सहमति अनुसार सरकार चलेको छः डा. महत
नुवाकोट : नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले देशलाई निकास दिन दुई ठूला दलहरूबीच भएको सहमति अनुसार सरकार चलेको दाबी गरेका छन्। उनले सरकारले कांग्रेस र एमालेको साझा भावना अनुसार कार्य गरिरहेको समेत बताए।
नुवाकोटको पन्चकन्यास्थित घ्याङस्वारामा तरुण दलले आयोजना गरेको कार्यक्रममा नेता डा. महतले देशलाई विधि र नीति अनुसार सञ्चालन गर्न भएको दुई दलीय सहमति अनुसार सरकार क्रियाशील रहेको र सरकारलाई साथ दिन नेपाली कांग्रेस अडिग रहेको बताएका छन्। डा. महतले सरकार विरोधी शक्तिहरू सल्बलाउन थालेका कारण यसको निरुपण जरुरी रहेको समेत बताए।
देशमा भएका समस्या समाधान गरेर अगाडि बढ्न कांग्रेस र एमालेबीच सहमति भएको उल्लेख गर्दै सो सहमति आगामी निर्वाचनसम्मै जाने बताए। सहमति अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको समयावधि पुगेपछि कांग्रेसले सरकारको नेतृत्व गर्नेसमेत प्रवक्ता महतले बताए। ओलीपछि देशको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने महतको भनाइ छ। दुई दल प्रस्ट छौं, ‘कोही कसैले केही कुरामा भाँजो हाल्न थालेका छन्। तर, हामी दुई दल देशलाई सत्मार्गमा लैजान केन्द्रित छौं,’ डा. महतले अगाडि भने।
डा.महतले ‘नेपाली कांग्रेसको एक सय दिने कार्यक्रम’ अन्तर्गत आयोजित कार्यक्रममा पार्टी स्थापना गर्ने संस्थापक नेताहरूको त्याग र योगदानबाट सिर्जित विधि र नीतिले मुलुकको विश्वासिलो र भरपर्दो पार्टीको छवि कायम राख्न कांग्रेस सफल हुँदै आएको बताए।