बौद्धिक ह्रासको चिन्ता

बौद्धिक ह्रासको चिन्ता

शिक्षित एवं योग्य व्यक्तिहरूले समेत रोजगारीका अवसरहरू प्राप्त गर्न सकेका छैनन्।

अंग्रेजी भाषाको एउटा मानक शब्दकोश प्रकाशक संस्था अक्सफोर्ड युनिभर्सिटी प्रेसले हरेक वर्ष चर्चित विषयवस्तुसँग सम्बन्धित मुद्दालाई आधार बनाएर ‘शब्द वर्ष’ घोषणा गर्ने गर्छ। यो वर्ष २०२४ का लागि प्रेसले ‘ब्रेन रट’लाई शब्द वर्षका रूपमा घोषणा गरेको छ। उक्त शब्दले विशेषगरी सामाजिक सञ्जालमा सम्प्रेषित गुणस्तरहीन सामग्री अत्यधिक हेर्दा त्यसले पार्ने असरबारेको चिन्तालाई जनाउँछ। ‘ब्रेन रट’लाई मुख्यगरी व्यक्तिको 

मानसिक वा बौद्धिक क्षमतामा ह्रास आउने अवस्थाका रूपमा व्याख्या गरिएको छ।

सन् २०२३ बाट सन् २०२४ मा त्यस्तो प्रवृत्ति २३० प्रतिशतले बढेको जनाइएको छ। सरल बुझाइमा अंग्रेजी भाषामा ‘ब्रेनु अर्थात् मस्तिष्क रट अर्थात् सड्नु भन्ने हुन्छ। ‘ब्रेन रट’ शब्द को पहिलो प्रयोग इन्टरनेट आउनुभन्दा धेरै नै अघि भएको थियो। हेनरी डेभिड थोरोले सन् १८५४ मा आफ्नो पुस्तक वाल्डेनमा यो शब्द पहिलो पटक प्रयोग गरेका थिए। उनले आफ्नो पुस्तकमा ‘इङ्ल्यान्डले आलु कुहिँदा त्यसको समाधान खोज्ने प्रयास गरिरहँदा, मस्तिष्कमा हुने त्यस्तै प्रवृत्तिको ह्रासलाई निको पार्ने प्रयास गर्नु पर्दैन’ भनेर प्रश्न गरेका छन्। 

सूचना तथा सञ्चार प्रविधिको विकास विगत दुई दशकको अवधिमा द्रुतगतिमा बढ्दै गएको देखिन्छ। सन् १९८० को दशकमा जब इन्टरनेट सुरु भयो, यसले सञ्चारको नयाँ युगको प्रतिनिधित्व गर्‍यो। अझ सामाजिक सञ्जाल र स्मार्टफोनको उदयपश्चात् यसको प्रयोगलाई अझ व्यापक बनाउँदै लग्यो। फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, टिकटक, भाइबर, एक्स (टिटर), ह्वाट्सएप, युट्युबजस्ता सामाजिक सञ्जाल अनुप्रयोगहरू मार्फत जानकारी, विचार र अभिव्यक्तिहरू आदानप्रदान हुन थालेपछि यसको लोकप्रियता बढ्दै गएको देखिन्छ। तथापि, पछिल्लो समय सामाजिक सञ्जालहरूमा सम्प्रेषित कम गुणस्तरका सामग्रीहरूले यसका प्रयोगकर्ताहरूको मस्तिष्कमा नराम्रो असर परेको जनाइएको छ। इन्स्टाग्राम र फेसबुकका रिल्स र टिकटकका भिडियो हेरेर घण्टौं बिताउने व्यक्तिहरू ‘ब्रेन रट’को अवस्थाबाट ग्रसित भएको दाबी गरिएको छ।

सामाजिक सञ्जालमा सम्प्रेषित अधिकांश छोटा भिडियोहरू तथ्यहीन र वास्तविकताभन्दा टाढा हुने गरेका भेटिन्छन्। विभिन्न फोटो एवं भिडियोहरूलाई अनधिकृत रूपमा सम्पादन गरेर सामग्रीहरू बनाउने होड नै चलेको देखिन्छ। राम्रो भ्युज, लाइक, कमेन्ट, सेयर एवं सब्सक्राइबर वृद्धिका उद्देश्यले बनाइएका यस्ता हल्काफुल्का सामग्रीहरूले गलत सन्देश समेत प्रवाह गरिरहेका छन्। संप्रेषण गरिएका सामग्रीहरूको सत्यताको खोजी नगरी जे देख्यो त्यसैलाई सत्य मान्ने प्रचलनले प्रयोगकर्ताको सोचाइ, बुझाइ र व्यवहारमा गहिरो प्रभाव पारेको छ। यसले प्रयोगकर्ताहरूलाई गलत दिशातर्फ निर्देशित गर्ने सम्भावना बढ्दै गएको देखिएको छ। यसैगरी कसैको चरित्र हत्या गर्ने, गाली बेइज्जती गर्ने, राजनीतिक, सामाजिक एवं विभिन्न सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुग्ने खालका सामग्रीहरूले नकारात्मक भावनालाई उजागर गरिरहेका छन्।

यसैकारण यस्ता सामग्रीहरूमा घण्टौं व्यतित गर्ने मानिसहरूको बौद्धिक क्षमतामा दिनप्रतिदिन क्षति पुग्दै गएको तथ्यहरू बाहिर आएका छन्। यस्ता सामग्रीलाई बजारमा पाइने पत्रु खानेकुरासँग तुलना गरिएको छ। यी खानाहरू खान सजिलो हुने, स्वादिलो हुने तथा जिब्रो लोभ्याउने भए पनि शरीरलाई नोक्सान पुर्‍याइरहेका हुन्छन्।

मुलुकको भविष्यका कर्णधार भएकाले युवाहरू मुलुकको भविष्य समेत उनीहरूमै निर्भर हुन्छ। त्यसैले देशका युवा शारीरिक एवं मानसिक रूपमा स्वस्थ, सक्षम एवं उत्पादनशील हुनुपर्छ। यसैकारण डिजिटल दुनियाँको कुलतबाट युवाहरूलाई टाढा राख्नुपर्ने आवश्यकता देखिन्छ। 

सामाजिक सञ्जालको बढ्दो प्रयोगले बौद्धिक मात्र नभई मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पुग्ने देखिएको छ। पछिल्ला विभिन्न अनुसन्धानहरूले २ देखि ३ घण्टासम्म लगातार स्क्रिनमा बिताउने व्यक्तिमा अन्य व्यक्तिको तुलनामा दुई गुणा बढी डिप्रेसन र एन्जाइटीको समस्या हुन सक्ने सम्भावना देखाएको छ। यस्ता व्यक्तिहरूमा मानसिक स्वाथ्य समस्या हुने जोखिम उच्च रहेको बताइएको छ।

मानसिक स्वास्थ्यले व्यक्तिको मनोवैज्ञानिक, संवेगात्मक तथा सामाजिक तन्दुरुस्तीलाई बुझाउँछ। डिप्रेसनको समस्या भएका व्यक्तिमा यो तन्दुरुस्ती देखिँदैन। यस्ता व्यक्तिहरू कोहीसँग बोल्न मन नगर्ने, एक्लै एकान्तमा बस्न खोज्ने, खान मन नगर्ने, निद्रा नलाग्ने, धेरै सोच्ने, अल्छी हुने, रुचि लागेका काममा रुचि घटाउँदै लाने, नकारात्मक मात्र सोच्ने, छिटो रिसाउनेजस्ता संकेतहरू देखिने गरेका छन्। यसलाई डिजिटल डिप्रेसनको संज्ञा दिइएको छ। यसबाट प्रभावित व्यक्तिहरूमा अन्य सामान्य मानिसले भन्दा फरक व्यवहार देखाउने गरेका छन्। युवा अवस्थामा समेत अनुहारमा कुनै चमक नहुने, निद्रा नपुगेका जस्तै आँखाहरू लाल देखिने, कुनै कुरामा चाख नदिने, साथीभाइ आफन्तहरूसँग टाढा बस्न मन पराउनेजस्ता क्रियाकलाप देखाउने गरेको पाइन्छ। 

व्यक्तिले लामो समय स्क्रिनमा बस्दा आँखा मात्र व्यस्त भएको देखिए पनि प्रयोगकर्ताको मनमस्तिष्कलाई समेत यसले नियन्त्रण गरेको हुन्छ। उता आर्टिफिसल इन्टेलिजन्स (एआई)ले इन्टरनेटको संसारमा प्रयोगकर्ताको इच्छा एवं रुचिअनुसारका सामग्रीहरू उपलब्ध गराएर मन्त्रमुग्ध पार्न सफल भएको देखिन्छ। यसले लामो समय व्यक्तिलाई डिजिटल दुनियाँमा रमाउन मद्दत गरेको छ। यसरी रमाउने बानीले मानिसलाई बाहिरी दुनियाँबाट अलग गर्दै गरेको देखिन्छ। जब मानिस एक्लो हुँदै जान्छ उसमा मानसिक समस्याहरू देखा पर्न थाल्छ। आफ्ना समस्याहरू अरूलाई भन्न हिच्किचाउने, आफूमात्र सही हो भन्ने भावना जाग्ने र अटेरी स्वभावले व्यक्तिमा डिप्रेसनको सम्भावना बढ्दै गएको देखिन्छ।

यसैगरी कतिपयले सम्प्रेषित सामग्रीलाई आफ्नो जीवनशैलीसँग तुलना गर्दै आफू अरूभन्दा पछि परेको अनुभूति गर्ने गरेको पाइन्छ। विशेषगरी, नेपालमा बस्ने युवाहरू बेरोजगारी, घरेलु समस्या, विभिन्न आर्थिक, सामाजिक एवं राजनैतिक कारणले नैराश्य देखिएका छन्। यस्तो अवस्थामा आफूसँगै पढेका तथा सँगै उमेरका साथीभाइको सामाजिक सञ्जालमा देखिएको जीवनशैलीले उनीहरूलाई समेत छिटोभन्दा छिटो सफल हुने हतार देखिन्छ। छिटो सफलता प्राप्त गर्ने लोभले कतिपय ठगिने गरेका घटनासमेत बाहिर आएका छन्। आफूले सोचेअनुसारको हुन नसकेपछि उनीहरू खिन्न देखिन्छन्।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरू आफ्नो मनोभावनालाई नियन्त्रण गर्न नसक्दा विभिन्न नकारात्मक कुरामा प्रोत्साहित भएका घटनासमेत बाहिर आएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको आव ८०–८१ मा भएका आत्महत्याका घटनाको डरलाग्दो तथ्यांकले यसलाई पुष्टि गर्न खोजेको देखिन्छ। गत आव नेपालमा ७ हजार २ सय २३ जनाले आत्महत्या गरेका छन्। यसैगरी ६.५ प्रतिशत वयस्क र ३.९ प्रतिशत किशोरकिशोरीले आत्महत्या गर्ने सोच राख्ने गरेको प्रतिवेदनमा उल्लेख छ। यस्तै १५ देखि ४५ वर्षका प्रजजन उमेरसमूहका महिलाहरूको मृत्युको पहिलो कारण आत्महत्या रहेको उल्लेख छ। यसमा एउटा प्रमुख कारण मानसिक रोगसमेत उल्लेख छ। जसको प्रमुख कारण सामाजिक सञ्जाल र यसको बढ्दो प्रयोगलाई लिएको छ। 

पछिल्लो समय मुलुकमा शैक्षिक बेरोजगारीको समस्या बढ्दै गएको बताइएको छ। यसको अर्थ शिक्षित एवं योग्य व्यक्तिहरूले समेत रोजगारीका अवसरहरू प्राप्त गर्न सकेका छैनन् भन्न खोजिएको हुनुपर्छ। तथापि, योग्यतालाई शैक्षिक प्रमाणपत्रले मात्र निर्धारण गर्दैन। एउटा शिक्षित व्यक्तिमा कुनै समस्याको विश्लेषण गर्ने, तर्क गर्ने, प्रस्तुत गर्ने र समाधान खोज्ने सामथ्र्य राखेको हुनुपर्छ। यसका लागि गहिरो अध्ययन तथा अनुसन्धान आवश्यक पर्छ। पछिल्लो समय सामाजिक सञ्जालको अत्यधिक प्रयोगले यो सामथ्र्य निर्माणमा बाधा पुर्‍याएको छ।

यसैलाई मनन् गर्दै धेरै मुलुकहरूले यसको समाधानका उपायहरू समेत खोज्न थालेका छन्। केही देशहरूले सामाजिक सञ्जालको प्रयोग नियमन गर्न भन्दै विभिन्न सञ्जालहरूमा प्रतिबन्ध नै लगाइसकेका छन्। भर्खरै अस्ट्रेलिया सरकारले सोह्र वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई सामाजिक सञ्जालको पहुँचबाट टाढा राख्ने नीति अवलम्बन गर्ने बारेमा बहस चलाएको छ। 

युवा अवस्था जीवनकालको अद्वितीय र महत्त्वपूर्ण समय हो। यो अवस्थामा विकसित मानसिक स्थिति, सामाजिक र भावनात्मक अवधारणाले उनीहरूको भविष्य निर्धारण गर्छ। यो समयको सही र उपयुक्त ठाउँमा उपयोग नभएको खण्डमा भविष्य अन्धकार बन्न सक्ने सम्भावना रहन्छ। यतिमात्र होइन युवाहरू मुलुकको भविष्यका कर्णधार हुन्। यसैकारण मुलुकको भविष्य समेत उनीहरूमै निर्भर हुन्छ। देशका युवाहरू शारीरिक एवं मानसिक रूपमा स्वस्थ, सक्षम एवं उत्पादनशील भएमात्र मुलुकमा सकारात्मक परिवर्तनको आशा गर्न सकिन्छ।

यसैकारण डिजिटल दुनियाँको कुलतबाट युवाहरूलाई टाढा राख्नुपर्ने आवश्यकता देखिन्छ। हरेक क्षेत्रका आआफ्नै गुण र दोष भए जस्तै डिजिटल क्षेत्रका समेत लाभ र हानिलाई पहिल्याउन सक्नुपर्ने आवश्यकता छ। उनीहरूलाई डिजिटल क्षेत्रका सकारात्मक एवं नकारात्मक पक्षहरूबारे सुसूचित गराउन अभिभावक र समाजको महत्त्वपूर्ण भूमिका देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.