अस्ताए न्यायका हस्ती
काठमाडौं : सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ। वस्तीको हृदयघातका कारण शुक्रबार निधन भएको हो।
७१ वर्षीय वस्तीलाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याइएको थियो। उनको शुक्रबार राति नै निधन भएको अस्पतालले जनाएको छ। वस्तीका श्रीमती, एक छोरा र तीन छोरी छन्। अमेरिकामा रहेका छोरा डा. प्रणव फर्केपछि आइतबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।
२०६५ सालमा वस्ती सर्वोच्च अदालतमा अस्थायी न्यायाधीशका रूपमा प्रवेश गरेका थिए। अस्थायी न्यायाधीशका रूपमा प्रवेश गर्दा उनी प्रधानन्यायाधीशको रोलक्रममा थिए। दरबन्दी रिक्त हुँदाहुँदै पनि न्यायपरिषद्ले स्थायीमा सिफारिस नगरेको र पदावधि पनि नथपेका कारण उनको प्रधानन्यायाधीश हुने सपना पूरा भएन। अस्थायी न्यायाधीशकै रूपमा न्याय सम्पादन गरेको पाँच वर्षपछि सर्वोच्चबाट बाहिरिनु परेको थियो।
वस्तीलाई ‘नेपाली कानुनी र न्यायिक इतिहास’को इन्साइक्लोपेडियाको संज्ञा दिने गरिएको सर्वोच्चका पूर्वन्यायाधीश बलराम केसीले बताए। ‘न्यायपरिषद्ले समय छँदै उहाँ (वस्ती) लाई स्थायी गर्नुपथ्र्यो,’ पूर्वन्यायाधीश केसीले भने, ‘सर्वोच्चमा लामो अवधि न्याय सम्पादन गर्नबाट बञ्चित गर्ने काम न्यायपरिषद्ले गर्यो।’
वस्तीको देवानी एवं भ्रष्टाचारजन्य मुद्दामा विशेष दख्खल थियो। पूर्वन्यायाधीश वस्तीले कानुनको शिक्षण, कानुन व्यवसायी, अख्तियार दुरुपयोग आयोगको कानुनी सल्लाहकार, सम्पादक, लेखकका रूपमा समेत उल्लेखनीय कार्य गरेको पूर्वन्यायाधीशहरू बताउँछन्। सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीले वकालतका साथै न्याय सम्पादनमा समेत वस्ती अब्बल भएको बताए।
‘सर्वोच्च अदालतमा स्थायी न्यायाधीश हुनुपर्ने व्यक्ति हो। दुर्भाग्य भनौं अस्थायी मै रहनुपर्यो,’ पूर्वन्यायाधीश भण्डारीले भने, ‘कानुन, न्याय र मानव अधिकारको क्षेत्रमा उहाँको राम्रो पर्फर्मेन्स थियो। कानुन र न्यायसम्बन्धी पुस्तक प्रकाशन पनि गरिरहनु हुन्थ्यो। न्यायक्षेत्रका लागि अपुरणीय क्षति भएको महसुस गरेको छुँ।’ अध्ययन र लेखनमा रुचि राख्ने वस्ती विकृतिविहीन न्यायपालिकाको पक्षमा खरो लेखन एवं अभिव्यक्ति दिने गर्दथे।
सर्वोच्च अदालतका बहालवाला एक न्यायाधीशका अनुसार, पछिल्लोपटक भएको भेटघाटमा समेत वस्तीले आफ्नो नयाँ पुस्तक प्रकाशोन्मुख रहेको र छिट्टै उपलब्ध गराउने बताएका थिए। वस्तीद्वारा लिखित एवं सम्पादित पुस्तकहरूको प्रकाशन गर्दै आएको पैरवी प्रकाशनका एक कर्मचारीका अनुसार, एक साताअघि मात्रै उनले अध्ययनका लागि केही पुस्तक लिएर गएका थिए। वस्तीले राष्ट्रिय मानव अधिकार आयोगमा सदस्यका रूपमा समेत बस्तीले ६ वर्ष काम गरेका थिए।
लक्ष्मीप्रसाद र रोहिणी वस्तीको कोखबाट गोरखामा जन्मिएका वस्तीका पिता पनि पूर्वन्यायाधीश हुन्। पारिवारिक माहौलका कारण पनि वस्ती कानुन र न्यायको क्षेत्रमा आकर्षित भएका थिए। युवावस्थादेखि नै कानुन व्यवसाय र शिक्षण पेसालाई एक साथ अघि बढाएका थिए। २०३४ सालदेखि २०५५ सालसम्म उनले पृथ्वीनारायण क्याम्पस पोखरामा र नेपाल ल क्याम्पसमा कानुन विषयको शिक्षण गरेका थिए। झन्डै ३१ वर्ष शिक्षण पेसामा बिताएका थिए।
त्यस्तै, २०३३ देखि २०६५ सालसम्म उनले अधिवक्ता/वरिष्ठ अधिवक्ताको रूपमा वकालतकर्म गरेका थिए। शिक्षण पेसाबाट राजीनामा गरेर उनी पूर्णरूपमा वकालतमै जमेका थिए। नेपाल बार एसोसिएसन (२०४८/२०५१) मा उनी निर्विरोध महासचिवको रूपमा काम गरेका थिए। त्यसअघि उनी सर्वोच्च बार एसोसिएसनमा दुई कार्यकाल सचिवसमेत भएका थिए।
नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बारको संस्थागत विकासमा वस्तीको नेतृत्वदायी भूमिका उल्लेखनीय रहेको बताए। वस्तीले विकृतिविहीन न्यायपालिका अभिवृद्धि अध्ययन समितिका उनले सदस्यको रूपमा भूमिका निर्वाह गरेका थिए। त्यस्तै उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा (२०५७—२०६३)कानुनी सल्लाहकार थिए। त्यस्तै २०७१देखि २०७७ सालसम्म उनी राष्ट्रिय मानव अधिकार आयोगमा सदस्यको रूपमा काम गरेका थिए।
वस्तीसँग कानुन द्धैमासिकको प्रधान सम्पादक, नेपाल बार एसोसिएसनद्वारा प्रकाशित न्यायदूतको सम्पादक, नेपाल कानुन परिचर्चाको संस्थापक प्रबन्ध सम्पादक र कानुन विवरणिकाको संस्थापक सम्पादकका रूपमा कार्य गरेको अनुभव छ।
वस्तीले किरातकालदेखि २०७८ सालसम्मको घटनाक्रम एवं गतिविधि समेटिएको हाम्रो कानुनी इतिहासको नालीबेली, कानुनी नेपाली भाषा र साहित्य, प्रमाण कानुन, वकिल नभएमा, अंशमा महिला अधिकार, हाम्रो कानुनी प्रणालीका केही झाँकीहरू लेखन एवं सम्पादन गरेका छन्।