उत्तरगयामा श्राद्ध गर्नेको भिड
रसुवा : पवित्र तीर्थस्थल त्रिशूली र बेत्रगंगा नदीको संगमस्थल उत्तरगयामा श्राद्ध गर्नेको भिड लागेको छ। धार्मिक एवं ऐतिहासिक क्षेत्रमा आज पौसे औँसीको दिन श्राद्ध गर्ने हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूले यस क्षेत्रमा आएर श्राद्ध गरेका छन्। सोमबार परेकाले नबोलीकन नुहाउने तथा पूजा गर्ने राति १ बजेदेखि यात्रु आएको स्थानीय गणेश श्रेष्ठले बताए।
पितृ तीर्थ धामका नामले प्रसिद्ध रसुवाको प्रसिद्ध उत्तरगयाधाममा क्षेत्रमा हजारौं भक्तजनले पितृको सम्झनामा हजारौं भक्तजनले श्राद्ध गरेका छन्। यसवर्ष उत्तरगया गाउँपालिका, विदुर नगरपालिका र उत्तरगया क्षेत्र विकास कोषले निःशुल्क खानाको व्यवस्था गरेका थिए। यसपटक सोमबार परेकाले विशेष महत्वका रूपमा लिइएको छ।
यसअघि २०३६ पौष ९, २०५७ पौष १० र २०७४ पौष ३ गते सोमबार परेको गुरु पुरोहित रमेश कुमार पौडेलले बताए। प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्शन एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानदेखि र रसुवाको संगमस्थल बेत्रावतीस्थित उत्तरगयाधाममा हजारौं भक्तजनको भीड लाग्ने गर्दछ।
प्रत्येक वर्ष चान्द्रमासअनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्शन एवं तीर्थ वा गया श्राद्ध गर्न देशका विभिन्न भागबाट नुवाकोट र रसुवाको संगमस्थित बेत्रावती लगायत तीर्थस्थलमा विधिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ। गयालगायत तीर्थमा गरिने श्राद्ध भएकाले आज गरिने श्राद्धलाई गया श्राद्ध पनि भनिन्छ।
आज दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ। पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध गर्ने परम्परा छ।
बिहान सबेरैदेखि पुसको चिसोमा नदिको चिसो पानीमा नुहाएर पितृहरूको नाममा श्राद्ध गर्नेहरूको भिड लागेको थियो। हिजो र आज दुवै दिन औँसी परेकोले दुवै दिन श्राद्ध गर्नेको उत्तरगयामा भिड थियो। हिन्दू धर्मावलम्बीहरुले आफ्ना परम्परा धान्न उत्तरगयामा आएर श्राद्ध गरी मोक्ष प्राप्ति गरेको बताए। नुवाकोट र रसुवाको सिमानामा रहेको बेत्रावतीको उत्तरगयामा ३० हजारभन्दा बढी भक्तजनहरूले श्राद्ध गरेका स्थानीय उत्तम घलेले बताए।
उत्तरगया क्षेत्रमा आएर बर्सेनि हजारौं भक्तजनहरूले परलोक भएका आफ्ना आफन्त तथा बाबु आमाको नाममा श्राद्ध, दान, तर्पण गर्ने गर्छन्। तप्त नदी अर्थात उत्तरगया क्षेत्रमा आएर श्राद्ध गरेमा २० पुस्ता अघिका पितृहरू मोक्ष प्राप्ति भई स्वर्ग जाने जन विश्वास रहिआएकाले पनि यहाँ टाढा टाढाबाट भक्तजनहरू आई श्राद्ध गरेका छन्। उत्तरगयामा क्षेत्रमा टाढा टाढादेखि श्राद्ध गर्न आएका भक्तजनहरूको ठूलो भिड लागेको थियो।
उत्तरगया क्षेत्रको नामले चिनिने बेत्रावतीमा पौषकृष्ण औंशीका दिन पितृहरूलाई पिण्ड दिएर श्राद्ध गर्नाले सबै पितृहरू मोक्ष हुन्छन् भन्ने विश्वासका साथ मानिसहरूको यहाँ श्राद्ध गर्ने भीड लागेको हो। भारत वर्षका चार गया मध्ये भारतमा तीन गया छन् भने नेपालमा रहेको एक मात्र गया उत्तरगया हो।
हालको बेत्रावती क्षेत्रलाई उत्तरगया भनेर यहाँ पितृको नाममा हिन्दू धर्मालम्वीहरूले श्राद्ध, दान, तर्पण गर्ने गर्छन् भने बौद्धमाग्रीहरूले मृत्यु भएका आफ्ना आफन्तका नाममा लामाहरूले पनि मन्त्र पढ्ने र बत्ति बाल्ने गर्छन्। पुस्तौदेखिका पितृहरुको संझनामा पिण्डदान गरेर फर्केका कटुन्जेका दिवाकर न्यौपानेले बताए। धार्मिक किंवदन्ती अनुसार सत्ययुगमा देवता र दानवले समुद्र मन्थन गर्दा निस्केको कालकुट विषले संसार भष्म पार्न लागेपछि भगवान महादेवले कालकुट नामक विष पिएर विषको डाहा मार्न यही ठाउँमा लौरोले खोस्री तप्त नदी उत्पन्न गराई सो नदीको पानीले शीतलता पाई उत्तरापन्थ गोसाइँकुण्ड गएको विश्वास गरिन्छ।