प्रत्यक्ष निर्वाचन प्रणालीबाट राष्ट्रपति बनाउनुपर्छ : प्रचण्ड
झापा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पलाल दाहाल (प्रचण्ड)ले भ्रष्टाचार र बेतिथि रोक्न प्रत्यक्ष निर्वाचन प्रणालीबाट राष्ट्रपति बनाउनुपर्ने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापाको गौरीगञ्ज गाउँपालिकामा सोमबार आयोजित खबरदारी सभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सङ्घीय लोकतान्त्रिक र गणतन्त्र नै मुख्य राजनीतिक व्यवस्था हो भने शासकीय स्वरूप निर्वाचन प्रणाली अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भए मात्र मुलुकमा स्थिरता र सुशासन कायम रहन सक्नेमा जोड दिए।
प्रचण्डले भने, 'प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भएलगतै भ्रष्टाचार र बेतिथिको मुहान पुरिन सक्छ। किनकि राष्ट्रपतिको चुनाव जित्नलाई पैसा खर्च गरेर हुँदैन। तीन करोड नेपालीलाई कसैले पनि पैसा बाँड्न सक्दैन। जनताको भोटबाट जित्ने राष्ट्रपतिले कुनै सांसदलाई मन्त्री बनाइराख्नु पर्दैन।'
पैसा हुनेले चुनाव जित्ने। पैसा नहुनेले चुनाव हेर्नै नसक्ने यो चुनावी प्रणालीलाई खारेज गर्नुपर्ने उनको भनाइ छ। ‘देशमा जनसङ्ख्याको अनुपातमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली भयो भने सबै क्षेत्रका मानिसले समान अधिकार पाउन सक्छन्,’ उनले थपे।