युवाहरूको पृष्ठभूमि हेर्दा परिवारमा केही न केही असहजता र कमजोरी देखिएकै हुन्छ। किशोरावस्थामा सही गाइड भएन भने युवाहरू लागुऔषध प्रयोगकर्ताको संगतमा पुग्ने गरेको विभिन्न सर्वेक्षणहरूमा पनि देखिन्छ।
लागुऔषध प्रयोगमा संलग्न हुने युवाको संख्या बढ्दै गएको छ। संसारभर चलेको टे«न्ड छ। लागुऔषध नियन्त्रण ब्युरो सक्रिय भएर लागिपरेको छ। लागुऔषध दुव्र्यसन र कारोबार बढ्नु नेपालको मात्रै समस्या हैन। प्रविधिको लतमा फस्दै गएका युवाहरू लागुऔषधको लतमा पनि परिरहेका छन्। यो संख्या बढ्दो छ। नियन्त्रणका लागि प्रहरीले काम गरिरहेको छ। विभिन्न सीमानाकामा कडाइ गरिरहेका छौं। विमानस्थलदेखि भन्सारसम्म निगरानी बढाइरहेका छांै। प्रहरीको सक्रियताकै कारण बेलाबेला ठूलो संख्यामा लागुऔषध तस्कर र कारोबारीसहित लागुऔषध पनि बरामद हुने गरेको छ।
२०७६ को गृह मन्त्रालयले गरेको सर्वेक्षणअनुसार लागुऔषध प्रयोगकर्तामा सबैभन्दा धेरै २५ देखि २९ वर्ष उमेर समूहका ३५ दशमलव २ प्रतिशत छन् भने २० देखि २४ उमेर समूहका ३४ दशमलव ३ प्रतिशत छन्। १५ देखि १९ वर्ष उमेर समूहमा ७ दशमलव २ रहेका छन्। लागू औषध प्र्रयोग गर्ने व्यक्तिहरूमध्ये मुखबाट ३३.७० धुँवाबाट ३४.९०, सुईबाट २९.३० र सुघेर २.१० प्रतिशत छन्।
गृह मन्त्रालयको लागुऔषध ब्युरोको अनुसार नेपालमा पनि प्राकृतिक लागुपदार्थ र औषधिजन्य लागुपदार्थको ओसारपसार हुने र त्यसको प्रयोग बढिरहेको छ। प्राकृतिक लागुऔषधका रूपमा गाँजा, चरेस, भाङ, धतुरो, अफिम, रक्सी पर्छन्। लागुऔषधका रूपमा मानिसको जीवन रक्षाका लागि उत्पादन भएका औषधिजन्य पदार्थको पनि प्रयोग भइरहेको छ।
चिकित्सकको सल्लाह अनुसार सेवन गर्नुपर्ने औषधिलाई आफूखुसी नशाका रूपमा प्रयोग गर्ने बढेका छन्। नेपालमा पनि अहिल नाइट्रोसन, नाइट्रोभ्याट, प्रोक्सिभोन, नोर्फिन, कोडिन, कोरेक्स, फेन्सिडिल, फेनकोडिन नो–कफलगायतका औषधिजन्य लागुपदार्थको प्रयोग बढिरहेको छ।
कसरी जोगाउने युवालाई
नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी युवाहरूलाई सही निगरानी गर्ने र क्षमताअनुसारको काममा व्यस्त राख्न सक्यांै भने लागुऔषधको चंगुलबाट बचाउन सकिने बताउँछन्। उनी भन्छन्, ‘लागुपदार्थ दुव्र्यसनविरुद्ध सबै एकजुट हुन जरुरी छ। लागुपदार्थको उत्पादन, तस्करी र उपलब्धता रोक्न सबै पक्ष कर्तव्यनिष्ठ बन्नुपर्छ। यसका लागि कडा कानुनको निर्माण र प्रभावकारी कार्यान्वयन हुनुपर्छ साथै प्रहरीको सक्रियता पनि बढ्नुपर्छ। लागुपदार्थ एक रोग जस्तै हो, उपचार गर्यो भने ठीक हुन्छ। माया ममता र ख्याल गर्ने बानीले दुव्र्यसनमा परेकालाई जोगाउन सकिन्छ।’
भयावह बन्दै गएको लागुऔषधलाई नियन्त्रण र निर्मुलीकरण गर्नका लागि राज्यले ठोस कार्ययोजना बनाउन जरुरी भएको तर्क गर्छन् पूर्वडीआईजी ठकुरी। यसका लागि सरकारले पहदलकर्मी कार्यक्रम ल्याउनुपर्नेमा उनको जोड छ। उनी भन्छन्, ‘समस्याको कारण पहिल्याएर भविष्यका कर्णधार युवालाई फस्न नदिनका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न सक्नुपर्छ। अहिले मुलुकमा अधिकार र स्रोत साधन सम्पन्न स्थानीय तहका सरकार छन्। मुख्य रूपमा स्थानीय तहका सरकारले समाजमा बढ्दो लागुऔषध नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम बनाएर सञ्चालन गर्नुपर्ने हुन्छ। वडा तहसम्म जनप्रतिनिधि भएकाले पनि उनीहरूको सक्रियताले काम गर्न सक्छ। आफ्नो वडामा रहेका हरेक युवालाई समाज सुधार र निर्माणको काममा परिचालन गरेर बेरोजगार युवाहरूलाई विभिन्न रोजगारीमूलक काममा खटाउन सक्ने हो भने त्यसबाट पनि धेरै हदसम्म सुधारको काम हुन सक्छ। त्यसका लागि अब स्थानीय सरकारले कार्यक्रम नै सञ्चालन गर्न सक्नुपर्छ। तब मात्र समाजमा बढ्दो लागुऔषध नियन्त्रण गर्न सकिन्छ।’