मंकिपक्स संक्रमण : जोखिम कस्तो ?
काठमाडौं : रोजगारीका लागि साउदी अरब गएका तनहुँका एक युवालाई ज्वरो आयो । शरीरमा डाबरहरू देखिए । उपचारका लागि स्थानीय अस्पतालमा गए, त्यहाँ चिकित्सकले खासै महत्व नदिएको उनले महसुस गरे । उपचारकै लागि स्वदेश फर्के । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जँचाउँदा मंकिपक्स संक्रमणको पुष्टि भयो ।
पुस ४ गते स्वदेश फर्केका तनहुँका ती ३६ वर्षीय युवा उपचाररत रहेकै बेला साउदी अरबबाटै अर्का युवा पनि शनिबार स्वदेश फर्के । सिन्धुलीका ४४ वर्षीय युवालाई पनि आइतबार मंकिपक्स संक्रमण पुष्टि भएको छ । ‘साउदीमै ज्वारो आएको रहेछ । शरीरमा डाबरहरू देखिए छ,’ उपचारमा संलग्न चिकित्सकले भने, ‘त्यहाँको उपचारप्रति सन्तुष्ट हुन नसकेपछि स्वदेश फर्केका रहेछन् ।’
मंकिपक्स संक्रमित दुवै युवाको शरीरमा डाबर परिवर्तन भई फोका बनेका छन् । फोकाहरूमा पाप्रा लाग्ने, पाप्रा उप्किने, टाउको, ढाड, मांसपेशी दुख्ने लगायतका लक्षणहरू देखिएका छन् । उपचाररत दुवै युवालाई निको हुन केही समय लाग्ने ती चिकित्सकले जानकारी दिए ।
संक्रमणको जोखिम कति ?
स्वदेश फर्केका पहिलो संक्रमित युवा विमानस्थलबाटै ट्याक्सी चढेर निजी अस्पताल पुगेका थिए । उक्त अस्पतालले मंकिपक्स संक्रमणको आशंका गर्दै शुक्रराज अस्पताल टेकुमा रेफर गरेको थियो ।
अर्का संक्रमित युवा शनिबार घरमा बसेर अर्को दिन मात्र टेकु अस्पताल गएको पाइएको छ । स्वदेश फर्केका संक्रमित युवाहरूको कन्ट्याक्ट ट्रेसिङ गरिएको छैन । संक्रमित व्यक्तिको थुक, र्याल आदिबाट समेत मंकिपक्स अर्को व्यक्तिमा संक्रमण हुने चिकित्सकहरू बताउँछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार मानिसबाट मानिसमा लामो समय आमने—सामने कुराकानी गर्दा थुकबाट पनि संक्रमण हुन सक्छ ।
‘मंकिपक्स संक्रमितको मुखको छिटाबाट, संक्रमितले प्रयोग गरेका सरसामान जस्तै कपडा, सिरिञ्ज र संक्रमितको घाउ,फोकाको तरल पदार्थबाट अर्को व्यक्तिमा सर्न सक्छ,’ डा. बुढाथोकी भन्छन्, ‘संक्रमित व्यक्तिसँगको नजिकको सम्पर्कमा रहँदा पनि विभिन्न माध्यमबाट सर्ने सक्छ ।’
साउदी अरबमा कार्यरत अन्य नेपालीहरू मंकिपक्स संक्रमण भएको अवस्थामा स्वदेश फर्कने जोखिम रहेको छ । ‘साउदीमा सामूहिक रूपमा बस्ने र काम गर्ने बानी हुन्छ । यो हिसाबले साउदीमा रहेका अन्य नेपालीमाझ पनि संक्रमण फैलिएको त छैन ? भन्ने शंका उत्पन्न भएको छ,’ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘दुई जना युवापछि अन्यमा थप संक्रमण फैलन नदिन ध्यान दिनुपर्छ । आवश्यक सावधानि र सतर्कता देखाइएन भने जोखिम झन् बढ्ने छ ।’
साउदी अरबमा मंकिपक्स संक्रमणको आउट ब्रेक भएको तथ्य सार्वजनिक भएको छैन । तर, कति साउदीमा कति नेपालीहरू संक्रमित छन् ? त्यसको पनि जानकारी सरकारी निकायलाई छैन । परराष्ट्र मन्त्रालयका साथै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयबीच समन्वय र सहकार्यसमेत हुन सकेको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार, स्वास्थ्य मन्त्रालयको मात्रै जिम्मेवारी हो भन्ने भाष्यले संक्रमणको जोखिम बढ्न सक्छ ।
नेपालमा पहिलोपटक गत असार १ गते एक निजी अस्पतालमा उपचाररत ६० वर्षीया विदेशी महिलामा मंकिपक्स संक्रमणको पुष्टि भएको थियो । ती महिला पनि यात्रा गरेर नेपाल आएपछि संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिफर भाइरसकै वर्गमा पर्ने मंकिपक्सको जोखिम नेपाल बढिरहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
पश्चिम अफ्रिकामा पहिलोपटक देखिएको मंकिपक्सको संक्रमण युरोपका बेलायत, जर्मनी,बेल्जियम, इटलि,स्पेन, पोर्चुगल, फ्रान्स, नेदरल्यान्ड, इटली र स्विडेनमा पुष्टि भइसकेको छ । अमेरिका र अस्टे«लियामा समेत संक्रमण पुष्टि भइसकेको जनस्वास्थ्य निकायहरूले जनाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, हालसम्म नेपाल, भारतलगायत ११६ बढी मुलुकमा संक्रमण देखा परिसकेको छ ।
सन् १९५८ मा पहिलोपटक पश्चिम अफ्रिकाको डेनमार्कमा एक दुर्गम भेगमा एक बन्दी बा“दरमा फेला परेको थियो । मानिसमा भने पहिलोपटक सन् १९७० मा अफ्रिकी मुलुक कंगोमा ९ महिने बालकमा पुष्टि भएको थियो ।
ज्वरो आउनेबित्तिकै जँचाउँ
प्रवक्ता डा. बुढाथोकीका अनुसार, मंकिपक्स संक्रमण भएका मुलुकमा बसिरहेका वा ती मुलुकबाट स्वदेश फर्केका व्यक्तिहरू सचेत हुनुपर्ने बताउँछन् । संक्रमण प्रभावित भएका मुलुकबाट आएका व्यक्तिले २१ दिनभित्रमा कुनै सम्भावित लक्षण देखिएमा जँचाउनुपर्ने चिकित्सकहरूको सुझाव छ ।