म्याग्दीका सबै पालिकामा माओवादी केन्द्रको नेतृत्व चयन
बेनी : नेकपा (माओवादी) केन्द्रले म्याग्दीको सबै स्थानीय तहमा तेस्रो पालिका सम्मेलन मार्फत नेतृत्व चयन गरेको छ।
दुई वटा स्थानीय तहको अध्यक्ष दोहोरिएका छन भने चार वटा पालिका कमिटिको नेतृत्व परिवर्तन भएको हो। छ वटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गर्दै पालिका सम्मेलन सम्पन्न भएको नेकपा (माओवादी केन्द्र) म्याग्दीका इन्चार्ज तथा केन्द्रीय सदस्य गोविन्द पौडेलले जानकारी दिए।
‘सर्वसम्मत नेतृत्व चयन गरेर पार्टी एकतावद्ध रहेको सन्देश दिएका छौ,’ उनले भने, ‘४५ मध्य १६ वटा बाहेकका वडामा पनि सम्मेलन मार्फत नयाँ कमिटी निर्वाचित भएको छ।’ धवलागिरिका सात, मालिकाका, मङ्गला, रघुगङ्गा र अन्नपूर्णका दुई/दुई र बेनीको एक वटा वडामा पनि सम्मेलनको तयारी गरेको इञ्चार्ज पौडेलले बताए।
धवलागिरीमा रिमप्रकाश थापाको अध्यक्षतामा ४५ सदस्यीय, मालिकामा अनुप गौचनको अध्यक्षतामा ५५ सदस्यीय, मङ्गलामा कुलबहादुर पुनको अध्यक्षतामा ४५ सदस्यीय, बेनी नगरपालिकामा नगेन्द्र केसीको अध्यक्षतामा ५५ सदस्यीय, रघुगङ्गामा भविन्द्र शेरपुञ्जाको अध्यक्षतामा ४१ सदस्यीय र अन्नपूर्णमा पूर्णबहादुर पाइजाको अध्यक्षतामा ४५ सदस्यीय पालिका कमिटी चयन भएको छ।
केन्द्रीय कार्यक्रम अनुसार पालिका र वडा तहमा सम्मेलनसँगै पार्टीको नीति, कार्यक्रम र समसामयिक राजनीतिक परिस्थिति, माओवादी नेतृत्वको सरकारले गरेका रचनात्मक कामको प्रचारप्रसार, स्थानीय समस्या तथा आवश्यकताको पहिचान गर्न प्रशिक्षण तथा सरकारलाई सजग बनाउन खबरदारी सभा समेत गरिएको थियो।
सम्मेलनका लागि धवलागिरीमा प्रदेश सदस्य लालु किसान, मालिकामा प्रदेश सांसद तथा पूर्वमन्त्री रेशम बहादुर जुग्जाली (सुविन), मङ्गलामा प्रदेश सहसचिव टेकबहादुर विश्वकर्मा, बेनी नगरपालिकामा जिल्ला सचिव कुशल पौडेल, रघुगङ्गामा जिल्ला संयोजक सेरबहादुर केसी र अन्नपूर्णमा प्रदेश सदस्य तथा पूर्व सांसद विनोद केसीलाई जिम्मेवारी तोकिएको थियो।
सम्मेलनका क्रममा कार्यकर्ता र जनतासँग पुग्दा विगतको तुलनामा माओवादीप्रति आशा र अपेक्षा बढेको पाइएको जिल्ला संयोजक केसीले बताए। ‘माओवादीका अध्यक्ष प्रचण्ड पछिल्लो कार्यकालमा १८ महिना प्रधानमन्त्री हुँदा सामाजिक न्याय, सुशासन र सम्बृद्धिका पक्षमा गरेका कामबाट नेता कार्यकर्ताको आत्मबल बढेको तथा जनताको माओवादीप्रति विश्वास बढेको हो,’ उनले भने ‘स्थानीय तह र प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिहरूले विकास निर्माण र सेवा प्रवाहका साथै नागरिकको समस्या समाधानका लागि गरेका कामले पनि हामीलाई सजिलो भएको छ।’
यसअघि २०७४ र २०७९ मा कांग्रेस र एमालेसँग तालमेल गरेर चुनाव लडेको माओवादीले आगामी २०८४ को निर्वाचन एक्लै प्रतिस्पर्धा गर्ने घोषणा गरेको छ। पुराना माओवादी घटकहरूबीच एकता, अन्य पार्टीबाट प्रवेश र नयाँ कार्यकर्ता उत्पादन, पार्टी र जनवर्गीय संगठनहरूलाई चलायमान बनाएर आगामी चुनावी परिणाम आफ्नो पक्षमा पार्ने रणनीतिमा माओवादीका नेताहरू लागेका छन्।
२०६४ सालको संविधानसभा म्याग्दीको निर्वाचन जितेको माओवादी २०७० को दोस्रो संविधानसभामा तेस्रो बनेको थियो। २०७४ मा समानुपातिकतर्फ चार हजार मत ल्याएको माओवादीले २०७९ को प्रदेश र प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फ आठ हजार भन्दा बढी मत ल्याएको थियो। प्रत्यक्षतर्फ चुनावी तालमेल गरे पनि समानुपातिक तर्फको मत बढेकाले माओवादीका नेताहरू उत्साहित देखिन्छन्।
माओवादीबाट म्याग्दी १(२) बाट निर्वाचित प्रदेश सांसद रेशम बहादुर जुग्जालीले गण्डकीको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्व गर्दा र बेनपा–४ का डा. मिनबहादुर श्रेष्ठ राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा भित्रिएका ठूला र रणनीतिक महत्वका विकास आयोजनाका कारण म्याग्दीमा माओवादीका कार्यकर्ताको आत्मबल बढाउन मद्दत पुगेको हो।