बिहानै म सुपर्णखाकहाँ गएँ । आमा देखिनु भो । मैले बोल्नु अगाडि नै उहाँले भन्नुभो, ‘आउ, बाबु ।’
उहाँले जवाफ दिनु भो, ‘केको नउठ्नु, बिहानै गैसक्यो । बरू तिमी आयौ भने दिनु भनेर एउटा खाम छाडेर गएको छ । तिमी
मैले भनें, ‘आमा, भर्खर खाएर आएको । अहिले नखाउँ । बरु त्यो खाम पाउँ ।’
आमाले खाम ल्याएर दिएपछि म हिँडें । घर आएर खाम खोलेर हेरें । चिठी हो कि लेख ? बुझ्न सकिनँ । तर त्यसमा लेखेको कुरा जस्ता तस्तै प्रचार गरेको छु उनका कुरा मिथ्या त छँदैछ, त्यसमाथि मेरा मित्रले समेत त्यस्ता अचम्मका कुरा गर्न सक्दा रहेछन् भन्ने लागेर ।
प्रिय मित्र,
मेरो बालसखा भएकाले तिमीलाई म कहिले पनि बिर्सन सक्दिनँ मात्र हैन, चाहन्नँ पनि । तिमी आज आउँछौ भन्ने कुरा त तय नै थियो । तर एउटा जरुरी सामाजिक कार्य आइपरेकाले मलाई निस्कन पर्यो । यसलाई अन्यथा लिँदैनौ भन्ने विश्वास छ । तिम्रो स्वभाव त मलाई थाहा छ नि । त्यसमाथि तिमी मसँग उतिविधि रिसाउँदैनौ पनि जसरी तिमीजस्तो भए पनि म तिमीलाई त्याग्न सक्दिनँ । यै रहेछ क्या र बालसखा हुनुको कमजोरी । आफू नहुने भएपछि यो चिठी लेखेर छाडेको छु ।
त बालसखा हुँदाहुँदै पनि तिमी र ममा पहाड र जमिनको फरक छ । तिमी पहाड हौ, अग्ला देखिने । कतै ढुंगे चट्टान–मान्छेको पहुँच नभएको, कतै हराभरा देखिने रुख–बाघभालुको निवास भएको, त कतै सधैं पहिरोको त्रास–कुनबेला गल्र्याम–गुर्लुम भएर पाताल पुग्ने हो ।
जब तिमी पाताल पुग्छौ, तिम्रो उचाइको अस्तित्व कहिल्यै उठ्न नसक्ने गरी हराउँछ । म ठहरिएँ एकैनास रहिरहने सामान्य समतल मैदान–नयाँ नयाँ कुरा उमार्ने व्यक्ति । न अनावश्यक उचाइको चाहना छ, न कसैको चाहनामा हराउँछ । हो, कहिलेकाहीँ तिम्रो पहिरोको तोडले कतै थिचिएला, कतै क्षणिक हराउला । तर त्यो छिट्टै फेरि आफ्नै अवस्थामा फर्किन्छ ।
अर्को किसिमले भन्ने हो भने तिमी महाराज म सामान्य किसान ! तिम्रा हुकुम प्रमांगीले तिम्रो निर्धनतामाथि सुनको लेपले पोत्न सक्छ भने कसैको जीवन सार्थक जस्तो देखिन पुग्छ । कसैको बिल्लीबाठ बनाउन पनि सक्छ । तिमी भन्लाउ– म नियमअनुसार काम गर्ने मान्छे, केको हुकुम प्रमांगी ? मलाई हुकुम प्रमांगीको अर्थ थाहा नभएको भन्लाउ । मलाई हुकुम प्रमांगीको मतलब भलिभाँती थाहा छ ।
मुखको नियम न हो । हो, पहिलेका महाराजहरूको मुखमा नियम हुन्थ्यो । तिमी धूर्त छौ । त्यसैले तिम्रो चैं नियममा तिमीले बनाउन चाहे झैं मुख हुन्छ । अनि त्यै नियमको मुखले बनाउन चाहेकालाई तिमी बनाइदिन्छौ, बिगार्न चाह्यौ भने खोलामै डुबाइदिन्छौ, सासै फेर्न नसक्ने गरी । जतिसुकै ठूलो अपराधी पनि तिम्रो नियमको मुखले तिम्रो चाहनाअनुसार मुक्ति पाउँछ भने निर्दोष महाअपराधी ठहरिन्छ । त्यही हो तिम्रो नियमको मुख ।
त्यति मात्र किन ? हिजोका महाराज आर्यघाटमा सुताएपछि सेवा निवृत्त हुन्थे । तिमी जति बुढो भए पनि निवृत्त हुँदैनौ र खुलेआम धम्कीमिश्रित घोषणा गर्छौ– म बाँचुन्जेल यो मेचमा कसैले आँखा लगाउने हैन । त्यति मानेमा तिमीलाई म अरूभन्दा इमान्दार भन्न चैं सक्छु । किनभने तिमीले खुलेआम भनिदियौ । तिमी जस्तै अर्का गुटकाले त भन्ने साहस गर्दैनन् तर मेच छाड्नै मान्दैनन् । मेचमा खोटो लगाएर बसिरहेछन् ।
माने तिमीहरू सबै गुटकालाई तानामाना आर्यघाट चाहिएको छ । तिमीहरू सबै विभिन्न हैसियतका महाराज भएनौ त ? त्यसैले आज बालसखालाई महाराजको श्रेणीमा राख्दै दुई हात जोडेर ‘जदौ महाराज भन्न चाहन्छु । जदौ ।’