२०२४ उतारचढावमा विश्व

२०२४ उतारचढावमा विश्व

काठमाडौं : आज मध्यरातदेखि नै सन् २०२४ को अन्त्य हुँदै छ। भोलिदेखि अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्न नेपालदेखि सिंगो विश्व नै लागिपरेको छ। विश्वमा २०२४ को असर विशेष रूपमा सामान्य नै रह्यो।

यो वर्ष चमात्कारिक घटना कमै भएका छन्। यद्यपि मध्यपूर्वी देशमा यो बीचमा युद्ध चर्कियो। यही वर्ष विश्वकै शक्तिशाली देश मानिएको अमेरिकाले नयाँ राष्ट्रपति पायो। २०२४ मा विश्वमा धेरै संकट देखिएको वर्ष पनि हो। गाजा क्षेत्र इजरायलको आक्रमणबाट पूर्णरूपमा ध्वस्तै जत्तिको छ। 

बंगलादेशमा हसिना अपदस्थ

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना आफ्नो शासनकालमा अपदस्थ भइन्। गत अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहमा भएको प्रदर्शनपछि हसिना हेलिकप्टरमार्फत छिमेकी देश भारत भागेकी हुन्। हसिना सरकारमाथि मानव अधिकार हनन्को आरोप तथा सयौंको गैरकानुनी अपहरण र बेपत्ता भएको आरोप लगाइएको थियो। हाल कार्यवाहक सरकारले गठन गरेको अनुसन्धान आयोगले हसिनाको निष्कासनपछि पाँच जनालाई गोप्य हिरासत केन्द्रबाट रिहा गरिएको तर अझै धेरैको विवरण नआएको जनाएको छ। सेनाले अपहरण गरेका करिब दुई सय बंगलादेशीहरू अझै बेपत्ता रहेको भनिएको छ।

रुस–युक्रेन द्वन्द्व

२०२२ फेब्रुअरी २४ मा रुसको आक्रमणपछि युक्रेनले अगस्टमा रुसको कुस्र्क क्षेत्रमा आक्रमण गर्‍यो। कीएभको सेना विशेषगरी पूर्वी डोनबास क्षेत्रमा रुसी सेनाको स्थिर प्रगति रोक्न संघर्ष गरिरहेको छ। नोभेम्बरमा युक्रेनले अमेरिका र बेलायतको स्वीकृति पाएपछि पहिलो पटक रुसी भूभागमा पश्चिमबाट आपूर्ति गरिएको लामो दूरीको क्षेप्यास्त्र प्रयोग गरेको थियो।

रुसले युक्रेनलाई आणविक वारहेडबिना हाइपरसोनिक ओरेसनिक मिसाइलले प्रहार गरेर जवाफ दियो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनीहरूलाई हतियार उपलब्ध गराउने देशहरूमा आक्रमण गर्ने धम्कीसमेत दिए।

मध्यपूर्वमा चर्किंदै गएको द्वन्द्व
सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमणबाट भएका घटनाहरू सन् २०२४ मा मध्यपूर्वमा झनै बढे। अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार इजरायलले गाजामा गरेको युद्धमा परी मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या अहिले ४५ हजार नाघेको छ। उत्तरी गाजामा भोकमरी नै फैलिएको छ। युनाइटेड नेसनले पछिल्लो समय खाद्यान्न वितरण गरिरहेका भिडियो र तस्बिर सञ्चारमाध्यममा देखिन्छन्।

इजरायलले हमासका शीर्ष नेताहरूको हत्या गर्‍यो। अप्रिलमा इजरायलले दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा बम प्रहार गरेपछि इरानले इजरायलमा मिसाइल र ड्रोन आक्रमण गरेको थियो। इजरायलले अमेरिका र पश्चिमी सहयोगका साथ आक्रमणलाई पराजित गर्‍यो। इजरायलले इरानको हवाई रक्षामा सीमित हवाई आक्रमण गरेर जवाफ दियो।

युरोपेली युद्धमा उत्तर कोरियाली सैनिक
यस वर्ष ११ हजारभन्दा बढी उत्तर कोरियाली सैनिकको तैनाथीले रुस–युक्रेन युद्धलाई वास्तवमै विश्वव्यापी संघर्षमा परिणत गर्‍यो। रुसको कुस्र्क प्रान्तमा युक्रेनी फौजलाई पछि धकेल्ने प्रयास गर्दै वर्षको अन्तिम साताहरूमा तिनीहरू युद्धमा होमिए। युक्रेन र अमेरिकी अधिकारीहरूका अनुसार सयौँ उत्तर कोरियाली सैनिक लडाइँमा मारिएका थिए भने घाइते पनि उत्तिकै भएका छन्।

सुडान गृहयुद्ध

सन् २०२४ मा पनि सुडानको गृहयुद्घ जारी रह्यो। सन् २०२३ अप्रिलमा सुडानमा सुरु भएको गृहयुद्धले अझै निकास पाउन सकेको छैन। बाहिरी अन्य देशको रुचिका कारण आफ्नै देशका दुई व्यक्तिहरू आरएसएफ र एसएएफबीचको द्वन्द्व नै सुडानको मुख्य समस्या हो। सत्ता प्राप्तिका लागि लडेका दुई व्यक्तिका कारण लडाइँले लडाइँ सुरु भएपछि सुडानी जनताले दुःख भोगेका छन्। सुडानको डार्फरमा अहिले अनिकाल घोषणा गरिएको छ। सुडानमा आन्तरिक युद्घ चर्किंदा करिब ५० हजार जनताको मृत्यु भइसकेको छ। सुडानमा करिब एक करोड मानिसलाई विस्थापित गरेको छ। 

अमेरिकामा फेरि उदाए ट्रम्प

२०२५ मा नयाँ राष्ट्रपति बन्ने तयारीमा रहेका डोनाल्ड ट्रम्पले एक पटक फेरि विश्वलाई चकित बनाएका छन्। उनले अमेरिकी डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस अर्थात् अहिलेकी उपराष्ट्रपति हराएर निर्वाचित भएका थिए। चुनावी अभियानबाट पछि हटेका राष्ट्रपति जो बाइडेनको स्थानमा उम्मेदवारी दिएकी ह्यारिसलाई ट्रम्पले पराजित गरेका हुन्। ट्रम्पलाई चुनावी अभियानकै क्रममा जुलाई १३, २०२४ मा पेन्सिलभेनिया पश्चिममा मेरिडियनमा एक चुनावी र्‍यालीमा गोली प्रहारबाट घाइते भएका थिए। ट्रम्पले सन् २०२५ जनवरी २० मा ह्वाइट हाउस जाने तयारीमा छन्।

जलवायु परिवर्तनमा देखिएको प्रकोप
मौसम लगातार तातो हुँदै गइरहेको छ। यसको असर नेपालका हिमालहरूमा पनि देखिएको छ। नेपालमा हिउँ तालहरू फुट्ने क्रम पनि बढेको छ। हिमालमा हिउँहरू पग्लिँदै पनि गएको छ। वैज्ञानिकहरूले दशकौंदेखि जीवाश्म इन्धनको हाम्रो लतले जलवायु परिवर्तन गर्ने चेतावनी दिँदै आएका छन्। तथ्यहरूले तिनीहरूलाई समर्थन पनि गरेको छ।

जलवायु विज्ञहरूका अनुसार वायुमण्डलमा कार्बनडाइअक्साइडको स्तर बढ्दै गएको भनिएको छ। सन् २०२४ रेकर्डमा सबैभन्दा तातो वर्षको रूपमा तल जानेछ। सन् २०२४ मा पहिलो पटक औसत विश्वव्यापी तापमान पूर्व–औद्योगिक समयको तुलनामा १.५ डिग्री सेल्सियस बढी थियो। बदलिँदो मौसमका केही परिणामहरू देखिएका छन्।

सन् २०२४ मा अमेरिकामा मौसमसम्बन्धी आएका प्राकृतिक विपत्तिले एक अर्ब डलरको क्षति भएको भनिएको छ। विश्वको सबैभन्दा ठूलो नदी अमेजनको केही अंश पनि सुक्दै गएको विज्ञहरूले खुलाएका छन्। अफ्रिकामा असामान्य रूपमा तीव्र वर्षाको मौसममा एक हजार पाँच सयभन्दा बढीको मृत्यु भएको छ। सेप्टेम्बरमा हेलेन नामको आँधी आयो। भर्खरै अजरबैजानमा सम्पन्न भएको जलवायुसम्बन्धी वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन कोप—२९ ले विकासशील देशहरूलाई उत्सर्जन कटौती र जलवायु अनुकूलनका लागि आर्थिक सहयोग गर्न आह्वान् पनि गरेको छ।

अन्तरिक्ष अन्वेषणमा नयाँ प्रयास
२०२४ मा अन्तरिक्ष अन्वेषणका केही महŒवपूर्ण काम भएका छन्। जापानले जनवरीमा चन्द्रमाको खाडलमा चन्द्रमाको अनुसन्धानका लागि स्मार्ट ल्यान्डर अवतरण गर्‍यो। र तीन महिनाको लागि पृथ्वीमा डेटा पठाएको थियो।

चीनले एउटा मिसन पठायो जसले चन्द्रमाको टाढाबाट माटोको नमुनाहरू फिर्ता ल्यायो। जापानको बोइङको स्टारलाइनर परियोजनाले जुनमा दुई अन्तरिक्ष यात्रीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा दुई महिनाको बसाइको लागि पुर्‍यायो। तथापि, प्राविधिक समस्याहरूले तिनीहरूलाई अर्को वसन्तसम्म फर्कनबाट रोक्ने भनिएको छ। 

भारतका पूर्वप्रधानमन्त्री सिंहको निधन
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ। ९२ वर्षीय सिंहको गत बिहीबार निधन भएको हो। स्वास्थ्यमा समस्या आएपछि उनलाई बिहीबारमात्रै अस्पताल भर्ना गरिएको थियो। सिंह सन् २००४ मा पहिलो पटक र सन् २००९ मा दोस्रोपटक भारतको प्रधानमन्त्री बनेका थिए। उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका सबैभन्दा प्रतिष्ठित नेतामध्ये एक डा. मनमोहन सिंहलाई भारतले गुमाएको मोदीले लेखेका छन्।

साधारण परिवारबाट माथि उठेर प्रतिष्ठित अर्थशास्त्री बनेका सिंह वित्तमन्त्रीसहित भारतका विभिन्न पदमा बसेर आर्थिक नीतिमा बलियो छाप छोडेको मोदीले लेखेका छन्। भारतको प्रधानमन्त्रीको रूपमा सिंहले भारतीय जनताको जीवन सुधारमा व्यापक प्रयास गरेको भन्दै मोदीले पूर्वप्रधानमन्त्री सिंहलाई स्मरण गरेका छन्।

दक्षिण कोरियामा विमान दुर्घटनामा १७९ को मृत्यु
दक्षिण कोरियामा १ सय ८१ यात्रु बोकेको एउटा जहाज दुर्घटना हुँदा १ सय ७९ जनाको ज्यान गएको छ। जेजु एअरको बोइङ ७३७ विमानमा १ सय ७५ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए। त्यसमध्ये विमानको भग्नावशेषबाट दुई जना चालक दलका सदस्यलाई घाइते अवस्थामा निकालेर अस्पताल पुर्‍याइएको छ। अन्य सबैको ज्यान गएको कोरियाली सञ्चारमाध्यमले पुष्टि गरेका छन्।

विमान थाइल्यान्डको बैंककबाट फर्किरहेको थियो र उक्त दुर्घटना अवतरणको समयमा भएको विवरण आएका छन्। देशको दक्षिण पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट घिस्रिएको उक्त विमान पर्खालमा ठोक्किएको थियो। जेजु एअरको व्यवस्थापनले विमानमा कुनै पनि प्रकारको प्राविधिक खराबी नरहेको जनाएको छ। 
जिम्मी कार्टरको निधन

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ। उनको २९ डिसेम्बरको दिन अमेरिकाको जर्जियामा १०० वर्षको उमेरमा निधन भएको हो। उनका छोराले कार्टरको निधन भएको सामाजिक सञ्जालमार्पmत पुष्टि गरेका छन्।

१ अक्टुबर १९२४ मा जन्मिएका उनी १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए। आर फोर्डलाई हराएर उनी अमेरिकाको ३९औं राष्ट्रपति बनेका थिए। मध्यपूर्वमा शान्ति स्थापनाका महत्व वपूर्ण भूमिका निभाएकाले उनले सन् २००२ मा नोबेल शान्ति पुरस्कार पनि पाएका थिए। कार्टर पदमा रहँदा वा नरहँदा पनि कार्टर सेन्टरको नामबाट शान्ति, मानवअधिकार, चुनाव पर्यवेक्षणलगायतका सेवामूलक क्षेत्रमा काम गर्दै आएका थिए। 

विश्व शरणार्थीको संख्या १२ करोड २० लाख नाघ्यो

संयुक्त राष्ट्रसंघीय उच्चायुक्त (यूएनएचसीआर) का अनुसार सन् २०२४ मा विश्वभर शरणार्थीको संख्या १२ करोड २० लाख नाघेको छ। जर्मनीमा यूएनएचसीआरका राष्ट्रिय निर्देशक पिटर रुहेनस्ट्रोथ–बाउरले शरणार्थीको तथ्यांकहरूलाई चिन्ताजनक रूपमा वर्णन गरेका छन्।

यूएनएचसीआरको जर्मन साझेदारको वार्षिक प्रतिवेदनले सन् २०२३ मा विश्वव्यापी शरणार्थी जनसंख्या ११ करोड ७४ लाख अनुमान गरिएको देखाएको छ। यो वृद्धि मुख्यतया सुडानमा गृहयुद्धको कारण हो। अप्रिल सन् २०२३ मा हिंसा बढेपछि १ करोड १८ लाखभन्दा बढी मानिस सुडानबाट भाग्न बाध्य भएको बयानमा उल्लेख छ।
(एजेन्सीको सहयोगमा)
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.