निजी क्षेत्रको नमुना रंगशाला

निजी क्षेत्रको नमुना रंगशाला
सुन्नुहोस्

भैरहवा : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निजी क्षेत्रको लगानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण हुँदै छ । अष्ट्रेलियामा व्यवसाय गर्दै आएका विनोद कुँवरले एक्स्ट्राटेक ओभल प्रालिमार्फत ६० करोड रुपैयाँ लागतमा तिलोत्तमा नगरपालिका–१७ पूर्वदरखसवामा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान निर्माण गरेका हुन् । 

६ बिघा क्षेत्रफलमा फैलिएको रंगशालामा खेलाडी ड्रेसिङ रुम, मिडिया बक्स, भीआईपी बक्स लगायत पूर्वाधार निर्माणका काम भइरहेका छन् । ‘क्रिकेट खेलको विकासका लागि रंगशालाको निर्माण गरिएको हो र राष्ट्रिय स्तरको क्रिकेट खेलका लागि मैदान तयारी अवस्थामा छ’, नेपाली क्रिकेट टिमका पूर्वकप्तान एवं रंगशालाका ब्राण्ड एम्बेसडर शक्ति गौचनले भने, ‘अहिले पनि खेल खेलाउन सकिन्छ । र, अन्य पूर्वाधार निर्माणका काम पनि भइरहेका छन् ।’

शिलान्यास भएको ६ महिनामा मैदान तयार भएको थियो । रंगशालामा विभिन्न चरणका काम गर्ने योजना छ । जसअनुसार अहिले पनि कामहरू भइरहेका छन् । उनका अनुसार १५/२० हजार दर्शक क्षमता प्याराफिट बनाउन सकिने अवस्था रहेको र हाल २÷३ हजार दर्शक क्षमताको रंगशाला तयार भएको छ ।

रंगशालामा खेल संचालनका साथै आवासीय सुविधासहित एकेडेमी सञ्चालन गरेर क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको ब्रान्ड एम्बेसडर गौचनले बताए । एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको निर्माणले क्रिकेट खेलाडीको उत्पादनका साथै राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गरेर यस क्षेत्रमा आर्थिक विकास र पर्यटनमा ठूलो टेवा पुग्ने विश्वास स्थानीय पर्यटन 
व्यवसायीहरूको छ ।

लगानीकर्ता विनोदका दाजु सूर्य कुवँरले मैदानसम्म पुग्ने सडक र विद्युत्लगायत आवश्यक भौतिक पूर्वाधार निर्माणको अपेक्षा सरकारसंग गरिएको बताए । ‘मैदान तयार भइसकेको छ । अन्य पूर्वाधार बन्दैछन्’, उनले भने, ‘सरकारबाट आर्थिक अपेक्षा छैन । तर, रंगशाला जाने/पुग्ने सडकलगायत पूर्वाधार सरकारले बनाईदिए सबैलाई सहज हुने थियो ।’

निजी क्षेत्रले रंगशाला निर्माणको काम निकै अघि बढाएको छ । तर, सरकारी स्तरबाट भैरहवामै सिद्धार्थ क्रिकेट मैदान स्तरोन्नती गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने काम भने करिब डेढ दशक बितिसक्दा समेत अधुरो छ ।

बहुवर्षीय ठेक्का नहुँदा, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पर्याप्त बजेट नछुट्ट्याउँदा सिद्धार्थ क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने योजना वर्षौं देखि अलपत्र परेको हो । करिब १६ प्रतिशत मात्रै काम भएको छ । 

बर्सेनि न्यून बजेट मात्रै पर्दा डीपीआरअनुसार अन्तर्राष्ट्रिय स्तरको मैदान यति नै समयमा बन्छ भन्ने एकिन छैन । क्रिकेट मैदान बनाउन करिब १२ करोड रुपैयाँ खर्च भइसकेको छ । ०६८ मा भैरहवा र मूलपानीमा अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउन सुरु गरिएको थियो । तर, मूलपानी मैदानले गति लिँदा भैरहवाको मैदान स्तरोन्नतिकोे काम भने कछुवा गतिमा छ । मैदानमा ७ हजार दर्शक अट्ने गरी प्याराफिट बनाउने र अन्तर्राष्ट्रिय क्रिकेट खेलाउने उद्देश्यसहित राखेपले डीपीआर बनाएको छ । 

डीपीआर अनुसार त्यो बेला मैदान बनाउन कम्तिमा ३८ करोड रुपैयाँ लाग्ने जनाइएको थियो । तर, पछिल्ला वर्षहरूमा बजेट नै विनियोजन हुन छोडेको छ । जसले गर्दा पुरानै डीपीआर अनुसार काम गर्दा पनि अहिलेको अवस्थामा कम्तिमा ७० करोड बढी लागत लाग्ने रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा बताउँछन् । 

अहिलेको जस्तै सुस्त गतिमा काम हुने हो भने अझै २५ वर्ष अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण नहुने खेल क्षेत्रका अगुवा बताउँछन् । हाल ३ करोड लागतमा हल, खेलाडी बक्स र शौचालयसहितको तीन तल्ले भीआईपी प्याराफिट निर्माण भएका छन । सुरुमा १ करोड १९ लाख रकम खर्च गरेर क्रिकेट संघको कार्यालय सहित एक तल्लाको प्याभेलियन भवन निर्माण गरिएको थियो ।

त्यसपछि मैदान सम्याउन तीन वर्ष लगाइयो । प्याभेलियन भवनसहित ८९ लाखमा मैदान सम्याउने काम, ४० लाखमा तारजाली, ९० लाखमा ढल व्यवस्थापन, १ करोडमा पिच, प्याभेलियन अगाडि टायल बिच्छ्याउने, गार्ड रुम, स्टोर रुम बनाइएको छ । तर, सरकारले बहुवर्षीय योजनामा नराखेर रंगशालालाई बजेट छुट्ट्याउनै छाडेको छ ।

समय समयमा ताँती लागेर मैदान अवलोकन गर्न आउने विभागीय मन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्री र खेलकुद परिषद्का पदाधिकारीले भने पर्याप्त बजेट छुट्याउँछौं भनेर आश्वासन मात्रै दिने गरेका छन । तर, बजेट नछुट्ट्याउँदा रंगशाला निर्माण कछुवा गतिमा भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.