वेद हाम्रो धरोहर

वेद हाम्रो धरोहर

वेद, पुराण, उपपुराण र उपनिषद् आदि संस्कृति र सभ्यताका रचयिता वेदव्यासको जन्मथलो हामै्र नेपाल भूमि हो। परासर–सत्यवतीको कोखबाट जन्मिएका व्यासले वेदको विभाजन गरे। चार वेद विभाजनपछि पाँचौं वेद सर्वसुलभ, सबैका लागि महाभारतको रचना पनि गरे। महाभारत संस्कृत भाषामा लेखिएको विश्व साहित्यको क्षेत्रमा सर्वोत्कृष्ट रचना हो।

एकलाख श्लोकहरू रहेको महाभारतको हाल विभिन्न भाषामा उल्था भई आम जनमानसको लागि अझ सरलीकृत हुँदै आएको छ। हाम्रो संस्कृतिको स्रोत संस्कृत नै हो। यो भाषा कुनै धर्म विशेष, वर्ण विशेष, जाति विशेष होइन, यसमा छुट्टै मिठास छ, बोली एवं प्रस्तुतिमा समेत। संस्कृतका आदिम ग्रन्थहरू अध्ययन गरेर आज संसारमा मानिस उत्कृष्ट विद्वान्, कवि, लेखक साहित्यकार बनेका छन्। संस्कृत भाषाको संरक्षण सम्बद्र्धन गर्दा कोही कसैलाई नोक्सान पुग्दैन, बरु सबैलाई हित नै हुन्छ।

संस्कृतलाई अध्यात्म–विश्लेषकहरूले मृतसंजीवनी पनि भनेका छन्। यो साँच्चै अमृत नै हो। यस भाषाभित्र रहेको अनन्त भन्डारलाई मनन गरेर युरोप, अमेरिकास्थित विश्वविद्यालयहरूमा संस्कृत भाषाको अध्ययन, अध्यापन हुने गरेको छ। अंग्रेजी टोन र संस्कृत भाषाको टोन कैयन् शब्द, स्वरहरूमा मेल खान्छ। विदेशीहरू हजारौं हजार डलर खर्च गरेर यसको अनुसन्धान र संरक्षण गर्दै छन्। जर्मनीमा अहिले पनि दुई तीन दर्जन विश्वविद्यालयमा संस्कृतको अध्ययन र अनुसन्धान भइरहेको छ। भारतमा झन्डै दुई दर्जन विश्वविद्यालयमा संस्कृतको पठन–पाठन हुँदै छ। नासाले अहिले यही भाषा अन्तरिक्षका लागि उपयुक्त भन्दै छ।

पूर्वीय चिन्तनमा वैदिक चिन्तनले विशिष्ट स्थान ग्रहण गरेको छ। संसारको प्रारम्भ पूर्व जलशायी श्री विष्णुबाट जीव र जगत्को सृष्टि गर्ने विचारले व्रह्माको सिर्जना गरी उनैबाट सृष्टिको आरम्भ भयो। जीव र जगत्को संरक्षणको जिम्मा आफैंले लिएर संहारको शक्ति रौद्र रूप शिवलाई दिइयो। जीव र जगत्को उदयपछि ज्ञान या प्रकाशको आवश्यकता परेकाले सर्वशक्तिमान् श्री ईश्वरस्वरूप ब्रह्माबाट वेदको उदय भयो !

चार दिशा नै प्रज्वलित गर्नुपर्ने भएकाले ब्रह्माका ४ मुखबाट क्रमशः पूर्वी मुखबाट ऋग्वेद, दक्षिण मुखबाट यजुर्वेद पश्चिम मुखबाट सामवेद र उत्तर मुखबाट अथर्ववेद प्रस्फुटित भयो। ऋग्वेद, यजुर्वेद स्वरूप दिव्य ज्ञानबाट सारा ब्रह्माण्ड वैदिक शक्तिमय, ज्ञान सम्पन्न हुने भयो। वेदका ऋचाहरू– मन्त्र शक्तिले हिजोआजकोे यन्त्र शक्ति झंै काम गर्ने भयो भने सामवेद संगीत, भक्ति, लय, ताल, नृत्य, मनोरञ्जनलगायत गायन, भजन, कीर्तन, शास्त्रीय गायन समेतबाट प्रसिद्ध हुन गयो।

जीव र जगत् सञ्चालनका लागि वित्तीय संसारको आवश्यकता परेकाले अथर्ववेदमार्फत अर्थशास्त्र, वाणिज्य, गणित, तथ्यांक, धनराशी, आयव्यय, हरहिसाव लेखाप्रणालीको आरम्भ भयो। तर लेखाइ, छपाइ जस्ता प्रविधियुक्त सरसामग्रीको अभावमा भविष्यसम्म ती विषयवस्तु दिगोेरूपमा राख्न कठिनाइ देखियो। भण्डारणको असुविधा, कम्प्युटरको अभाव, मेसिनमा झैं धेरै समयसम्म सूचना राख्न सक्ने प्रविधिको अभाव, सूचना र सञ्चारको आधुनिकीकरण नहुँदा आफ्ना शिष्यहरूलाई सुनाएर र तिनीहरूमार्फत भविष्यलाई जोगाइराख्ने काम सुरु भयो।

श्रवणमार्फत भण्डारण गर्नुपर्ने भएकाले वेदलाई श्रुति भनियो। घोकेर कण्ठस्थ गरेर यसको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने भयो। ४ वेदमा हजारौं मन्त्र, लाखांै मन्त्रहरू रहने भए। यी मन्त्रहरू वेदवाणी भगवान्को वाणीको रूपमा स्वीकृत हुँदै पठनीय, मननीय, चिन्तनीय हुँदै आयो। कतिपय मन्त्रहरू लोप पनि भए। ब्रह्माबाट ब्रह्म वाक्यका रूपमा सुरु भएका वाणीहरू नष्ट नगर्न उहाँ स्वयंले ४ शिष्यको होताहरूको जिम्मा दिने विचार गर्नुभयो।

कुमारले ब्रह्माबाट ऋग्वेद पाए। अध्वर्यूकुमारले यजुर्वेद लिए भने ऋत्विज शिष्यले सामवेद र मरिची नामक शिष्यले कण्ठ गरेर अथर्व वेद संरक्षण गरी राख्ने कार्यको जिम्मा लिए ! वेदका साथमा ४ नै उपवेद पनि रहने भए ! जीवनको ४ चरण भने झंैं जगत्का लागि काल विभाजन भयो। सत्य, त्रेता, द्वापर र कलि ! हरेकको आयु निर्धारित भयो। अहिले हामी कलियुगमा छौं। यसको परमायुु ४ लाख ३२ हजार वर्षको छ।

अहिले ५१२५ वर्ष मात्र व्यतीत भएको छ। हरेक युग यसअघि २७ पटक परिभ्रमण गरिसकेको छ। ज्ञान र विज्ञान यो समयको यो युगको मात्र होइन। हरप्पा, मोहन्जोदडो, सिन्धुघाँटीको सभ्यता हामी इतिहासमा पढ्छौं। कति उत्खनन, भग्नावशेषवाट सभ्यताहरू सिक्छौं। यो संसार आजको छुट्टै र नयाँ होइन। संसारको चक्र अठ्ठाइसौं हो, अहिलेको ! संकल्प गर्दा हामी अष्टाविंशतितमे युगे, कलि युगे कलि युगस्य प्रथम चरणे... भन्ने गर्छौं।

सर्वप्रथम ऋग्वेदको चर्चा गर्दा हामीमा शाब्दिक ज्ञान हुनु जरुरी छ। ऋगको सामान्य अर्थ स्तुतिपरक हो भने वेद शब्दले विद्धता वा ज्ञान जनाउँछ। सरल अर्थमा बुझ्नु नै, जान्नु नै ज्ञान हो ! जानेको कारण ज्ञान विज्ञानमा परिणत भएको छ। पहिलेका ऋषिमुनिहरूमा तन्त्रविद्या, शास्त्रविद्या, योगशिक्षा, मन्त्रशक्ति भएकै कारण साधनाद्वारा साध्य प्राप्त गरेरै छाड्थे। 

साध्य भनेको इहलौकिक सुख, भुक्ति र पारलौकिक सुख, मुक्ति हो। तर्कवल, योगबलका कारण लामो समय बिना आहार शरीर सञ्चालन हुनसक्थ्यो।

स्वच्छ हावामा भएको अक्सीजनमा भएको पानीबाट श्वास–प्रश्वासकै भरमा जीवन निर्वाह हुन्थ्यो। लामोसमय जलाहार, फलाहार समेत नगरीकन केवल वायुमण्डलको हावामा रहेको जलबाट तृप्त भएर रहन्थे। हाम्रै पालामा पनि बालगुरु षडानन्द, खप्तड वावा, शिवपुरी बाबाहरू यस्ता धेरै देखिए, जसले चामत्कारिक यथार्थबाट भौतिक युगमा पनि छुट्टै अस्तित्व छाडेर गए। साइबाबा, रामदेवबाबा जस्ता पनि साधनमा विशिष्टता प्राप्त गर्दै छन्। अनेकौं मठमन्दिरमा हिजोआज पनि विशेष व्यक्तिहरूको नाम अंकित भएको पाइन्छ।

दशकौं, वर्षौं साधना गरेर छुट्टै अस्तित्व छाडेर गए भनेर लेखिएका ग्रन्थहरू, शिल्पीहरू, शिलालेखहरू जीवित छन् हाम्रा सामु ! विशिष्ट अनुष्ठान, साधनाबाट सिद्धि प्राप्त गर्नेहरू धेरै छन्, यस युगमा पनि ! आद्यगुरु शंकराचार्य, त्यस्तै निम्बाचार्य, अनेकौं जैनधर्मीहरू र हामै्र सामु बुद्ध पनि देखिए। साधनाबाटै भगवत् स्वरूपमा परिणत भए ! अहिले हामीमध्ये पनि कति महानुभावहरू छन् जो साधनामा निरन्तर तल्लीन छन्, सिद्ध भएका छन्। वर्षौसम्म विना आहार पनि वसेका छन्, जीवित छन्।

भौतिक आविष्कारहरूले संसारलाई झन् सजिलो बनाएको छ, साधना गर्नेहरूका लागि वातावरण आज पनि सहज हुनसक्छ। वैदिक मन्त्र जपेर अग्नि प्रज्वलित गर्नेहरू अहिले पनि छन्। यज्ञमा भू–संस्कार गरी जन्मदेखि मृत्युपर्यन्त अग्निस्थापना विधिले यज्ञ भू–संस्कार गरी जन्मदेखि मृत्युपर्यन्त अग्नि स्थापना विधिले यज्ञ आहुती गरेर जीवन समर्पित गर्नेहरू अहिले पनि धेरै छन्। यस्तै अग्नि होत्रीहरू अझै छन्, हाम्रै समाजमा।

वेदका मुख्य ६ स्वरूपहरू छन्– शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिष। यी सबैको ज्ञानले वेदको अध्ययन सम्यक् हुन जान्छ। शब्द व्याकरण वेदको मुख हो, ज्योतिष वेदको आँखा हो, निरुक्तचाहिँ वेदको कान हो। शुद्ध उच्चारण यसको स्वरूप हो। कल्पचाहिँ वेदका हात हुन्। कल्प भन्नाले यज्ञादि कार्यको सम्पादनमा कल्पना अर्थात् तयारी भन्ने बुझिन्छ। शिक्षा वेदको नाक हो। शिक्षा शास्त्रले ह्रस्व, दीर्घ र सम्पूर्ण स्वरको ज्ञान हुन्छ।

वेदविभाजनद्वारा लोककल्याण गर्ने त्यसकै प्रबद्र्धनद्वारा विश्वहित गर्ने क्रममा पैलो ऋग्वेदलाई त्यही समयमा ५ शाखाहरूमा विभाजित गरियो। शाकल, वास्कल, आश्वलायन, सांख्यान र माण्डुक्यसमेत ५ शाखामा ऋग्वेद विभाजित भयो, प्रखण्डित भयो ! अहिले ५ मध्ये शाकल शाखा मात्र हामीलाई उपलब्ध छ। ५ शाखावाट १६ शाखामा प्रखण्डित थप गर्दा २१ शाखाहरू बन्न पुगे ऋग्वेदका ! विभाजनकै क्रममा १० मण्डल, ५२८ सूक्त र १०५५२ मन्त्रहरू यसमा रहने भए !

ऋग्वेदको प्रथम भागमा मण्डल र सूक्त ४३ रहे भने २४३४ मन्त्रहरू रहे ! दोस्रो भागमा ४ मण्डल, १९१ सूक्त र २६९७ मन्त्र रहे ! तेस्रो भागमा भने मण्डल र सूक्त १९१ अनि मन्त्रहरू भने ४१२३ रहे ! चारै भागमा मण्डल र सूक्त गरी १९१ र मन्त्रहरू २८६२ रहेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.