तेक्वान्दो च्याम्पियनसिपमा अस्मिता उत्कृष्ट निर्णायक
काठमाडौं : नेपालकी अस्मिता खड्का चीनमा भएको एसियन आमन्त्रण तथा नवौं मानसान तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट निर्णायक घोषित भएकी छन् । यही डिसेम्बर २८ देखि ३० तारिखसम्म आयोजना भएको च्याम्पियनसिपमा नेपालबाट अस्मितामात्रै निर्णायकमा सहभागी भएकी थिइन् ।
१३ औं दक्षिण एसियाली खेलकुदकी कांस्य पदक विजेतासमेत रहेकी अस्मिताले गत जुनमा मलेसियामा सञ्चालन भएको रेफ्री कोर्स उत्तीर्ण गरेकी थिइन् ।
चीनको नान्जिङमा भएको च्याम्पियनसिपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमा चार स्वर्ण, एक रजत र एक कांस्य पदक जित्न सफल भएको छ । पुम्सेको पुरुष ३० वर्षमाथिको उमेर समूहमा चन्द्र राना मगरले स्वर्ण जितेका हुन् । यस्तै ग्योरोगीको ८० केजीमुनिको तौल समूहमा भीमबहादुर खड्का, ह्यान्ड ब्रेकिङमा नन्दराज बाँस्कोटा, १४ वर्षमुनिको पुम्सेमा निरोशा रानाले स्वर्ण जिते ।
यस्तै ग्योरोगीको सिनियर महिला ४९ केजीमुनि वर्षा थापाले रजत र जुनियर ५२ केजीमुनि निरोशा रानाले कांस्य जितेका छन् । नेपाली टोलीको प्रशिक्षकको भूमिका भने विकेश बिडारीले निर्वाह गरेका थिए । विकेश विश्व तेक्वान्दोको लेभल टु प्रशिक्षक हुन् । उनले विश्व तेक्वान्दोले गत जुलाई १५ देखि २१ तारिखसम्म सञ्चालन गरेको ‘अनलाइन लेभल टु कोचेज कोर्स’ उतीर्ण गरेका थिए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कुशल प्रशिक्षकको छवि बनाएका विकेश अन्तर्राष्ट्रिय निर्णायक पनि हुन् । विकेशले पछिल्लो समय अल्टिमेट तेक्वान्दो डोजाङसँगै विभिन्न विदालयमा प्रशिक्षण गराउँदै आएका छन् ।