उच्च शिक्षामा छोरीहरू अब्बल
काठमाडौं : कुनै समय छोरीलाई शिक्षाबाट बञ्चित गरिन्थ्यो। तर, अहिले समय बदलिएको छ। छोरा र छोरीलाई समान शिक्षा दिन थालिएसँगै छोरीहरूले उत्कृष्ट उपलब्धि हासिल गरेका छन्। यसको जल्दोबल्दो उदाहरण हो : त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोह, जहाँ विभिन्न तहका २२ विद्यार्थीको स्वर्ण पदकको सूचीमा १७ जना छात्रा पर्नु हो।
दीक्षान्तमा २०८० असार १ देखि २०८१ जेठ मसान्तसम्म ट्रान्सक्रिप्ट लिई ६२औं ग्रेस लिस्टमा समावेश भएका ७४ हजार १ सय ४९ विद्यार्थीमध्ये १४,३०८ जना स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहमा विद्यार्थी दीक्षित हुनुका साथै विभिन्न विधामा सर्वोत्कृष्ट विद्यार्थीहरू विभिन्न पदक तथा पुरस्कारबाट विभूषित भए। हजारौंको भीडबाट १७ छोरी स्वर्ण पदकबाट विभूषित भए।
यसमध्यकी एक हुन्, सहिद स्मृति बहुमुखी क्याम्पस चितवनको शिक्षा संकाय स्नातकोत्तरकी सीताकुमारी श्रेष्ठ। जसले त्रिभुवन विश्वविद्यालयमध्यकै एमएड तहमा महिलाहरूमध्ये सर्वप्रथम अर्थात् सबैभन्दा बढी जीपीए ३.४५ ल्याएर त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट शिल्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार हाँसिल गरिन्। आईएसी र बिएस्सी अध्ययन गरेकी उनी २०७३ सालमा सतुरमुखी मावि, चितवनमै शिक्षकमा नाम निकालेपछि उनले एमएड पढ्ने निधो गरेकी थिइन्। पढ्न सुरु गरेको पहिलो सेमेस्टरमै श्रीमान्को मृत्यु भयो। नाबालक छोराको जिम्मेवारी, शिक्षक पेसाका साथ एकल जीवन बिताएकी उनले पढाइलाई निरन्तरता दिएर जीवनमा अब्बल बनेरै छाड्ने दृढ संकल्पका कारण आज उनले यो सफलता हासिल गर्न सम्भव भएको सुनाउँछिन्।
उनी भन्छिन्, ‘एमएडको पहिलो सेमेस्टर पढ्दै गर्दा श्रीमान्को निधनले बज्रपात पर्यो। छोरो सानै छ। अहिले ८ कक्षामा पढ्छ। घरको साथ छैन, माइतीको साथ छ। अझ सहायक प्रधानाध्यापकको जिम्मेवारी निभाउँदै अध्ययन गर्दा थुप्रै चुनौती खेप्नुपर्यो। यसका बाबजुद आज यो सफलता हासिल गर्न सकेँ।’ भविष्यमा एक अब्बल शिक्षक भएर अरूको प्रेरणा बन्ने नै उनको लक्ष्य छ। अर्थशास्त्रमा स्नातकोत्तर उत्कृष्ट भएकी श्रीज्या काफ्लेले दुई स्वर्णपदक तारापद चौधरी पदक र खगेन्द्रमान सिंह प्रधान पदकका साथमा चन्द्रराज ढुंगेल स्मृति पुरस्कार पाउन सफल भएकी छन्।
पढाइलाई पहिलो प्राथमिकता दिने र बुझेर मात्रै पढेर भ्याउने उनको स्वभावले यो सफलता सम्भव भएको उनको भनाइ छ। दोलखाकी श्रीज्या हालः भक्तपुर बसे पनि अब भने पीएचडीका लागि विदेश अध्ययन गर्न पूर्वतयारी गरिरहेकी छन्। जसका लागि उनले हालसालै नेपाल उद्योग परिसंघ (सीएनआई)को अनुसन्धानको जागिर छोडेर अन्तर्राष्ट्रिय स्तरमा ‘हेल्थ इकोनोमी’मा पीएचडी हासिल गर्ने सोच बनाएकी बताउँछिन्। तर, उनी विदेश अध्ययनमा गए पनि पढाइ सकेर स्वदेशमै फर्किने र एउटा अब्बल अर्थशास्त्री बन्ने लक्ष्य लिएकी छिन्।
‘मलाई विदेश गएर बस्ने रहर छैन। नोपलमा भन्दा पनि अन्तर्राष्ट्रिय स्तरको अध्ययन कस्तो छ ? कुन तहसम्म एक्स्पोजर हुन्छ भनेरै जान खोजेको हुँ। अध्ययन सकिएपछि नेपालमै फर्किन्छु। यहीं अब्बल अर्थशास्त्री बन्न मन छ,’ काफ्लेले अन्नपूर्णसँग भनिन्। पछिल्लो समय अधिकांश कलेजहरूमा पत्रकारिता अध्ययन गर्ने विद्यार्थीको संख्या पातलिँदै गए पनि यसमै भविष्य खोज्नेहरूले भने अध्ययनलाई पूर्णता दिँदै आएका छन्। अझ पत्रकारिता तथा आमसञ्चार विभागमा उत्कृष्ट (टपर) महिला अघि छन्।
एसको उदाहरण पात्र हुन् : शनिबारको दीक्षान्त समारोहमा पत्रकारिता स्नातकोत्तरबाट स्वर्ण पदक हासिल गर्न सफल छात्रा चेतना कुँवर। काभ्रे घर भएकी कुँवरले तत्कालीनको एसएलसीदेखि नै टपर हुँदै आएको र स्नातकोत्तरमा पनि औसत जीपीए ३.६८ प्राप्त गरेकी हुन्।
तर, उनीभन्दा २ अंक बढी ल्याउने साथीले टियुको नियमअनुसार चौथो सेमेस्टरको अन्तिम परिणाम आएको ३ महिनाभित्र थेसिस पूरा नगरेकाले यो अवसर गुमाएकाले कुँवरले उक्त स्वर्ण पदक हात पार्न सफल भएकी हुन्। उनी भन्छिन्, ‘मैले थेसिस समयमै गरेँ। चौथो सेमेस्टर सकिएको ३ महिनामै थेसिस पनि सकिएर रिजल्ट आइसकेकाले सुरुमै समिट गरेकाले गोल्ड मेडल पाएँ।’अहिले मिडियामा भविष्य छैन भन्ने भाष्य पैदा गरिएको वास्तवमा यो क्षेत्रमा धेरै अवसर भएको उनको तर्क छ। ‘सानैदेखि रेडियो, टेलीभिजनमा बोल्ने सोच राखेकाले पत्रकारिता अध्ययन गरेकी हुँ। इन्टर्नबाट सेन्टर फर मिडिया रिसर्च नेपाल (सीएमआर)मा प्रवेश गरेकाले पनि पत्रकारितामै स्नातकोत्तर गरेँ। हाल नेपाल फ्याक्ट चेकमा सहायक सम्पादक छु,’ उनले भनिन्। हाल उनले काठमाडौं विश्वविद्यालयबाट पीएचडी सुरु गरेको १ वर्ष पनि बितिसकेको छ।
नेपालमा भविष्य छैन भन्नेहरूलाई उनी भन्छिन्, ‘महत्वकांक्षी बढी भएकाले नेपालमा भविष्य नदेखेका हुन्। मसँगै पढेका साथीहरूले मिडिया सञ्चालन गरेर राम्रो कमाइ गरेका छन्। यसर्थ परि श्रम गर्ने र पेसालाई महत्व दिने हो भने नेपालमा पत्रकारिताको भविष्य छ।’शंकरदेव क्याम्पसबाट बीबीएमा सबैभन्दा बढी जीपीए ३.९९ प्राप्त गरेकी आकृति झाले गोल्ड मेडल हासिल गरेकी छन्। उनले अध्ययनमा उत्कृष्ट भएसँगै भाइस च्याम्सेलर्स पदक र भाइस सत्यमान स्वर्ण पदक प्राप्त गरिन्। परिवारकै कारण उनी अध्ययनमा अब्बल हुन सकेको बताउँछिन्। ‘अझ आफ्नै दिदी पोखरा विश्वविद्यालयबाट गोल्ड मेडल पाएकाले बढी प्रेरणा मिलेको हो,’ उनले भनिन्।
काठमाडौंमै जन्मेकी उनी अबको अध्ययन राम्रो अवसर अर्थात् छात्रवृद्धि पाएको खण्डमा विदेशमै अध्ययन गर्ने सोचमा छिन्। उनी भन्छिन्, ‘स्वदेशको पढाइ मात्रै नभई अन्तर्राष्ट्रिय अध्ययनले पनि झन एक्सप्लोजर गर्छ भनेर जान खोजेकी हुँ। अहिले पनि टुर एन्ड ट्राभल्समा काम गरिरहेको छु। विदेश गए भने पनि पछि नेपालै फर्किने सोच छ।’
छोरीहरू अध्ययनमा अब्बल हुनुको कारण औंल्याउँदै त्रिभुवन विश्वविद्यालयका रेक्टर खड्ग केसी पहिला छोरीहरूलाई पढ्ने अवसर नपाएकाले प्रतिस्पर्धा गर्न नपाएको र समय अनुकूल समाज परिवर्तन भएसँगै उच्च तहसम्म अहिले पढ्ने मौका पाएकाले पनि स्वर्ण पदकमा महिला अधिक भएको बताउँछन्। ‘विदेशमा जस्तो काम गर्दै पढ्नुपर्ने बाध्यता कम छ। स्वतन्त्र भएर पढ्न पाएकाले पनि उत्कृष्ट नम्बर ल्याएका छन्,’ रेक्टर केसीले अन्नपूर्णसँग भने, ‘हुनत: छोरीहरू बढी इमान्दार र मिहिनत पनि हुन्छन्। अझ पछिल्लो समय धेरै छोराहरू बिदेसिएकाले कक्षा कोठामा पनि छोरकिो संख्या अधिक छ। यसमध्ये पनि जेहेन्दार छात्रा अघि आएका हुन्। अहिले नै २२ मा १७ जना महिला स्वर्ण पदक पाउनु उदाहरणीय हो।’
यस्तै, टियूका प्रा.डा. नन्दबहादुर सिंह उच्च शिक्षामा महिलाको पहुँचसँगै उत्कृष्टता बढेको बताउँछन्। छोरीलाई पढाउनु हुँदैन भन्ने पुराना धारणा अन्त्य भइसकेको र समान व्यवहार हुन थालेको उनको भनाइ छ। मुलुकको कुल जनसंख्याको ५२ प्रतिशत महिला भएकाले पनि अध्ययनसँगै हरेक क्षेत्रमा महिलालाई आधा हिस्सा दिनुपर्ने उनको तर्क छ।
संकायअनुसार दीक्षितको संख्या
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा आयोजित दीक्षान्त समारोहमा व्यवस्थापन संकायका ३१,०९०, मानविकी तथा सामाजिक शास्त्र संकायका १३,६२३, कानुन संकायका ३,०८६, शिक्षाशास्त्र संकायका ११,३१७, इन्जिनियरिङ अध्ययन संस्थानका ५,३०४ कृषि र पशुविज्ञान अध्ययन संस्थानका ६४८, वनविज्ञान अध्ययन संस्थानका ३०४ र विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ७,००७ विद्यार्थी दीक्षित भएका छन्।