शिक्षालाई श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्छ : उपराष्ट्रपति
काठमाडौं : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षालाई साक्षरतामा मात्रै सीमित नराखी यसलाई श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने बताएका छन्।
उपराष्ट्रपति यादवले सोमबार उदयपुर चौदण्डीगढी नगरपालिका-८ स्थित सरस्वती मावि सावाको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्। उनले पछिल्लो समय बदलिँदो विश्व परिवेश र प्रविधि युग अनुरुप शिक्षा प्रणाली, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण विधि र शिक्षण सिकाइ क्रियाकलाप आदि परिस्कृत र परिमार्जित गर्दै व्यवहारिक बनाउन उत्तिकै आवश्यक रहेको समेत उल्लेख गरे।
उपराष्ट्रपति यादवले समाजमा सबैमा समानताको भावना जागृत गर्न एवं देशको विकास र समृद्धिमा सहयोग गर्न पनि शिक्षालाई आजको आवश्यताअनुसार परिमार्जन गर्दै लैजानु पर्नेमा जोड दिए। शिक्षा भनेको समाजको आधारभूत स्तम्भ भएको बताउँदै उनले शिक्षाले मानिसलाई आत्मनिर्भर, सशक्त र सचेत नागरिक बनाउने बताए।
उपराष्ट्रपति यादवले दुर्गममा भएर पनि सरस्वती माविले शिक्षाको महत्वपूर्ण उद्देश्यहरूलाई आत्मसात गर्दै गुणस्तरीय शिक्षाको प्रवर्धन गर्नमा सहयोगी भूमिका निर्वाह गरिरहेकोमा विद्यालयको प्रशंसासमेत गरे।