पूर्वराष्ट्रपतिको भ्रमणको सन्देश

पूर्वराष्ट्रपतिको भ्रमणको सन्देश
फाइल तस्बिर ।
सुन्नुहोस्

पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउनुअघि विचारशीलता, व्यावहारिकता र संवैधानिक गरिमा संरक्षणका विषयमा गम्भीर सोचविचार हुनु आवश्यक छ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी राजनीतिमा प्रवेशको संकेतले नेपाली राजनीति एकपटक पुनः चर्चाको केन्द्रमा छ। मठमन्दिरहरूको भ्रमणको सिलसिलामा नेता तथा कार्यकर्ताहरूसँगको भेटघाट र देशदौडाहाले उनी पार्टीमा सक्रियताका लागि कार्यकर्ताको मनोभाव र जनाधार बुझिरहेकी छन् भन्ने लख काट्न सकिन्छ।

उनले खुलेरै राजनीतिमा फर्किन्छु भनेकी त छैनन्, फर्किनका लागि बाटो बन्द नभएको बताउँदै आएकी छन्। राजनीतिमा फर्किइन् भने उनी पक्कै नेतृत्वमा रहनेगरी आउनेछन्। पहिलो राष्ट्रपति महिला बनेकी उनी एमालेको पहिलो अध्यक्ष महिलासमेत हुन सक्नेछन्। विदेशी राष्ट्रहरूमा पूर्वराष्ट्रपतिहरूको राजनीतिक पुनरागमन भई मन्त्री, सांसद बन्नुलाई सामान्यजस्तै लिइन्छ। नेपालका लागि भने यो नितान्त नयाँ र संवैधानिक 
नैतिकताका हिसाबले पनि हेरिनेछ।

मदन भण्डारीको राजनीतिक विरासतको बलियो साथ र कार्यकर्ताको भरोसा भण्डारीमा छ। उनी राजनीतिक नेतृत्वमा आउँदा एमालेको एक पंक्तिमा उत्साह देखिन सक्छ। महिला सशक्तीकरणलाई प्रोत्साहन गर्न सक्छ। यहाँ एउटा महत्वपूर्ण चिन्ता पनि छ– पहिले राष्ट्रपति पदमा रहेकी भण्डारीको राजनीतिक पुनरागमनले राष्ट्रपतिको गरिमामा आँच पर्ने त होइन ? हुर्किंदै गरेको गणतन्त्रको शोभा के होला भन्ने विषयलाई पनि नजरअन्दाज गर्नु हुँदैन। संविधानलाई संरक्षण गर्ने भूमिका निभाएको व्यक्ति पार्टी राजनीतिमा प्रवेश गर्दा कतै गरिमा र विश्वसनीयतामा कमी आउने सन्देह उत्पन्न हुन्छ। यसैले, भण्डारीको राजनीतिक आगमन सही ढंगले सोचविचार र तयारीको आधारमा हुनुपर्छ। ध्यान दिनुपर्ने अर्को पक्ष भनेको भण्डारी एमालेका लागि नभई नहुने अनिवार्य नेतृ हुन् कि होइनन् भन्ने पनि हो। त्यसको विश्लेषण सोही पार्टीका कार्यकर्ताहरूले नै गर्लान्।

एमाले उपाध्यक्षसम्म रहेकी उनलाई सरकारदेखि राष्ट्रप्रमुखसम्मको अनुभव छ। दुईदुई पटक राष्ट्रप्रमुख बनेकी उनलाई किन राजनीतिमा आउनुपर्ने बाध्यता आइपर्‍यो भन्ने सवाल पनि अहिले उत्पन्न भएका छन्। राष्ट्रपति भइसकेको व्यक्तिले सामाजिक सेवा गर्न सक्ने थुप्रै पक्ष पनि छन्। महिला सशक्तीकरण, समानता, पर्यावरण, सीमान्तकृतहरूको आवाज बोक्ने अभियानको नेतृत्वदायी भूमिकामा काम गर्न सकिने हुन्छ। जुन विश्वका धेरै राष्ट्रप्रमुखहरूले अपनाएको बाटो पनि हो। यसबाट पदीय गरिमा अझै बढ्नेछ।

संविधानले वञ्चित नगरेकाले राजनीतिमा फर्किनै हँदैन भन्ने धारणा पनि कदाचित उपयुक्त होइन। तथापि अब सक्रिय राजनीति गर्दा यसअघि पूरा हुन नसकेका कुन चाहिँ एजेन्डा स्थापित गर्न सकिन्छ ? त्यसको पूर्वयोजना भने हुनुपर्छ। पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउनुअघि विचारशीलता, व्यावहारिकता र संवैधानिक गरिमा संरक्षणका विषयमा गम्भीर सोचविचार हुनु आवश्यक छ। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.