मिथिलामा राजदूत दम्पतीको वैवाहिक वर्षगाँठ
जनकपुरधाम : दौरासुरुवाल र ढाका टोपीमा सजिएका थिए– नेपालका लागि बेलायती राजदूत रब फेन। अनि, निकै सुन्दर गुलाबी रंगको सारी, चुरा र गरगहनामा बेहुली थिइन्, उनकी धर्मपत्नी जुलिया फेन। बेहुला रब र बेहुली फेन शनिबार बिहान १० बजे जानकी मन्दिरमा प्रवेश गरे। जहाँ उत्सव थियो, फेन दम्पतीको २२ औं वैवाहिक वर्षगाँठ समारोहको। जुन मिथिला परम्पराअनुसार मनाउने प्रबन्ध गरिएको थियो। फेन दम्पतीले जानकी मन्दिरको अगाडि उभिए, एकले अर्कोलाई माला लगाए। राजदूत रबले पत्नी जुलियालाई रातो सिन्दुर लगाए, अनि सुरु भयो विवाहको परम्परा। रातो तिलहरी र पोते पनि पत्नीलाई लगाइदिए। जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन रोशन दासले राजदूत रबको टाउँको मौर (मिथिलामा बिहेको बेला बेहुलालाई लगाइने विशेष टोपी) पहिरिदिए।
बेहुली फेनलाई मैथिल चुनरी लगाइयो। मधेस प्रदेश शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्माले दुवै जनाको गठबन्धन(लगनगाँठो) बाँधिन्। सिन्दुर, पोते र माला लगाएपछि राजदूत रबले पत्नी फेनलाई उपहार स्वरूप औंठी लगाइदिए। वैवाहिक वर्षगाँठ कार्यक्रमको साक्षी बने, मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, पूर्वमेयर बलरामप्रसाद साह, जनकपुरका प्रहरी उपरिक्षकलगायत दर्जनौं गन्यमान्य व्यक्तित्वहरू। राजदूत रबले आफ्नो २२ औं वर्षगाँठ जनकपुरमै मनाउने योजना पछिल्लो दुई पटकको जनकपुर भ्रमणपछि बनाएका थिए। ‘जनकपुर रामसीताको वैवाहिक नगरी मात्र नभई प्रेम र मायाको उद्गम स्थल भएकाले यहाँ वर्षगाँठ मनाउने निर्णय गरेका हौं,’ राजदूत रबले भने, ‘यस नगरीलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्ने संघ र प्रदेश सरकारको योजनालाई सघाउ पुर्याउनसमेत हामीले आफ्नो वर्षगाँठ यहाँ मनाउने निर्णय गरेका हौं।’
हिन्दू धर्मग्रन्थका आदर्श जोडी भगवान् राम र सीताको वैवाहिक स्थल जनकपुरलाई वैवाहिक गन्तव्यका रूपमा स्थापित गर्न संघ सरकार र प्रदेश सरकार दुवैले नीति तथा कार्यक्रम अगाडि सारेका छन् जसलाई चौतर्फी सहयोग प्राप्त हुन थालेको छ।
यस्तो छ संघ र प्रदेशको योजना
संघीय सरकारको वार्षिक बजेट ०८१/०८२ को ७१ नम्बर बुँदामा भनिएको छ– नेपालमा वैवाहिक समारोह आयोजना गर्न आउने पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक तथा पर्यटकीय गन्तव्यलाई विवाह गन्तव्यका रूपमा विकास गरिनेछ। राम जानकीको विवाहस्थल जनकपुरलाई वेडिङ हव र गौतम बुद्ध जन्मस्थल लुम्बिनीलाई बर्थिङ्ग हवका रूपमा प्रबद्र्धन गरिनेछ।’
त्यसैगरी मधेस प्रदेश सरकारको ०८१/८२ को वार्षिक नीति तथा कार्यक्रमको १७५ नम्बर बुँदामा ‘त्रेता युगकालीन परम्परालाई संस्थागत गर्ने उद्देश्यले जनकपुरधामलाई संघ, प्रदेश, बृहत्तर जनकपुर र स्थानीय सरकारको समन्वयमा अन्तर्राष्ट्रिय वैवाहिक स्थलको रूपमा विकास गर्ने नीति लिइनेछ।’ मधेस प्रदेश शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा भन्छिन्, ‘मधेसभन्दा पनि मिथिलाञ्चलमा हुने वैवाहिक परम्परा निकै उत्कृष्ट छ। यहाँ विवाहलाई मात्रै उत्सवभन्दा पनि संकल्पका रूपमा मनाइन्छ।
जनकपुरधामलाई वैवाहिक गन्तव्यका रूपमा विकसित गर्न मधेस प्रदेश सरकारले ठोस योजना ल्याउने छ।’ मिथिलाको परम्परागत विवाहले दम्पतीलाई जीवनमा सार्थकता र विवाहको महत्वलाई कसरी बचाएर प्रेम र संस्कारलाई जागृत गर्ने भन्ने कला सिकाउने मन्त्री शर्माको भनाइ छ। त्यसैले यस मौलिक विवाह परम्परालाई अझ बढी प्रचार–प्रसार गर्नु आवश्यक छ।’
वैवाहिक गन्तव्य विकासका लागि बजेटको अभाव
संघ र प्रदेश सरकारले जनकपुरलाई वैवाहिक गन्तव्यका रूपमा विकसित गर्ने योजना अघि सारे पनि यसका लागि पर्याप्त बजेटको व्यवस्थापन गर्न नसक्दा विभिन्न भौतिक निर्माण र कार्यक्रमहरू अघि बढ्न नसकेको गुनासो जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह गर्छन्।
मैथिली परम्पराअनुसार वैवाहिक पद्धति विकासका लागि जनकपुरमै सहरी विकास मन्त्रालयमार्फत मणि मण्डपमा म्यारेज हब बनाउने योजना अघि सारिएको छ तर, जुन रूपमा काम हुनुपर्ने हो त्यो बजेट अभावको कारणले हुन सकेको छैन्,’ मेयर साह थप्छन्र्, जनकपुरधाम उपमहानगरपालिकाले यस क्षेत्रलाई वैवाहिक स्थलका रूपमा स्थापित गर्न यसका सांस्कृतिक पक्षहरूको जगेर्ना गर्ने काम जोडतोडका साथ गर्दै छ।
हालै तपाईंहरूले हेर्नु भएको होला जनकपुरमा भव्य साताव्यापी विवाहपञ्चमी महोत्सव सम्पन्न भयो जसमा मेला व्यवस्थापनदेखि लिएर, पर्यटकहरूको स्वागत सत्कार निकै भव्यताका साथ हामीले सम्पन्न गर्यौं।
अर्कोतर्फ जनकपुरमा रामसीताको विवाहका बेला स्वयम्वर भएको भनिएको स्थल एतिहासिक रंगभूमि मैदानलाई सौन्दर्यीकरण गर्न र त्यसलाई यस वैवाहिक गन्तव्यको एक मनोरम स्थलका लागि विकास गर्न हामीले २८ करोडको डीपीआर तयार गरेका छौं त्यो सबै निर्माण कार्य मात्र स्थानीय पालिकाले गरेर हुँदैन यसमा संघ र प्रदेश सरकारलाई सहयोग तथा समन्वय गर्न अनुरोध गरेका छौं।’
जनकपुरको विकासका लागि सांस्कृतिक पक्षको प्रसार आवश्यक
प्राचीन मिथिलाको राजधानी जनकपुर पछिल्लो समय विभिन्न राजनीतिक तथा अन्य कारणहरूले गर्दा पछि परेको गुनासो जनकपुरवासीको छ। तर, यसलाई पुनः सबल र सक्षम नगरीका रूपमा विकास गर्न यसको सांस्कृतिक पक्षलाई उजागर गर्नु आवश्यक रहेको मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल बताउँछन्।
‘यो भूमि विद्वान्हरूको भूमि हो। यहाँ शास्त्रार्थ हुने गर्दथ्यो,’ मण्डलले भने, ‘यसको ऐतिहासिकता र पौराणिकता निकै गौरवान्वित गर्ने खालको छ त्यसैले यस भूमिलाई सांस्कृतिक रूपमा संरक्षण सम्बद्र्धन र प्रचार–प्रसार गर्यौं भने जनकपुर विश्वकै हिन्दुहरूका लागि वैवाहिक पर्यटन स्थलको रुपमा विकसित हुनसक्छ।
वैवाहिक गन्तव्यका रूपमा विकास गर्नुपर्छ : राजदूत रब
हाम्रो २२औं वैवाहिक वर्षगाँठको सिलसिलामा विभिन्न कार्यक्रमहरूमा श्रीमतीसहित सहभागी हुन पाउँदा मैले गौरवान्वित महसुस गरेको छु। माता जानकीको पवित्र जन्मभूमि मिथिला र मधेसको परम्परागत भेष, सुमधुर भाषा, यहाँको संस्कृति तथा रीतिरिवाज रमणीय र संसारकै उत्कृष्टमध्ये लागेको छ। खासमा गत वर्ष काम विशेषले जनकपुरधामलगायत मधेसका विभिन्न चर्चित ठाउँहरू घुम्न पाएको थिएँ। त्यहीं बेलानै वैवाहिक वर्षगाँठ जनकपुर नगरमा मनाउने मैले निधो गरेँ।
मेरी श्रीमती जुलिया फेनले पनि अत्यन्त उत्सुकताका साथ मेरो योजनामा सहमती जनाइन्। केही साता अगाडि मात्र रामजानकी विवाह पञ्चमीको अवसरमा एकैछिन भए पनि जानकी मन्दिरमा माता जानकीको आशीर्वाद लिएको थिएँ।
मेरा मित्र प्रदेशका मुख्यमन्त्रीज्यू, सभामुखज्यू, प्रदेशसभा सदस्यज्यूहरू, जनकपुरधामका मेयर तथा नागरिक समाजका अगुवा साथीहरूले पनि मिथिलाको परम्परा र यसको महत्व सँगसँगै संघ, प्रदेश र स्थानीय सरकारले जनकपुरलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्ने योजना बनाएको बताएका थिए। उहाँहरूको निम्तो, माया, प्रेम र प्रदेशवासीको मायाले वैवाहिक वर्षगाँठ यहाँ मनाउन उत्प्रेरित गरेकोमा म सबैप्रति आभारी छु।
यस अवसरमा जानकी मन्दिरमा आशीर्वाद ग्रहण, धनुषाधाम मन्दिर दर्शन, धनुषाधाम वनमा वृक्षरोपण तथा पवित्र गंगा आरतीमा सहभागी भयौं। साथै, मेरा व्यक्तिगत पहल तथा बेलायती राजदूतावासको सहयोगमा नेपाल सरकारसँगको साझेदारीमा सञ्चालित विभिन्न कार्यक्रममार्फत निकट भविष्यमा जनकपुरधाम र मधेस प्रदेशले समग्र विकासमा ठूलो फड्को मार्ने विश्वास पनि लिएको छु।