रसुवामा सुक्खा बन्दरगाह निर्माणको काम ७२ प्रतिशत सकियो
रसुवा : रसुवा, गोसाइकुण्ड गाउँपालिका–२ टिमुरेमा रहेको नेपालवाट चीनको छोटो नाका रसुवागढी स्थित भोटोकोशी किनारमा सुक्खा बन्दरगाह निर्माणको काम ७२ प्रतिशत सकिएको छ।
नेपाल–चीनसँगको व्यापार सहजका लागि रसुवाको टिमुरेमा अन्तर्राष्ट्रियस्तरको सुक्खा बन्दरगाहको निर्माणको काम सन् २०१९ देखि सुरु भएको हो। बन्दरगाह सदरमुकाम धुन्चेदेखि २६ किलोमिटर उत्तरमा रहेको छ। चीनसँग सीमा जोडिएको मुलुकको उत्तरी नाका रसुवाको टिमुरेमा निर्माणाधीन रहेको छ। अनुगमन व्यवस्थापन नेपाल इन्टरमोडल यातायात विकास समितिले गरिरहेको छ। सन् २०२५ जुनसम्म बन्दरगाह निर्माणको काम पुरा गर्ने गरी भएको सम्झौताअनुसार तिब्बत फुली कन्स्ट्रक्सन कम्पनीले काम गरिरहेको विकास समितिका कार्यकारी निर्देशक आशिष गजूरेलले बताए।
३ वर्ष निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकामा कोरोना महामारी र चिनियाँ अघोषित नाकाबन्दीबाट काम प्रभावित रहेको थियो। बन्दरगाह निर्माणमा अब कुनै बाधा नआएमा निर्धारित समयमै सम्पन्न हुने विश्वास उनले व्यक्त गरे।
दुई हजार ८० वर्गमिटरमा फैलिएको बन्दरगाहमा ५०० वर्गमिटर क्षेत्रफलको प्रशासनिक भवन तथा ३ सय ५० कन्टेनर राख्न सक्ने संरचनासहितको सात सय ५० वर्गमिटरको गोदाम निर्माण हुनेछ।
भोटेकोशी बगरमा सात सय मिटर लामो र साढे पाँच मिटर अग्लो सिमेन्टको पिलरसहित तटबन्ध निर्माण, बन्दरगाह प्रवेश र त्यहाँबाट प्रस्थान गर्ने सहायक मार्गको निर्माण, बगर सम्म्याउने, गोदामका दुई भवन निर्माण भएका छन्।
आगामी असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको उनीले बताए। बन्दरगाहमा संयुक्त निरीक्षणस्थल, गोदाम भवन, तीन सय मालबाहक र एक सय साना सवारीसाधन पार्किङ गर्न सकिने छ।
७ सय ५० वर्ग मिटरको क्षेत्रफलमा गोदामघर निर्माण भएको छ भने चीनलेले आफ्नो भूभाग रसुवागढी नाकाबाट करिब ३० किलोमिटर टाढा केरुङ भन्दामाथि पाङसिङमा आधुनिक बन्दरगाह निर्माण गरेको छ। चीनको सिगात्सेदेखि केरुङसम्मको दूरी ४ सय ५० किमी रहेको छ।