हिउँले ढाक्यो गोरखाको साम्दो गाउँ
गोरखा : सुदूर उत्तरी गोरखाको साम्दो गाउँ यतिबेला सेताम्य छ । ४५ घरधुरी रहेको साम्दो विगत केहीदिनदेखि हिउँले ढाकिएको अजय गुरुङले जानकारी दिए । हिउँ परेपछि जनजीवन सामान्य रहेको उनले बताए । ‘शनिबार र आइतबार परेको हिउँले गाउँ ढपक्क ढाकिएको छ । आजचाहिँ मौसम सफा छ’,लार्केपास गर्ने पर्यटकको पथप्रदर्शकका रुपमा साम्दो पुगेका उनले भने,‘गाउँलेहरू जाडो छल्न तल्लो भेग झरिरहेका रहेछन् । गाउँमा रहेकाहरू पनि नियमित काममा व्यस्त देखिन्छन् । होटलहरू प्राय बन्द छन् ।'
अफसिजनमा ट्रेकिङ गर्ने विदेशी पर्यटक फाट्टफुट्ट हिँडिरहेका उनले बताए । सदरमुकामबाट ५५ कोश टाढा रहेको साम्दो तिब्बती सीमा नजिक रहेको गोरखाको अन्तिम गाउँ हो ।