संविधान संशोधनमा अस्थिरताको खेल हुन सक्छ, परिस्थिति परिपक्व भएपछि अघि बढ्छौं : महासचिव पोखरेल
दाङ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरेर संविधान संशोधनको प्रक्रिया अघि बढाउने बताएका छन्। दाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले परिस्थिति परिपक्व नहुँदासम्म संविधान संशोधनको काम अघि बढ्न नसक्ने दाबी गरेका हुन्।
‘संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरेर अधिकतम सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने कांग्रेस–एमालेको तयारी सुरु भएको छ।’ महासचिव पोखरेलले भने, ‘संविधान संशोधनको मुद्दा झिकेर अस्थिरता पैदा गर्ने खेल हुन सक्छ। परिस्थिति परिपक्व नहुँदासम्म संविधान संशोधनको काम अघि बढ्न सक्दैन।’
तीन तहका सरकारको कामलाई प्रभावकारी बनाउने गरी संरचना सुधार, अधिकारमा स्पष्टता र कानुन सुधार गरेर जान सक्ने बारेमा समेत गृहकार्य गरिरहेको महासचिव पोखरेलले बताए। पोखरेलले निरासा चिर्दै समृद्ध मुलुकको संकल्प पूरा गर्ने दिशामा सरकार लागिपरेको बताए।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको वर्तमान सरकारले धेरै क्षेत्रमा सुधार गर्न सफल भएको उनको दाबी छ। पोखरेलले भने, ‘विगतमा धेरै सुधार भएको छ। राजश्व संकलन बढेको छ, पुँजीगत खर्च बढेको छ। दुई महिनाभित्र सबै भुक्तानीको दायित्व तिर्नुपर्ने बाटोमा सरकार जाँदै छ। मौद्रिक तरलतालाई व्यवस्थित गर्नुपर्ने छ।‘
सरकारले लगानीको वातावरण निर्माण गर्ने गरी भूमिका बढाएको बताए।‘अस्थिरताको हौवाबाट तर्सिनुपर्ने अवस्था छैन। सरकारमा रहेका दुई दल चुनौतीको सामना गर्ने गरी गतिलो गृहकार्य गरेर अघि बढेका छन्।’, उनले भने, ‘संकट समाधान गर्न सरकार संवेदनशील छ।’