शुभकामना
समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायले निर्वाह गरेको भूमिका प्रशंसनीय : राष्ट्रपति
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय भएको बताएका छन् ।
सोमबार तमु ल्होसार पर्व, २०८१ को शुभकामना सन्देश दिँदै उनले नेपालको साँस्कृतिक परम्पराको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रबर्द्धनमार्फत् समृद्ध मुलुक निर्माण गर्न भूमिका खेलेको बताएका हुन् ।
‘बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु’सन्देशमा भनिएको छ।
उनले तमु ल्होसार पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर भई प्रगति पथमा अघि बढ्न सबैलाई उर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन्।
नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरूभएको अवसरको रूपमा हर्षोल्लासका साथ मनाउने चलन छ । गुरुङ समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाहरूमा यो पर्व धुमधामसँग मनाउने गरिन्छ।