नयाँ वर्ष कुन देशमा कसरी मनाइन्छ ?
विभिन्न देशमा नयाँ वर्ष मनाउने शैली र परम्परा निकै रोचक रहेको छ।
सन् २०२४ बिदा भएर २०२५ सुरु भएको छ। नयाँ वर्ष विश्वका अधिकांश देशहरुमा रमाइलो गरी मनाएको देखिन्छ। नेपालमा पनि वैशाखको नयाँ वर्षजस्तै अंग्रेजी नयाँ वर्षलाई पनि रमाइलो गरी मनाउने चलन बढ्दो छ।
हरेक देशमा नयँ वर्षलाई स्वागत गर्ने आफ्नै संस्कृति र तरिका हुन्छ। नयाँ वर्ष मनाउने परम्परा कहिलेदेखि चलनमा आयो भन्ने विषय तथ्य जानकारी नभए पनि पृथ्वीमा जतिबेलादेखि समयको गणना वर्षमानको आधारमा सुरु भयो त्यती बेलादेखि नै नयाँ वर्ष मनाउने परम्परा सुरु भएको इतिहासमा उल्लेख छ। आजभन्दा हजारौं वर्ष अगाडि युनानीहरुले नै नयाँ वर्ष मनाउने चलन सुरु गरेका थिए।
नयाँ वर्ष मनाउने चलन देश र संस्कृति अनुसार फरकफरक छ। नेपालभित्र पनि विभिन्न भू–भागमा विभिन्न तरिकाले नयाँ वर्ष मनाइन्छ।
अरु देशमा नयाँ वर्ष मनाउने चलन कस्तो रहेछ ? कतिपय ठाउँमा नयाँ वर्ष मनाउने शैली र परम्परा निकै रोचक रहेको पाइन्छ। केही देशको प्रचलन छोटकरीमा यहाँ चर्चा गरिएको छ। त्यहाँका प्रचलनबाट पनि हामीले केही सिक्न सकिन्छ।
जापान
जापानमा नयाँ वर्ष मनाउने तरिका भने अनौठो छ। जापानमा नयाँ वर्ष मनाउनेलाई ‘सोगात्सु’ भनिन्छ भने नयाँ वर्षको दिनलाई ‘गानटन’ भनिन्छ। यो दिन जापानीको खास खाना ‘ओसेची रोरी’ खान्छन्। डिसेम्बर २९ देखि ३ जनवरीसम्म नयाँ वर्षको खुशीयाली मनाउने गरिन्छ। यसलाई ‘याकुरी’ भनिन्छ। जापानमा रातको १२ बजे १ सय १८ पटक मन्दिरको घण्टी बजाउने चलन पनि छ।
चीन
चीनमा भने एक महिना अगाडिदेखि नै नयाँ वर्षको तयारी गरिन्छ। नयाँ वर्षको दिन चीनमा सबै जनता सार्वजनिक बिदामा रमाउँछन्। चीनका मानिस रातो रङलाई शुभ र राम्रो मान्छन्। यसै कारण उनीहरु झ्याल ढोका र पुरै घरमा रातो रङ लगाउने गर्छन्। रातो रङको प्रयोग गरेर सम्पूर्ण तयारीसँगै पटाका पड्काएर नयाँ वर्षलाई स्वागत गरिन्छ। पटाका पड्काउनेलाई नयाँ वर्षको आगमनसँगै जीवनमा सकारात्मक परिवर्तन आउने जन विश्वास रहेको छ।
स्पेन
स्पेनमा पनि नयाँ वर्ष मनाउने तरिका अलि फरक छ। यहाँका मानिसमध्य रातको १२ बजे अंगुर खाएर नयाँ वर्षको सुरु गर्छन्। स्पेनमा अंगुर धेरै पाउने कारण पनि यो फल खाएर सुख र समृद्धिको कामना गर्ने चलन छ।
रुस
रुसका मानिस नयाँ वर्षलाई ‘एस नोभिम गोडोम’ को नामले स्वागत गर्छन्। नयाँ वर्षको दिन मनले चाहेको पुरा हुने कामना राख्दै कागजमा आफ्नो इच्छा लेखेर नयाँ वर्ष मनाउने गर्छन्। आफ्नो इच्छा लेखिएको सो कागजमा एक गिलासमा मदिरा राखेर जलाइन्छ। त्यो खरानी १२ बज्नु अगाडि नै स्याम्पियनमा हालेर पिउँदा शुभ हुने जनविश्वास छ।
स्वीट्जरल्याण्ड
यस देशमा नयाँ वर्र्ष मनाउने शैली अचम्मको छ। जमिनमा आइसक्रिम खनाएर यहाँका मानिस नयाँ वर्षको आरम्भ गर्छन्। यसो गर्दा भाग्य चम्किने र जीवनमा सफलता पाइने जनविश्वास राख्छन्।
थाइल्यान्ड
थाइल्यान्डमा एक अर्कालाई पानी छर्केर नयाँ वर्ष मनाउने चलन छ। नयाँ वर्षको दिन थुपै्र मानिस बाल्टीभरी पानी बोकेर बाटोमा हिँडिरहेको देख्न पाइन्छ।
ब्राजिल
ब्राजिलमा नयाँ वर्षमा गेडागुडी खाने चलन छ। गेडागुडीलाई पैसाको प्रतिनिधित्व गर्ने र यो खाँदा वर्षभरी शुभ हुने जन विश्वास छ।
रोमानिया
नयाँ वर्षमा रोमानियामा मानिस भालुको जस्तो लुगा लगाएर नाच्ने गर्छन्। भालुको लुगा लगाएर नाच्दा दानबी शक्ति भाग्ने त्यहाँका मानिसहरुको विश्वास छ।
दक्षिण अफ्रिका
दक्षिण अफ्रिकाको ‘जोहानसबर्गमा’ नयाँ वर्षमा मानिसले आफ्नो घरको झ्यालबाट अनावश्यक फर्निचर फाल्ने चलन छ। नयाँ वर्षमा केही अनावश्यक सामान आफ्नो घरमा नहोस् भन्ने त्यँहाको मानिसको चाहना हुन्छ।
स्कटल्यान्ड
स्कटल्यान्डमा मध्यरातमा सबैभन्दा पहिले को आफ्नो साथीको घरमा पुग्ने भन्ने प्रतिस्पर्धा हुन्छ। सबै जना आफू नै पहिले साथीको घरमा पुग्न पाउ भन्ने साचेर अगाडि बढ्छन्।