आफ्नो पोसाक र संस्कृतिको संरक्षण र प्रयोग गरी व्यक्ति संसारमा चिनिँदै गर्दा राष्ट्र पनि सँगसँगै चिनाउन सक्ने अवस्था रहन्छ ।
नेपाली टोपी नेपाली पुरुषहरूले पहिरिने ढाका वा विशेष कपडाबाट बनेको नेपालीको पहिचान झल्काउने मौलिक र विशेष शिरपोस हो । नेपाली टोपीअन्तर्गत सामान्यतः ढाका टोपी, भादगाउँले टोपी, कालो टोपी आदि पर्छन् । यो नेपाली औपचारिक पोसाकको एक अभिन्न अंग हो । नेपाली समाज र संस्कृतिको मूलआधार अनेकतामा एकता र एकतामा विविधतालाई टोपीको प्रयोगले अझ मजबुत बनाएको छ ।
नेपाली र ढाका टोपी देशभर लगभग सबै भाषा, धर्म, सम्प्रदाय, जाति र जनजातिले निकै सम्मान तथा गर्वका साथ पहिरिन्छन् । नेपालमा कालो रंगको भादगाउँले टोपी तथा पाल्पाली र पूर्वेली ढाका टोपीहरू निकै प्रसिद्ध छन् । नेपाललगायत विश्वभर केही वर्षदेखि अंग्रेजी नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी १ तारिखलाई ‘टोपी दिवस’ का रूपमा मनाउने गरिएको छ । उक्त दिन विश्वभर छरिएर रहेका
नेपालीले ‘नेपाली टोपी : नेपालीको शान, मान र पहिचान’को भावसहित नेपाली टोपी लगाएर ‘टोपी दिवस’ मनाउँछन् ।
ढाका टोपी र नेपालीपन : मौलिक कला संस्कृति खानपान र भेषभूषामा निकै धनी देश नेपालमा केही वर्षयता पश्चिमा एवं आयातित संस्कृतिको प्रभाव बढ्दै गएको छ । पढाइ, रोजगारी, अवसरको खोजी गर्दै बिदेसिएका र विदेशमा बस्ने नेपाली तथा तिनका परिवारमा त झन् यस्तो प्रभाव नपर्ने कुरै भएन । यस्तो परिवेशमा नेपालीको पहिचानलाई जोगाउँदै विश्वभर नेपाल र नेपालीको मौलिकताको संरक्षण गर्नु नितान्त आवश्यक देखिएको छ । नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली र नेपाली मूलका व्यक्ति एवं सम्पूर्ण नेपालीभाषीमा फैलाएर यसको अन्तर्राष्ट्रिय पहिचान स्थापित गराउन सकेमा नेपाल प्रतिको माया र राष्ट्रियता झनै मजबुत हुने देखिन्छ ।
ढाका टोपी नेपाली पोसाक दौरा सुरुवालको साथमा लगाउँदा निकै शोभनीय देखिन्छ । नेपाली टोपीमा प्रयोग हुने ढाका र अन्य कपडा प्राचीनकालदेखि नै घरेलु तानमा हातले बुन्ने गरिन्छ । यसकारण सोको प्रयोगले रोजगारी सिर्जना, आयआर्जन, घरेलु उद्योगको संवद्र्धन र उद्यमशीलतामा वृद्धि हुन सक्छ । पाल्पाली र पूर्वेली ढाकाटोपीलगायत नेपाली टोपी उद्योग देशको निर्यात व्यापारका लागि उल्लेख्य, उत्कृष्ट क्षेत्र हुन् । ढाका टोपीको माथिल्लो भागको चुचुरोले हिमालको प्रतिनिधित्व गर्ने, बीचको भिरालो भागले पहाडको प्रतिनिधित्व गर्ने र सबैभन्दा तलको समथर भागले तराईको प्रतिनिधित्व गर्छ । त्यसैले यसले समग्र हिमाल, पहाड र तराई ढाका टोपीमा अटाएको छ ।
जसको प्रयोगले नेपाली र गोर्खाली हुनुमा गर्व गराउँछ । त्यसैले दिवसका रूपमा उक्त दिनलाई उत्सवका रूपमा मनाउने परम्पराले नेपालीपनको संरक्षण, प्रवद्र्धन र विस्तारका लागि विश्वभर फैलिएका नेपाली वा नेपालीमूलका विदेशी नागरिक एवं सम्पूर्ण नेपालीभाषीलाई नेपाली पहिचानको अवसर मिलेको छ ।
ढाका टोपीको माथिल्लो भागको चुचुरोले हिमालको प्रतिनिधित्व गर्ने, बीचको भिरालो भागले पहाडको प्रतिनिधित्व गर्ने र सबैभन्दा तलको समथर भागले तराईको प्रतिनिधित्व गर्छ। त्यसैले यसले समग्र हिमाल, पहाड र तराई ढाका टोपीमा अटाएको छ। जसको प्रयोगले नेपाली र गोर्खाली हुनुमा गर्व गराउँछ।
कहिल्यै टोपी नलगाउनेहरूले समेत यो दिवसमा नेपाली टोपीमा सजिएर ‘ह्याप्पी नेपाली टोपी डे’ भन्दै सामाजिक सञ्जालमा तस्बिर र भिडियो प्रस्तुत गर्ने अवस्थाको सिर्जना भएको छ । यसले अंग्रेजी नयाँ वर्षलाई समेत विशेष बनाइदिएको छ । यो यस अभियानमा होमिएका राष्ट्रवादी अभियन्ताहरूका लागि मात्रै होइन, समग्र नेपाल राष्ट्र, समस्त नेपाली तथा विश्वभरका सम्पूर्ण नेपालीभाषी समेतले गर्व गर्न सक्ने विषय हो । यसले एकातर्फ नयाँ पुस्तालाई नेपाली टोपीमार्फत नेपाली कला, संस्कृति र पहिरन चिनाउने अवसर दिलाएको छ भने अर्कोतर्फ संसारभर नेपालीत्व र नेपाली पहिचानको जगेर्ना पनि भएको छ ।
विगतको अवस्था विश्लेषण विश्लेषण गर्दा कवि मोतीराम भट्टका तस्बिरमा देखिने टोपी, कार्चाेपी टोपी राणाकालमा सुब्बा वा सोभन्दा माथिल्लो दर्जाका अधिकारी (हालको शासन व्यवस्थामा सचिव वा सो सरहभन्दा माथिल्ला पदवाहक)ले मात्रै लगाउन पाउने अवस्था थियो । हाल समग्र स्वदेश र विदेशका नेपालीले उत्सवकै रूपमा स्वतन्त्र रूपमा मनमौजी गुणस्तर र ढंगले नेपाली टोपी लगाउन सम्भव हुन गएकोबाट हाम्रो शासन व्यवस्था र हाम्रो चेतनास्तरको परिवर्तन पहिरनको असमानताबाट माथि उठेर पहिरनको समानता हुँदै, पहिरन समताको स्तरमा पुगेको अनुमान गर्न सकिन्छ ।
नेपाली टोपी– सभ्यता, संस्कृति र अर्थतन्त्रको धरोहर : समग्र मानव सभ्यता र संस्कृति अविछिन्न विकासशील कुरा हो, त्यसैले तत्तत् विषयमा अरूको सिको, प्रभाव वा नक्कल हुनसक्ने विश्वब्यापी, सत्यसाँचो यथार्थ हो । कालो टोपी, भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपी नेपाली सभ्यता र संकृतिका धरोहर हुन् । नेपाली टोपीलाई पहिचान दृष्टिले मात्र होइन, समग्र आर्थिक, सामाजिक र सांस्कृतिक दृष्टिले हेर्न सकिन्छ । टोपीको प्रवद्र्धन हुनु भनेको आर्थिक विकासको एउटा पाटो हो । नेपाली टोपीलाई अन्तर्राष्ट्रियकरण गर्न सके यसलाई निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । यस्तै, रोजगारी सिर्जना, आयआर्जन, घरेलु उद्योगको संवर्द्धन र उद्यमशीलता समेतमा वृृद्धि हुन सक्छ ।
टोपीको कुरा गर्दा यसको सम्बन्ध कैलाश पर्वतसँग पनि जोडिन्छ । नेवाः समुदायले देशभर उक्त समुदायको विस्तारसँगै ढाकाटोपीको पनि देशभर विस्तार भएको मानिन्छ । अतः देशभित्रका नेवारलगायतका नेपाली जातजाति मात्र हैन, टोपीको साइनो बेलायत, बर्मा, बंगलादेशको ढाका, काश्मीर, टर्की, बेलायत, कैलाश पर्वत, नेपालको पूर्व र पाल्पासँग जोडिन्छ । कतै टोपी लगाइदिएर त कतै आफ्नो टोपी फुकालेर एकअर्कामा सम्बन्ध गाँस्ने तथा एकअर्कामा सम्मान आदानप्रदान गर्ने हाम्रो परम्परागत सांस्कृतिक चलन रहिआएको छ ।
नेपाली टोपी नेपाली र नेपाली मूलका नागरिक भएका सबै स्थानमा समग्र नेपालीको साझा र मौलिक पहिचानको चिह्न हो । ब्राह्मण, क्षेत्री, जनजाति, मधेसी, दलित, तराई, पहाड, हिमाल सबैतिर लगाइने टोपीलाई बहुजातीय समुदायले पनि नेपाली टोपी भनेर बुझ्दै, मान्दै र पहिरिँदै आएकाले नेपाली टोपीले नेपालीपनको पहिचान दिलाउँछ भन्न सकिन्छ । विभिन्न जातीय र सामुदायिक टोपीहरूको संरक्षण र प्रवद्र्धन गर्दै टोपीलाई आत्मसम्मान र समर्पणको प्रतीकका रूपमा लिई बनिसकेको पहिचानलाई यथावत् राखेर अन्य पोसाकजस्तै धोती, बख्खु, भांग्रा तथा अन्य ज्ञात अज्ञात पोसाकलाई पनि नेपालीमाझ स्थापित गराउन प्रयास गर्नुपर्छ ।
मुलुकमा औपचारिक सभा समारोहमा नोपली पोसाक र नेपाली टोपीकै प्रयोग हुन्छ । राजकीय पदमा रहने व्यक्तित्वहरू राष्ट्रपति प्रधानमन्त्री आदिको दैनिकी यही पोसाकमा चल्छ । विदेशमा नेपाली जमघट होस् वा कसैको शुभकार्य किन नहोस्, नेपाली पोसाक र टोपीको प्रयोग उल्लेख्य बढेको छ । अतः नेपाली पोसाक र टोपी राष्ट्रपतिदेखि स्वदेश र विदेशमा रहेका नेपाली सर्वसाधारण नागरिकसम्म लोकप्रिय छ र पहिचान बनेको छ ।
टोपी दिवस– आज र भोलि : स्वाभिमानको कुनै मूल्य हुँदैन । त्यस मूल्यका लागि देशको राष्ट्रिय पोसाकको अहम् भूमिका हुन सक्छ । अन्तर्राष्ट्रियरूपमा नेपालीपनको प्रवद्र्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रवद्र्धन र संवद्र्धन गर्न पोसाक एक महŒवपूर्ण अस्त्र हो । पछिल्लो केही वर्षयता नेपाली टोपी युवा पुस्ताको नजरमा पर्न थालेको छ । टोपी दिवसमा आम नेपालीले देखाएको चासो, विद्यालयहरूको औपचारिक पोसाकमा नेपाली पोसाक र टोपीको समावेशिता, विभिन्न सभा, समारोहमा प्रयोग हुने नेपाली पोसाकको दृश्य, वैवाहिक समारोहमा सुटपाइन्टभन्दा दौरासुरुवाल टोपी लगाउनेहरूको बढ्दो जमातलगायतले टोपीको बढ्दो क्रेज छर्लंग हुन्छ ।
अबका दिनमा टोपी दिवस एकता र सद्भावको दिनका रूपमा स्वीकार्य बनाउनु पर्छ । यो कुनै क्षेत्र जाति दल वा समुदाय विशेषको दिन होइन । यो सबै स्वदेश र विदेशमा रहेका नेपालीको साझा पर्व हो । टोपी दिवस मनाइरहँदा धोती लगाउनेहरू, बक्खु ओढ्नेहरू, भांग्रा भिर्नेहरूले अपमानित हुन वा लधुताभाषमा पर्न नपरोस् । सबै जातजाति, भाषा, क्षेत्र, हावापानी मैत्री, धर्म, लिंगको पहिचानसहितको नेपाली टोपी र पोसाक दिवस मनाउन सकिएमा यस दिवसले सार्थकता पाउँछ ।
समानता र स्वतन्त्रताको कुरा गरिरहँदा महिलाले टोपी लगाउन हुने कि नहुने भनेर संकुचित सोच राख्नु सान्दर्भिक देखिँदैन । बरु नेपालीको पहिचान झल्कने अन्य पोसाकको पनि क्रमशः ब्रान्डिङ गरेर दिवस मनाउनुपर्छ । उपरोक्त विषयहरूमा राज्यका तर्फबाट पनि आवश्यक सकारात्मक पहलका लागि सरोकारवालाहरूको ध्यानाकर्षण हुन सकेमा राष्ट्रकवि माधवप्रसाद घिमिरे रचित तलको गीतको भावार्थ यथार्थतामा परिणत हुने बिश्वास गर्न सकिन्छ– ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे !, नेपालै नरहे !!’
उपसंहार : व्यक्तित्व र पहिरन एकअर्काका पर्यायवाची भएकाले मानिस—मानिसबीचको एकापसको भेट प्रथम दृष्टिमै उसले लगाएको पहिरन, निजले बोल्ने भाषा र राष्ट्रियतातर्फ गएर ठोकिन्छ । नेपाली टोपीको प्रवद्र्धन गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइरहँदा थुप्रै प्रश्न बारम्बार आउने गरेका छन् । टोपी लगाउँदैमा वा नलगाउँदैमा राष्ट्रवादी हुने वा नहुने होइन, अरू पहिरनप्रतिको घृणाभाव पनि होइन । प्रथमतः पहिचानको संरक्षण टोपी, कट्टु, धोती, चोलोले गर्ने होइन, व्यक्तिको सोच र व्यवहारले गर्ने हो । यस दिवसले भिन्नभिन्न भूगोलजस्तै बर्मा, भारतका दार्जिलिङ, आसाम, सिक्किम, देहरादुन, टिष्टा र काँगडालगायतका स्थानलाई पोसाक र संस्कृतिको माध्यमबाट नेपालमा जोड्न सम्भव छ ।
विश्वमै पृथक, ऐतिहासिक र फरक पहिचान बोकेको पोसाकको रूपमा रहिआएको नेपाली टोपी दिवसमा आआफ्नो क्षेत्र, जाति, जनजातिले आफ्नै टोपी वा आआफ्नो मौलिक शिरपोस लगाएर मनाउन आह्वान गर्न सकिन्छ । आआफ्नो पोसाक र संस्कृतिको संरक्षणको भावना राख्दा नै व्यक्ति आफू प्रसिद्धि उन्मुख भई संसारमा चिनिँदै गर्दा निज व्यक्तिले राष्ट्र पनि सँगसँगै चिनाउन सक्ने अवस्था रहन्छ । हाम्रो आजको यो ऊर्जाजन्य, उत्साहप्रद सामूहिक बाह्रौं नेपाली टोपी तथा नेपाली पोसाक दिवसले गोपाल योञ्जनद्वारा रचित तलका सारगर्भित शब्दहरूलाई अवश्य न्याय गर्ने ।
आजको यस दिवसको नारा ‘नेपाली टोपी : हाम्रो सान, मान र पहिचान’को सवालमा नेपाली टोपीको महŒवलाई प्रतिनिधित्व गर्न योञ्जनका तलका शब्द काफी छन् । ‘कहिल्यै पनि झुक्न नजान्ने, कहिल्यै पनि रुक्न नमान्ने, मेरो टोपी, नेपाली भीर जस्तो, नेपाली वीर जस्तो...!’
समाजशास्त्री लामिछाने, शान्ति नेपाली समाज बेलायतका महासचिव हुन् ।