दक्षिण कोरियामा विमान दुर्घटना अपडेट : ९६ जनाको मृत्यु, २ जनाको जीवितै उद्धार
आइतबार बैंककबाट आउँदै गरेको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटनापछि हालसम्म विमानमा सवार १८१ जनामध्ये ९६ जनाको शव निकालिएको जनाइएको छ । २ जनालाई जीवितै उद्धार गरिएको छ।
अन्य ७६ यात्रुको पनि मृत्यु भएको आशंका गरिएको छ तर पुष्टि भने भएको छैन ।
विमानस्थलमा अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियरमा समस्या देखिएको थियो । जसका कारण विमान ल्यान्डिङ गियर बिना नै अवतरण गर्नुपरेको थियो ।
विमान धावनमार्गमा चिप्लिएर विमानस्थलको बारमा ठोक्किएपछि दुर्घटना भएको थियो । विमानमा चालक दलका ६ सदस्य र १७५ यात्रु सवार थिए ।
दुर्घटना स्थानीय समयअनुसार ९:०७ मा भएको थियो। समाचार अनुसार विमानस्थलमा हुने सबै स्थानीय तथा अन्तर्राष्ट्रिय उडानहरू बन्द गरिएको छ ।
पहिलो पटकमा विमान अवतरण हुन सकेन
दुर्घटना भएको जेजु एयरलाइन्सको विमान अमेरिकी कम्पनी बोइङको ७३७–८०० नम्बरको विमान हो। विमानले दुई पटक विमानस्थलमा अवतरण गर्ने प्रयास गरेको थियो । पहिलो प्रयासमा पनि ल्यान्डिङ गियर नखुलेपछि विमान अवतरण हुन सकेको थिएन । त्यसपछि विमानले विमानस्थलको परिक्रमा गरेको थियो ।
दोस्रो पटक पाइलटले ल्यान्डिङ गियर बिना नै विमान अवतरण गरेका थिए । कतिपय मिडिया रिपोर्टहरुमा चरा विमानको पखेटामा ठोकिएको दाबी गरिएको छ।
मुआन एयरपोर्टका फायर अफिसरले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै विमानमा लागेको आगो नियन्त्रणमा आएको बताएका छन् । विमानमा लागेको आगो निभाउन ४३ मिनेट लागेको जनाइएको छ।
अहिले दुर्घटनास्थलमा उद्धार कार्य जारी छ । अधिकांश यात्रु विमानको पछाडिको भागमा थिए, उनीहरुलाई त्यहाँबाट निकाल्ने प्रयास भइरहेको छ । विमानमा सवार यात्रुमध्ये १ सय ७३ दक्षिण कोरियाली र २ थाई नागरिक थिए ।