स्याङ्जा अस्पतालको शिशु सघन उपचार कक्षले ल्याएको खुशी
स्याङ्जा : कम तौल र श्वासप्रश्वासमा समेत समस्या रहेका स्याङ्जाका एक नवजात शिशु महिना दिन नपुग्दै २ सय ग्राम तौल वृद्धि गरी घर फर्किएका छन्। अस्पताल आउँदै गर्दा गाडीमा जन्मेका। जन्मँदै १५ सय ग्राम तौल। श्वासप्रश्वासमा पनि समस्या भएका ती नवजात शिशु स्वास्थ्यलाभ गरी घर फर्केका हुन।
पुतलीबजार नगरपालिका ३ स्थित जिल्ला अस्पताल स्याङ्जामा रहेको शिशु सघन उपचारकक्ष (एनआईसीयू) मा राखेर उपचार गरेरपछि ४ दिनअघि अभिभावकसँगै घर फर्किएका छन्। ‘यहाँ आए लगत्तै २९ दिनसम्म शिशुलाई राखियो। बालरोग विशेषज्ञ सहितको चिकित्सकको टोलीले रेखदेख गरिरहनुभयो। त्यति बेलासम्म शिशुको तौल २ सय ग्रामले बढ्यो। श्वास प्रश्वास सहज बन्यो। आवश्यकता अनुरूपको अक्सिजन पनि पुगेको भन्ने चिकित्सकका सल्लाह बमोजिम घर पठाएका छौं’, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर गोदारले भने।
अध्यक्ष गोदारका अनुसार अस्पतालले करिब डेढ वर्षअघिदेखि शिशु सघन उपचार कक्ष स्थापना गरेको हो। पहिले उपचार कक्ष नहुँदा पोखरा पठाउनु पर्ने बाध्यता थियो। शिशु सघन कक्षमा नवजात शिशुलाई २८ दिनसम्म राखिन्छ। शिशु सघन कक्षमा रहेको १० दिनपछि आमाले अंगालोमा भर्दै आमाको मायाबाट पनि उपचार गरिने चिकित्सकको भनाइ छ। जन्मेकै दिन यहाँ आउँदा शिशुको मुटुले पम्प गर्न ढिलाई गरेको, श्वास फेर्न गाह्रो भएको र शिशुमा अक्सिजनको मात्रा पनि निकै कम रहेको अस्पताल प्रमुख डा. सुशिल मरासिनीले जानकारी दिए।
अस्पतालमा शिशु सघन उपचारसेवा दिन थालेपछि अहिलेसम्म ३० जना शिशुले यसरी नै उपचार पाएका छन्। ती मध्ये ४ जना जतिलाई पोखरा पनि रिफर गरिएको नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. बिनोद गैह्रेले जानकारी दिए।
शिशु तथा बालरोग सघन उपचार सेवा सुरु भएसँगै स्याङ्जाबाट उपचारका लागि पोखरा, काठमाडौं जस्ता ठूला तथा सम्पन्न अस्पताल जान नपर्नेगरी सेवा दिइने डा. मरासिनीको भनाइ छन्। पछिल्लो समय अस्पतालले स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गरेसँगै स्वास्थ्योपचारका लागि यहाँ आउने सर्वसाधारणको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ।
२०५७ सालमा स्थापित जिल्ला अस्पतालमा विभिन्न विशेषज्ञ सेवा, डायलायसिस लगायत सामान्य तथा जटिल प्रकारका शल्यक्रिया सहितका स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।