कानुन नमान्ने खेलकुद संघलाई कारबाही हुन्छ : मन्त्री चौधरी
काठमाडौं : खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालको कानुन नमान्ने खेलकुद संघलाई केही दिनभित्रै कारबाही गर्ने स्पष्ट पारेका छन्।
कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरीले केही खेलकुद संघ ऐन कानुन विपरीत अघि बढिरहेको भन्दै छिट्टै कारबाही गर्ने बताएका हुन्।
उनले अहिले खेलकुद संघका साथै राष्ट्रिय खेलकुद परिषद्ले समेत मन्त्रालयको निर्देशनको पालना नगरि अघि बढ्न खोजेको बताए। अदालतको आदेश आएपछि नेपाल ओलम्पिक कमिटीको निर्वाचन व्यवस्थित गर्न खोजेपछि कमिटीले त्यसलाई अटेर गरेको उनले बताए।
मन्त्री चौधरीले ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी नहुन खेलकुद संघहरुलाई पत्राचार गरेपनि नमानेको र त्यसपछि स्पष्टीकरण पठाएको जिकिर गरे। केही दिनभित्र खेलकुद संघलाई कारबाही गर्ने भन्दै उनले त्यसमा हस्तक्षेप नगर्न आग्रह गरे।
मन्त्री चौधरीले नेपालको खेलकुद पूर्वाधारका लागि पर्याप्त बजेट नभएकाले आगामी वर्ष बजेट बढाउने गरि पहल गर्न कांग्रेस नेतृत्वलाई आग्रह गरे।