ल्होसारले गुरुङ समुदायको सांस्कृतिक पहिचान र एकतालाई जीवन्त राख्न भूमिका खेलेको छ : सभामुख
काठमाडौं : सभामुख देवराज घिमिरेले तमु ल्होसार पर्वले गुरुङ समुदायको सांस्कृतिक पहिचान, एकता र परम्परालाई जीवन्त राख्न भूमिका खेलेको बताएका छन्। सोमबार तमु ल्होसारको शुभकामना दिँदै उनले नेपाल विविधायुक्त बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएको बताएका हुन्।
‘नेपाल विविधायुक्त बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश हो। संविधानको मर्म अनुसार नेपालमा विभिन्न जातजातिको भाषा, संस्कृतिको संरक्षण विकास र उन्नयनमा काम हुँदै आएकोबारे हामी सबै जानकार नै छौं।’ सभामुख घिमिरेको सन्देशमा भनिएको छ, ‘हाम्रा पर्वहरूले नागरिक स्तरमा पनि विविधतामा एकता कायम गर्न र सामाजिक सद्भावलाई सुदृढ बनाउन सहयोग गरेका छन्।’
उनले ल्होसार पर्वले आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्। सभामुख घिमिरेले तमु ल्होसार पर्वले समाजका सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाउन, साझा उद्देश्य र धार्मिक भावनाको प्रवर्द्धन गर्न सकोस् भन्ने शुभकामना दिएका छन्।
तमु ल्होसार गुरुङ समुदायको प्रमुख पर्व हो। यो पर्व गुरुङहरूको नयाँ वर्षको आगमनलाई संकेत गर्ने दिनको रूपमा मनाइन्छ। गुरुङ समुदायले १२ वर्षमा १२ वटा जनावरको नामबाट ल्हो (वर्ष) चक्र निर्धारण गरेका छन्। यो नयाँ ल्होको स्वागत गर्ने पर्व हो।