गाउँ रित्तिँदै जाँदा
७० वर्षीया पञ्चा टमटालाई उपचार गर्न महिलाले बाँसको स्ट्रेचरमा बोकेको लैजाँदै गरेको तस्बिर वास्तवमा कर्णालीको दुर्गम गाउँको दृश्यमात्रै होइन, अहिले नेपालका गाउँगाउँको सचित्र पनि हो । कि गाउँमा युवा छैनन्, पुरुष पनि छैनन् । भरअभरको सबै काम महिलाकै काँधमा छ । युवा जति बिदेसिएका छन्, पुरुष पनि बिदेसिएका छन् । घर धान्नेमात्रै होइन, गाउँ धान्ने पनि महिला नै छन् । गाउँहरू रित्तिँदै रित्तिँदै गएका छन् । सुनसान बन्दैछन् । यसको प्रमुख कारण रोजगारी, शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताको अभाव हो । गाउँका खेतबारी बाँझा छन् । खेतीपाती गर्ने पाखुरी नहुनुमात्रै खेतबारी बाँझिनुको कारण होइन । गाउँमा खेती गर्न मलजलको अभाव छ । बिउको अभाव छ । सिँचाइको अभाव छ । अनि उत्पादन भइसकेपछिको चिजको पनि बजार अभाव छ । तब कोही किन गाउँमा बस्छ वा गाउँमा बसेर केही गर्छ ?
पञ्चायतको उत्तराद्र्ध र बहुदल पुनर्बहालीपछि सरकारले जिल्ला सदरमुकामहरूसम्म सडक सञ्जाल पु¥याउने लक्ष्य राख्थ्यो । अहिले पनि पालिकाहरू हातका औंलामा गन्न सकिनेमा छन्, जहाँ सडक सञ्जाल पुगेको छैन । गाउँगाउँमा मोटरबाटो पुगिसक्यो । हिँडेर र हिँडाइमै जिन्दगीको महŒवपूर्ण समय खेर फाल्नुपर्ने जमाना गएको छ । तर, खुट्टाले ‘हिँड्न’ नपरे पनि ती मोटरबाटोले मानिसलाई गाउँबाट हिँडाएको छ । सहर पु¥याएको छ । सहरबाट विदेश पु¥याएको छ । गाउँगाउँमा पुगेका मोटर चढेर मानिसहरू बसाइँ सरेका छन् । गाउँ रित्तिएका छन् । गाउँको उत्पादन बजार ल्याउने होइन कि मानिसलाई नै अन्त लैजाने माध्यम सडक बनिरहेको छ । त्यो कर्णालीका हरेकजसो जिल्ला सदरमुकामबाट छुट्ने बसहरूमा देखिने दृश्यले बताउँछ कि हरेक दिन युवा विदेश पलायन भइरहेका छन् । गाउँ खाली हुँदा खेतीयोग्य जमिन बाँझो भएको छ । पशुपालन लोप हुँदैछ । गाउँका पुराना घरहरू सुनसान छन् । सामाजिक समारोह र चाडपर्वमा चहलपहल हराउँदै गएको छ । गाउँ समाजलाई जोड्ने सांस्कृतिक र सामाजिक तन्तुहरू क्रमशः कमजोर हुँदैछन् । आर्थिक समस्याले सामाजिक र सामाजिक समस्याले आर्थिक समस्या निम्त्यारहेको छ ।
सडक पुगेका गाउँमा पनि अझै खानेपानीको प्रबन्ध राम्रो छैन । बसाइँसराइको प्रमुख एउटा कारण खानेपानीको अभाव छ धेरैतिर । आकासेपानीकै भरमा गुजारा गर्नुपर्ने, रेक्चाजस्ता ठाउँका गाउँहरूमा बसाइँसराइको लहरले जनजीवन अस्तव्यस्त छ । सरकारले गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने, गाउँलेलाई उद्यमशील बनाउने, कृषिमा व्यवसायीकरण गर्ने योजना र कार्यक्रम नभएसम्म गाउँमा मानिस अडिन्नन् । गाउँ रित्तिनु राष्ट्रिय चिन्ताको विषय हो । सडक पूर्वाधारसँगै शैक्षिक र स्वास्थ्यका भरपर्दा पूर्वाधारमा सरकारले ध्यान दिनुपर्छ । र, सबैभन्दा गाउँमै आम्दानीका उपायहरूको विकल्प दिनुपर्छ ।