ओलम्पिक कमिटीमा देखिएको विवाद उचित होइन, अदालतको आदेश मान्नुपर्छ : देउवा
उनले खेलकुदको क्षेत्रमा भएको बजेट न्यून रहेकाले यसलाई बढाउनका लागि पार्टीले पनि पहल गर्नुपर्ने धारणा राखे।
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको खेलकुद क्षेत्रको विकासमा पार्टीले ध्यान दिने बताएका छन्। नेपाल लोकतान्त्रिक खेलकुद संघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले खेलकुद जगतलाई कांग्रेसले महत्वका साथ हेरेको बताएका हुन्।
उनले हरेक युवाहरूलाई खेल क्षेत्रमा जोड्न सके खेलको पनि विकास हुने धारणा राखे। देउवाले विभिन्न रनिङ शिल्डलाई पनि प्रभावकारी ढंगले निरन्तरता दिनुपर्नेमा जोड दिए। ओलम्पिक कमिटीमा देखिएको विवाद उचित नभएको भन्दै उनले अदालतको आदेश सबैले मान्नुपर्ने जिकिर गरे।
कार्यक्रममा संघको महाधिवेशन केन्द्रीय निर्देशन समिति संयोजक एवं कांग्रेस सांसद मोहन बहादुर बस्नेतले देशलाई चिनाउनका लागि खेलकुदको धेरै योगदान रहेपनि खेल क्षेत्रको उचित विकास हुन नसकेको बताए। उनले खेलकुदको क्षेत्रमा भएको बजेट न्यून रहेकाले यसलाई बढाउनका लागि पार्टीले पनि पहल गर्नुपर्ने धारणा राखे।