प्रहरी कार्यालय सहयोगी रम्बाको हत्या प्रकरण

आरोपितको बयान : 'दुई हजारमा कार भाडामा मगाए, एकान्त ठाउँमा लगेर गोली हाने’

आरोपितको बयान : 'दुई हजारमा कार भाडामा मगाए, एकान्त ठाउँमा लगेर गोली हाने’
राजकुमार रुम्बा हत्यामा संलग्न आरोपित सार्वजनिक गरिँदै । तस्बिर : दिवाकर भण्डारी

घटनापछि दासले मोबाइल हरपुरमा लगेर जलाए । घटनाको प्रमाण नष्ट गरेर दास पुनः काममा फर्किए । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले पुस ११ गते दासलाई जीतपुरसिमरास्थित एक बैंकमा चेक साटन गएका बेला पक्राउ गर्यो । दासको खल्तीबाट रुम्बाले लगाएको सिक्री फेला परेको प्रहरीको भनाइ छ ।

सिमरा : नेपाल प्रहरीका कार्यालय सहयोगी राजकुमार रुम्बाको रहस्यमय हत्या प्रकरणमा अनुसन्धानबाट खुलेका केही तथ्य प्रहरीले सार्वजनिक गरेको छ । हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनासहित आइतबार प्रहरीले घटना विवरण सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार रुम्बाको हत्यामा दुईजनाको प्रत्यक्ष संलग्नता देखिएको छ ।  बारा जीतपुरसिमरा उपमहानगरपालिका १९ घर भई हाल वडा नं. १ मा वर्कशप चलाउँदै आएका २७ वर्षीय पुरुषोत्तम दास र सोही ठाउँका २० वर्षीय ईन्द्रजीत चौहान । पक्राउ परेका अर्का एकजना भने राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारी हुन्।

तिवारी पीडित परिवारको किटानी जाहेरीका आधारमा पक्राउ परेको बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काको भनाइ छ । गोली हानेर मारिएका रुम्बाको शव तिवारीकै निजी कारभित्र फेला परेको थियो । बागमती प्र.०१–०२८च ७६१६ नम्बरको उक्त कार पुष ६ गते बिहान जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ११ आमाडारस्थित दुधौरा खोला नजिकको सडक छेउमा भेटिएको थियो । 

रुम्बाको शव तिवारीकै कारमा फेला परेपछि अनुसन्धानको दायरामा उनलाई पनि ल्याउनुपर्ने माग पीडित परिवारले गर्दै आएका थिए । एक साताको अनुसन्धानपछि प्रहरीले सार्वजनिक गरेको विवरणमा तिवारी भने दोषी देखिएका छैनन् । तर पक्राउ परेका तीनैजनालाई बारा जिल्ला अदालतले एक साता थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

प्रहरीले सार्वजनिक गरेको विवरणमा रुम्बाको हत्या गर्ने योजना एक महिनाअघि नै बनेको देखिएको छ ।  पक्राउ परेकामध्ये दासले रुम्बाको हत्या योजना बनाएको खुलेको छ । रुम्बा र दासबीच डेढ महिना अगाडि विवाद भएको थियो । उक्त विवादपछि आफूले रुम्बालाई मार्ने योजना बनाएको बयान दासले प्रहरीलाई दिएको प्रहरी उपरीक्षक खड्काले बताए । 

‘करिब डेढ महिना अगाडि रुम्बा र दासबीच विवाद भएको रहेछ । त्यही विवाद नै हत्याको कारण भएको हालसम्मको अनुसन्धानबाट खुलेको छ,'प्रहरी उपरीक्षक खड्काले भने, ‘त्यसबाहेकका अन्य कारण थप अनुसन्धानबाट खुल्न सक्छ ।’

जीतपुरसिमरा-१ स्थित हुलासमा जय माँ इन्जिनियरिङ वर्कशप सञ्चालन गर्दै आएका दासले रुम्बाको हत्या गर्न एक महिनाअघि भारतको मोतिहारीबाट १८ हजार नेपाली रुपैयाँमा पेस्तोल ल्याएका थिए । करिब डेढ महिनाअघिको विवादपछि रुम्बा र दासबीच बोलचाल थिएन । 

जीतपुरसिमरा उपमहानगरपालिका- १७ घर भएका रुम्बा जीतपुरसिमरा- १ मा पनि बस्दै आएका थिए । उनको दुई श्रीमती,एक छोरी र दुई छोरा छन् । घटनाको रात रुम्बा जीतपुरसिमरा- १ स्थित घर पुगिसकेका थिए । उनलाई दाससँगै पक्राउ परेका चौहानले राति ९ बजेपछि फोन गरेर बोलाए । जरुरी कामले कलैया जानुपर्ने भन्दै चौहानले दुई हजार भाडा तिर्ने सर्तमा कार ल्याउन आग्रह गरे । रुम्बाले अनुसन्धान अधिकृत तिवारीको कार यसअघि पनि भाडामा लैजाने गरेको खुलेको छ । 

चौहानको फोन सुरुमा रुम्बाका छोराले उठाए । चौहानले रुम्बालाई फोन दिन पटकपटक आग्रह गरे । लगातार फोन आएपछि घर पुगिसकेका रुम्बा कार लिएर आउन राजी भए । ‘सरले बोलाउनु भएको छ । कलैया गएर एक घण्टामै फर्कन्छु,'भन्दै रुम्बा घरबाट निस्किए ।  रुम्बा सिमरा विमानस्थल भित्र रहेको प्रहरी कार्यालयको सहयोगी पदमा कार्यरत थिए भने अनुसन्धान अधिकृत तिवारी विमानस्थल भित्रकै प्रहरी कार्यालयमा बस्ने गरेका थिए । रुम्बा र तिवारीबीच राम्रो सम्बन्ध थियो । 

रुम्बाले कारको साँचो माग्न आएपछि आफूले दिएर पठाएको बयान तिवारीले प्रहरीलाई दिएका छन् । रुम्बा कार लिएर चौहानले दिएको ‘लोकेसन’ अर्थात् जीतपुर पुगे । जीतपुरस्थित रातोपुलबाट चौहान गाडीमा चढे । दास पुलभन्दा अगाडि पैदल हिँडिरहेका थिए । 

रातोपुलबाट गाडी अगाडि बढिसकेपछि चौहानले पैदल हिँडिरहेका दासलाई पनि लैजान रुम्बासँग आग्रह गरे । रुम्बाले आफ्नो बोलचाल नभएको बताउँदै कारमा राख्न भने अनुमति दिए । पूर्वयोजना अनुसार दास पनि गाडिमा चढे । उनीहरु जीतपुरबाट बकुलिया हुँदै आमाडारतर्फ लागे । एकान्त ठाउँमा पुगेपछि चौहानले आफूलाई पिसाब लागेको भन्दै गाडी रोक्न आग्रह गरे । रुम्बाले गाडी रोकेपछि चौहान गाडीबाट ओर्लिए । त्यहीबेला कारको पछाडि सिटमा बसेका दासले रुम्बाको टाउकोमा गोली प्रहार गरे । 

गोली हानेलगत्तै रुम्बाले घाँटीमा लगाएको सिक्री र पर्स लिएर दास र चौहान फरार भए । घटनापछि दासले मोबाइलको सिम झिकेर दातले टुक्रा पारेर दुधौरा खोलामा फालिदिए । उक्त सिमबाट रुम्बालाई बाहेक अन्यलाई फोन नगरेको समेत अनुसन्धानमा खुलेको छ । घटनापछि उनीहरु खोलाको बाटो भाग्न थाले । भाग्ने क्रममा उनीहरुले बोकेको पेस्तोल खस्न पुग्यो । पेस्तोल खोज्न फर्किदा मोटरसाइकल आएको देखेपछि उनीहरू त्यहाँबाट भागे । 

घटनापछि दासले मोबाइल हरपुरमा लगेर जलाए । घटनाको प्रमाण नष्ट गरेर दास पुनः काममा फर्किए । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले पुस ११ गते दासलाई जीतपुरसिमरास्थित एक बैंकमा चेक साटन गएका बेला पक्राउ गर्यो । दासको खल्तीबाट रुम्बाले लगाएको सिक्री फेला परेको प्रहरीको भनाइ छ । 

दासको वर्कशपस्थित कोठामा रहेको ब्यागबाट रुम्बाको पर्स फेला परेको प्रहरी उपरीक्षक खड्काले बताएका छन् । दासको कोठा खानतलासी गर्न जाँदा स्थानीय जनप्रतिनिधिलाई नबोलाएको र नियोजितरुपमा फसाउन खोजिएको आरोप समेत प्रहरीलाई लागेको थियो । 

प्रहरीले भने आफूहरूले कसैलाई फसाउन नखोजेको र घटनाको अनुसन्धान गर्दै जाने क्रममा दासको संलग्नता देखिएको बताएको छ । दास पक्राउ परेपछि उनकै बयानका आधारमा चौहान पक्राउ परेका थिए । दुवैले घटनामा संलग्नता रहको बयान दिएको प्रहरी उपरीक्षक खड्काले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.