कर्णालीमा मनाइयो छोरा तिहार
डोल्पा : भाइ तिहार सकिएको दुई महिनापछि आज कर्णालीबासीले छोरा तिहार मनाएका छन्। नेपालमै अन्त नमनाइने छोरा तिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयाका दिन कर्णाली प्रदेशको जुम्ला, डोल्पा लगायतका जिल्लामा धुमधामका साथ मनाइने गरेको छ।
आजको दिनमा बिहानै आमा र छोरा दुबैले नुहाइ धुवाइ गरेर छोराहरूले आमाको हातबाट टीका थाप्ने प्रचलन रहेको छ। भाइ टीका जस्तै छोरा तिहारमा पनि आमाले छोरालाई निधारमा अक्षता गलामा फूलको माला र सगुनको रूपमा घरमै बनाइएको सेलरोटी, फिनीरोटी, चिनिरोटी जस्ता परिकारहरू सहित छोरालाई टीका लगाउने प्रचलन छ।
टीका लगाइसकेपछि छोरालाई सुख, शान्ति दीर्घायु र प्रगतिको कामना गर्दै आशीर्वाद दिने गरिन्छ। छोराले पनि आमाले टीका लगाएर आशीर्वाद दिएपछि दक्षिणाको रूपमा आफू सक्दो पैसा, धोती चोली लगायतका कोशेली दिएर गोडामा ढोग्ने गरिन्छ।
आमाको हातबाट टीका थाप्नका लागि जिल्ला बाहिर पुगेका छोराहरू पनि आजको दिन घर पुग्ने गर्दछन्। कुनै काम विशेषले घर पुग्न नसक्ने छोराहरूले फोन लगायतका विभिन्न माध्यामबाट आशीर्वाद लिने र आमाले पनि छोराका लागि बनाएको कोशेली छुट्यायर राखिदिने गरिन्छ।
छोरा तिहारमा आमाको हातबाट टीका थापिसकेपछि सम्पूर्ण पुरुषहरू जम्मा भइ प्रत्येक घर–घर तथा गाउँ बस्तीहरूमा पुगेर भाइ टीकामा देउसी भने जस्तै भैलो खेल्ने प्रचलन छ।
यसरी भैलो खेलेर उठेको रकमबाट धारा, पधेँरा, बाटो लगायतका सार्वजनिक सम्पदा मर्मत सम्भार गरिन्छ भने बचेको रकमबाट(पाठीभात)वनभोज जाने गरिन्छ।
आजको दिनमा महिलाहरू पनि सार्वजानिक स्थलहरूमा भेला भएर चुट्किला देउडा खेलेर रमाइलो गर्ने र एक अर्काको पिर व्यथा साटासाट गर्ने गर्दछन्।
डोल्पा लगायत कर्णालीका अन्य जिल्लाहरूमा मात्र मनाइने छोरा तिहार नेपालमा कतै पनि नमनाइने त्रिपुरासुन्दरी नगरपालिका १ का स्थानीय समाजसेवी टंकप्रसाद उपाध्यायले बताए।
पन्ध्रौं शताब्दीदेखि मनाउँदै आएको यो तिहारको रौनक पहिलाको जस्तो नभएको उनको भनाइ छ। 'पहिला पहिला धेरैजसो मान्छेहरू गाउँघरमै हुन्थे र रौनक पनि त्यतिकै हुन्थ्यो। अहिले धेरै मानिस सहर बजारमा छन्। कतिपय रोजगारको सिलसिलामा जिल्ला बाहिर छन्। त्यही भएर पनि पहिलाजस्तै रौनक छैन', उपाध्यायले भने।
आफ्नै इतिहास बोकेका यस्ता चाडपर्वहरू बुढापाखाले मनाउने गरे पनि अहिलेका पुस्तालाई चासो नहुँदा लोप हुन थालेको उनको भनाइ छ।
भाइ तिहारमा खेलिनेलाई देउँसी र छोरा तिहारमा खेलिनेलाई भैलो भनिन्छ भने र आज खेलिने भैली देउसी भन्दा फरक ढङ्गबाट र फरक लयमा खेलिने गर्दछ।
भैलो खेलेर मागेको चामल, धान, पैसा सबै भैलो खेल्न गएकाहरू सबै जना मिलेर पाठी भात (स्थानीय भाषामा) वन भोज खाने प्रचलन रहेको समेत उनले बताए।
छोरा तिहारमा आमा नहुनेहरूले भने स्थानीय मठ मन्दिरहरूमा गएर पुजारीको हातबाट टीका अक्षता लगाएर छोरा तिहार मनाउने गर्दछन्।
छोरो तिहारमा खेलिने भैलोको केही अंश यस प्रकारको छ।
आउँशीया बार,भैलो
दरमुद बार,भैलो
दरमुद्यया खोली भैलो
बाँस झोली,भैलो
बाँस भित्र,भैलो
आर्या न तार्या,भैलो
पिपलु पाती,भैलो
रायकी छाती,भैलो
बाखरी खानु,भैलो
त्यो बाखरी कसो सुवाला,भैलो
कसो सुवाला,भैलो
भैलो दिने घरीनाको एककान सुन छ,भैलो
एक कान मोती,भैलो
सुर्यकी ज्वती,भैलो
भेडो दिन्नन् डोर्याइए ल्याउला भैलो, घोडो दिन्नन् चढी ल्याउला, त्यहीँ पर जाँउला पिरती लगाँउला भैलो
पिरतीका बार,भैलो
आकाश जरा,भैलौ,
पात्तला शिला,भैलो