युरोपेली ब्रान्ड मर्क्योर माघदेखि सुकेधारामा
काठमाडौं : युवा उद्यमी देशबन्धु बस्नेत होटल तथा पर्यटन क्षेत्रमा परिचित नाम हो। उनी नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य, वायु तथा यातायात समितिका अध्यक्ष र नेपालमा जाम्बियाको मानार्थ कन्सुलर पनि हुन्। यी भूमिकाहरू बाहेक, उनी एबी होल्डिङका अध्यक्ष पनि हुन्। एबी होल्डिङले होटल, पर्यटन, कृषि, स्वास्थ्य, ऊर्जालगायतका परियोजना विकास र इक्विटीमा लगानी गर्दै आइरहेको छ। उनैले अन्तर्राष्ट्रिय ख्याति प्राप्त ब्रान्ड मर्क्योर काठमाडौं होटल सुकेधारामा सञ्चालनमा ल्याउँदैछन्। आगामी माघ १ गते (जनवरी १४, २०२५) बाट सञ्चालनमा ल्याउने तयारी भइरहेको यो होटल विश्व प्रसिद्ध ब्रान्ड एकोर गु्रपअन्तर्गतको मर्क्योर होटल हो। अन्तर्राष्ट्रिय ब्रान्ड, युवाले खोलेको, समाजलाई खुसी बनाएर फरक किसिमको समन्वय भएको होटलको रूपमा बस्नेतले यसलाई परिभाषित गरेका छन्। उनै युवा उद्यमी बस्नेतसँग अन्नपूर्णकर्मी सुनिता कार्कीले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।
के हो एकोर र मर्क्योर ब्रान्ड भनेको ?
एकोर ग्रुप एक विश्व प्रसिद्ध र अग्रेणी आतिथ्य उद्योग हो, जसले १ सय १० देशहरूमा ५५ सयभन्दा बढी होटल र १० हजारभन्दा बढी खाना तथा पेयस्थलहरू सञ्चालन गर्दै आएको छ। लक्जरीदेखि आर्थिक वर्गसम्मका ब्रान्डहरूको समावेशी पोर्टफोलियो रहेको एकोरले उत्कृष्ट पाहुना अनुभव प्रदान गर्दै आइरहेको छ। मर्क्योर, एकोर ग्रुपको एक प्रतिष्ठित ब्रान्ड हो। यो होटल स्थानीय सांस्कृतिक अनुभव र विश्वव्यापी रूपमा यस उद्योगमा विकास भइरहेको मापदण्डको संयोजनको लागि प्रसिद्ध छ। विश्वभरि एक हजारभन्दा बढी होटलहरूको उपस्थितिसहित, मर्क्योरले आफ्नो स्थानको संस्कृति, सम्पदा, र पहिचानलाई प्रतिविम्बित गरेर अतिथिलाई अनौठो आकर्षण प्रदान गर्ने गर्छ। नेपालमा एकोर भित्रिएसँगै १ सय ११ मुलुकमा उपस्थिति जनाएको छ।
होटलको लोकेसन सुकेधारा नै छान्नुको कारण ?
आजको दिनमा यो पर्यटनको हब बन्दै गएको छ। गोपीकृष्ण बन्दै छ, अकामा होटल छ, रेन्टल अपार्टमेन्ट बन्दै छ। यो स्थान अबको केही वर्षमा पर्यटन हब हुन्छ। लोकेसनका अनुसार पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नजिकमध्येको एक होटलमा यो पर्छ भने हिन्दुहरूको आराध्य देव पशुपतिनाथ मन्दिर, बौद्धनाथको पनि नजिकमा छौं। अर्को भनेको एउटा ठूलो जनसमुदाय नजिकै कपनमा बस्छ। यस्तै सहरको मुख्य स्थानहरूमा ट्राफिक, भीडभाड, पार्किङलगायतको कारणले पनि सम्भव छैन। सुकेधारा मुख्य सहरभन्दा केही पर र फराकिलो पनि छ। विश्वमा पनि राजमार्ग वा चक्रपथमा रहेका ठूला परियोजनाहरू सञ्चालनमा सहज भएको उदाहरणहरू हुँदा मर्करी होटलको लोकेसन हामीले सुकेधारा छानेका हौं। सहजै आउन जानका लागि पनि यो लोकसन सबैका लागि उपयुक्त हुन्छ जस्तो लाग्छ।
मर्क्योर होटलमा के–के छन् ?
हामीसँग एउटा सुपर स्विट, ७ जुनियर स्विट र डबल तथा सिंगल बेड गरी १ सय ४ कोठा छन्। यो फुड एन्ड बेभरेज (एफ एन्ड बी) ओरियन्टेड होटल हो। यहाँ भारतीय, इटालियन रेस्टुँरा, २ वटा बार, करिब ४ सय जना अट्ने बैंकेट हलसहित आउट डोर पनि छ। यस्तै अर्को ४ सय जना अट्ने बैंकेट बनाउने प्रक्रियामा छौं। दुई वटा मिटिङ रुम छन्। पाँचतारे होटलको मापदण्डलाई आवश्यक पर्ने सबै पूर्वाधार हामीसँग छ।
कस्ता पर्यटकहरूलाई लक्षित गर्नु भएको छ ?
नेपालको पर्यटनमा एउटा हिस्सा युरोपका पर्यटकहरूको पनि छ। यो संख्या बढाउने यो होटलको लक्ष्य हो। मर्क्योर भनेको युरोपको ठूलो होटल ब्रान्ड हो। नेपालमा हामीले एकोर लिएर आयौं जुन युरोपमा नम्बर वान होटल ब्रान्ड हो। फ्रान्स राजदूत पनि यो होटलमा सञ्चालनमा आउन लागेकोमा उत्साहित हुनुहुन्छ। एउटा यो होटलले नयाँ किसिमको योगदान पर्यटन क्षेत्रमा पुर्याउँछ जस्तो लाग्छ। ०० कोभिडपछि आन्तरिक पर्यटकको पनि चहलपहल बढेको छ, यो होटलले आन्तरिक पर्यटकलाई पनि महत्त्व दिएको छ ? छ नि किन नदिनु। हाम्रोमा आन्तरिक पर्यटन दुई किसिमका छन्, एनआरएन नेपाली र स्थानीय नेपाली। एकोर भनेपछि युरोप, मध्यपूर्वी एसियाका नेपालीहरूमाझ परिचित ब्रान्ड हो। स्थानीयतर्फ एफ एन्ड बिमा केन्द्रित भएकोले आउने दिनमा नेपाली युवाहरू माझ यो लोकप्रिय हुन्छ भन्ने आशा लिएको छु। रुफ टफ बार छ जहाँबाट ३६० डिग्री पूरै काठमाडौं देख्न सकिन्छ। नयाँ किसिमको आउटडोरका लागि यो होटल परिचित बन्न सक्छ। यस्तै, इनफिनिटी पुल पनि हामीसँग छ। विश्वमा यो चलेको पनि छ। यसले पनि नेपाली पर्यटनलाई आकर्षित गर्छ भन्ने लाग्छ।
कति लगानी भएको छ ?
मर्क्योर काठमाडौं होटलको विकासमा तीन अर्ब रुपैयाँभन्दा बढी लगानी गरिएको छ। बैंकसँगको ऋण र स्वपुँजीमा यो होटलमा लगानी भएको छ। सुरुमा साढे चार रोपनीमा होटल संरचना बनाइएको हो। अहिले बैंकेट हल, क्यासिनोलगायतका संरचना थप्ने काम भइरहेकोले जग्गाको क्षेत्रफल पनि बढिरहेको छ। यो लगानीले नेपालको पूर्वाधार र आतिथ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको छ। यो ठूलो आर्थिक प्रतिबद्धताले नेपाललाई विश्वव्यापी आतिथ्य गन्तव्यको रूपमा उभ्याउने लक्ष्य राखेको छ। यस परियोजनाले स्थानीय अर्थतन्त्र परिवर्तन गर्न र पर्यटन उद्योगको दिगो भविष्य निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।
ठूलो संरचना बनेको छ, स्थानीयको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
होटल संरचनासँगै हामीले स्थानीय सडक, बाटो, वरपरको हरियालीलगायत सबैको विकासको परिकल्पना गरेर अघि बढेका छौं। निजी क्षेत्रबाट प्रवद्र्धित यो होटलले आफ्नो सामाजिक दायित्वलाई व्यवसायसँगै अघि बढाएको छ भन्ने सन्देश पनि दिने काम गरेको छ जस्तो मलाई लाग्छ। किनभने कुनै पनि नयाँ परियोजना आउँदा त्यहाँको स्थानीयसँग जहिले पनि नकारात्मक नै भएको देखिन्छ। तर, यो होटलले यहाँ सम्पूर्ण इकोसिस्टमलाई प्रवद्र्धन गर्ने काम गरेको छ। हामीले यहाँ वर्षौंदेखि अलपत्र परेको सुकेधारालाई पुरातत्त्व विभागसँग समन्वय गरेर संरक्षण गर्ने प्रयास पनि गरेका छौं।
अहिले युवा पलायन देशको विकराल समस्या भइरहेको छ। यस्तो अवस्थामा म जस्तो युवाले आफ्नो पहलमा अन्तर्राष्ट्रिय चेन होटल सञ्चालनमा ल्याउन लाग्दा यसले सकारात्मक सन्देश नै जान्छ। यस्तै, परियोजनाले आफ्नो संरचना मात्र नभएर समाज परिवर्तनको पनि काम गरेको छ। यसले अन्य नयाँ बन्ने परियोजनालाई पनि बाटो देखाउने काम गर्ने छ।
होटलले वातावरणीय अध्ययन, भवन निर्माणको स्वीकृतिलगायत अन्य आवश्यक सरकारका स्वीकृति लिएका छौं। होटल सञ्चालनमा गएपछि पाँचतारे होटलको अनुमति पाउँछौं। त्यसका लागि पनि आवश्यक प्रक्रिया अघि बढाएका छौं। ०० अरूभन्दा यो होटलमा के भिन्नता छ ?
हामीले नेपाली खानालाई विशेष रूपमा प्राथमिकता दिएका छौं। नेपालमा रोजगारी सिर्जना गरेका छौं। विदेशबाट सीप सिकेर नेपाल फर्किएका धेरै जना यहाँ आबद्ध हुनुभएको छ। करिब २ सय २० लाई रोजगारी दिन गइरहेका छौं। यस्तै, नेपालीपन, नेपाली कलासंस्कृति झल्किने गरी होटललाई सजाउँदै छौं। यहाँ प्रयोग भइरहेका सामानहरू पनि विश्वस्तरीय छन्। यो विदेशी ब्रान्ड भएकोले उनीहरूको आधारभूत मापदण्डलाई हामीले पालना गरेका हुन्छौं। हामीसँग नेपाली खानाका लागि नेपाली नै सेफ हुनुहुन्छ। इन्डियन रेस्टुँरा पनि सबैभन्दा उत्कृष्ट छ। अहिलेको अवस्थामा होटल भनेको खाना र सरसफाइ हो, त्यसमा हामीले कुनै पनि सम्झौता गरेका छैनौं। ०० भावी योजना केही छ ?
एवी होल्डिङअन्तर्गत धेरै परियोजना अघि बढाउँदै छौं। त्यसअन्तर्गत इटहरीमा रवणा र विनडम पाँचतारे ब्रान्ड वैशाख १ गते खोल्दै छौं। अरू परियोजना पनि घोषणा गर्न प्रक्रियामा छौं। अहिले नयाँ किसिमको पर्यटन भित्त्याउनेतर्फ पनि हामीले सोच बनाएका छौं। नेपालमा क्रिकेटको नेपाल प्रिमियर लिग सम्पन्न भएपछि एउटा आशाको किरण देखिएको छ। नेपालमा खेलप्रेमीहरूको उत्साह देखिएको छ। यसलाई समाउँदै खेलकुद पर्यटनमा तर्फ हामी अघि बढ्ने छौं। अबको दिनमा नेपालमा नयाँ किसिमको आयाम भनेको नै पर्यटन र खेलकुदलाई अघि बढाउन सक्दा हुने देखिन्छ। भारतलगायत विश्वबाट खेलप्रेमीहरूलाई नेपालमा भित्त्याउने गरी संरचना बनाउन जरुरी छ।