भोजपुर : वीर गोर्खालीको शान भन्नेबित्तिकै झट्ट दिमागमा आउँछ– भोजपुरे खुकुरी । यसले देश–विदेशमै ख्याति कमाएको छ । ब्रान्ड बनेको छ । त्यति मात्र होइन, विदेशी मुद्रा आर्जनको राम्रो स्रोत पनि बनेको छ ।
तर, देशकै चिनारी बनेको भोजपुरे खुकुरी दक्ष कालिगढ र कच्चापदार्थ अभावमा संकटमा छ । भोजपुरे खुकुरीको माग बढदो छ । तर, उत्पादन छैन । भोजपुर सदरमुकाम, कोट, दलगाउँ, गोगने, खावा, खैराङ, टक्सार, बोखिम, दाँवा, तिम्मा, दिङ्ला, देउराली, जरायोटारका करिब ३५ खुकुरी उद्योगहरू दक्ष कालिगढ र वनपैदावर कच्चापदार्थ अभावमा बन्द हुने स्थितिमा छन् ।
राणाकाल र पञ्चायतकालदेखि नै प्रसिद्ध बनेको भोजपुरे खुकुरी जनशक्ति र सल्लाका काठ, कोइला, गोल जस्ता कच्चापदार्थको अभावका कारण उत्पादनमा कमी आउन थालेको उद्यमीहरू सुनाउँछन् । ‘अहिले भनेजस्तो दक्ष कालिगढ पनि भेटिँदैनन्, सल्लाका काठहरू पनि भेटिँदैन, आरनमा ३÷४ जना मात्र हुन्छन्, भनेजति माग पूरा गर्न सकिएको छैन’, खुकुरी व्यवसायी दिनेश गजमेरले भन्छन्, ‘खुकुरीको काम गर्न भ्याइनभ्याइ हुन्छ, कालिगढलाई महँगो ज्याला दिएर काम लगाउनुपर्छ ।’
भोजपुरमा १९६५ सालतिरै खुकुरी बनाउन सुरु गरिएको हो । ०२७ सालमा तत्कालीन राजा महेन्द्र शाह भोजपुर आएका बेला बोखिमका स्थानीय सिंगबहादुर विक ‘सिने’ ले उपहार स्वरूप राजा महेन्द्रलाई खुकुरी दिएका थिए । आकर्षक खुकुरी देखेर राजा महेन्द्रले खुकुरीका लागि भोजपुर उत्तम ठाउँ भएको बताएका थिए । त्यही समयबाट भोजपुरे खुकुरीले प्रसिद्धी कमाएको खुकुरी व्यवसायी हीरा श्रेष्ठ बताउँछन् ।
विभिन्न आकर्षक बुट्टाले भरिपूर्ण हुने भएकाले पनि भोजपुरको खुकुरी प्रख्यात छ । स्थानीय बजारमा खुकुरीको मूल्य ८ सयदेखि १८ हजार रुपैयाँ प्रतिगोटा पर्छ । ग्रामीण भेगहरूमा दैनिक कामकाजका लागि बुदुने र बाँसपाते किसीमका खुकुरीहरू बढी प्रयोग हुन्छन् ।
भोजपुरमा उत्पादित ४ देखि २४ इञ्चसम्मका बुदुने, शिरुपाते, बाँसपाते, चित्लांगे खुकुरीहरू धरान, उदयपुर, खाँदबारी, काठमाडौं हुँदै विभिन्न विदेशी मुुलुकहरूमा चिनो, उपहार र सजावटका लागि पुग्ने गर्छन् । खुकुरीका बिँडहरू भैंसीका सिङ, बाँसका जरा, ओखर, सालका ख, हड्डीका साथै अर्डरअनुसार सुन र चाँदीका धातुबाट पनि बनाइने गरिएको छ ।
खुकुरीको बजार फराकिलो बनाउन अन्तर्राष्ट्रियस्तरमै राज्यबाट व्यापारिक सम्झौता आवश्यक रहेको भोजपुर टक्सारका घमचन्द्र दाहालको भनाइ छ । चीन र भारतबाट माग हुने गरे पनि खुला व्यापारिक नीति नहुँदा उत्पादित खुकुरी निकासीमा कमी आएको उनी बताउँछन् ।
‘चीन र भारतमा भाला, तरबार जस्ता हातहतियारलाई बैधता दिएको छ, तर नेपाली खुकुरीलाई अवैध भन्दै रोक लगाउने गरिन्छ । त्यसैकारण यहाँ उत्पादित खुकुरी बाहिर निर्यात हुन सकेका छैनन् । ‘यसका लागि राज्यले नयाँ नीति बनाउन आवश्यक छ’, दाहाल भन्छन् ।
युवा पलायनले समस्या
पाखुरा चलाउन सक्ने युवाहरू विदेश पलायन भइरहेका छन । त्यसैकारण भोजपुरे खुकुरी ओझेलमा परेको व्यवसायीहरू बताउँछन् । रोजगारी र पढाइका लागि युवा बिदेसिने भएकाले पनि खुकुरी बनाउने आरन, उद्योगहरूको संख्या दिनानुदिन घट्दै गइरहेको अर्का
आरन उद्योगी घनश्याम विश्वकर्माले बताए ।
‘उमेरका युवाहरू विदेश लाग्छन्, घरमा रहेका बूढाबूढी, महिला, केटाकेटीले फलाम पिट्नै सक्दैनन्,’ उनी भन्छन्, ‘पहिला बजारको अभाव हुन्थ्यो अहिले काम गर्ने जनशक्ति नहुँदा बजार माग धान्नै गाह्रो छ ।’यस्तैखुकुरी बनाउने काम गाह्रो हुने भएकाले यो पेसाबाट व्यवसायी अलग हुँदै छन् ।
दिनभर आरनमा काम गर्दा फोहोर हुने र फलाम पिट्ने, बनाउने, तताउने जस्ता कडा कामका कारण पनि धेरैजसोले यो पेसा छाडेर अरू पेसा थालेको उद्यमी सन्तोष सेन्चौरी बताउँछन् ।
‘जोकोहीले यो पेशा अंगाल्न मान्दैनन्, आरनको फोहोर र फलाम पिट्ने काम गाह्रो हुने भएकाले पनि धेरैले अरू नै पेसा अंगालेका छन्, भएकाहरूले पनि आफ्नो आरन बन्द गरेका छन्’, उनले भने । खुकुरी व्यवसायमा जातिय विभेदपूर्ण सोचाइले पनि पेसा संकटमा परेको छ । सदियौंदेखि फलामको काम दलित समुदायले मात्रै गर्ने, अन्य समुदायले फलाम पिट्दा इजतमा दखल पर्ने खालका हिन भावना समाजमा व्याप्त छन् ।