रासायनिक मलको सकस : गोदामभरी मल, भौतारिदै किसान

रासायनिक मलको सकस : गोदामभरी मल, भौतारिदै किसान
कृषि सामग्री कम्पनी परासीको गोदाममा रहेको मल । तस्बिर : हरि शर्मा
सुन्नुहोस्

परासी : नवलपरासीका किसान युरिया मलका लागि भौतारि रहँदा कृषि सामग्री कम्पनी परासीको गोदामभित्र भने मल थन्किएर बसेको छ । प्रमुख रुपमा गहुँ र उखु खेतीका लागि किसानलाई युरिया मलको खाँचो छ । गोदाममा मल थन्काएर राखिए पनि किसानहरूले असारअघि युरिया मल पाउने छाँट छैन । 

कृषि सामग्री कम्पनीको गोदाममा ६ हजार ६३७ बोरा (३३१ दशमलब ८५० टन) युरिया मल स्टक रहेको छ । तर, कोटा नआएको भन्दै कृषि सामग्री कम्पनीले मल नदिँदा किसानले भारतबाट गुणस्तरहीन मल ल्याएर खेतीमा राख्नुपर्ने बाध्यता छ ।

लुम्बिनी प्रदेश मन्त्रालयमार्फत कृषि सामग्री कम्पनी भैरहवा प्रदेश कार्यालयले जिल्लाका लागि कोटा निर्धारण गरेर नपठाउँदा मल वितरण गर्न नसकिएको कृषि सामग्री कम्पनी परासीका प्रमुख कृषि सामग्री कम्पनी परासीका प्रमुख नरहरि पोखरेलले बताए । कम्पनीमा गतवर्षको मौज्जादसहित चालु वर्षमा कूल २ हजार ९८४ दशमलब १ सय टन युरिया मल रहेको थियो ।  जसमा अहिलेसम्म २ हजार ५४२ दशमलब ३ सय टन युरिया मल वितरण गरिएको छ । ‘अहिले गोदाममा कूल ४४१ दशमलब ८ सय टन युरिया मल मौज्जाद छ । जसमा कोटाअन्तरगत १०९ दशमलब ९५० टन जान बाँकी छ । त्यसबाहेक ६ हजार ६३७ बोरा मल स्टक रहेपनि प्रदेश कार्यालयले वितरणका लागि कोटा निर्धारण गर्दा किसानलाई दिन सकिएको छैन ,' कार्यालय प्रमुख पोखरेलले भने । गोदाममा रहेको उक्त मल वितरण गर्न सके जिल्लाका किसानहरूको आवश्यकता धेरै हदसम्म पुरा हुने उनले बताए ।  

स्टक रहेको उक्त मल प्रदेश गोदाममा राख्ने ठाउँ नभएकाले परासी पठाइएको कृषि सामग्री कम्पनीले जनाएको छ । ‘प्रदेशले ठाउँ नभएर राख्न पठाएको हो । उसले नभनि दिन मिल्दैन,'पोखरेलले भने । कृषि सामग्री कम्पनी प्रदेश कार्यालय भैरहवाकी निमित्त प्रमुख सुमन पन्थीले परासीमा रहेको युरिया मल वितरणका लागि कार्यालयले पत्रचार गर्न नसक्ने बताइन् । सुदूरपश्चिमका लागि आएको मलको कोटा काटेर लुम्बिनीमा वितरण गरिएकाले उक्त मल वितरण गर्न नसकिने उनको भनाइ छ ।  ‘लुम्बिनीमा बढी चाहिने भएकाले सुदूरपश्चिमको कोटा काटेर यहाँ वितरण गरिएको हो । सुदूरपश्चिमले कोटाअनुसार माग गरे पठाउनुपर्छ । त्यसैले स्टकमा रहेको मल वितरणका लागि पत्रचार गर्न सक्दैनौं ,'पन्थीले भनिन् । 

पत्रचार गर्न नसकेपनि पछि आउने मलमा मिलान हुनेगरी परासीका कार्यालय प्रमुखले वितरण गर्न सक्ने पन्थीको भनाइ छ । तर, कृषि सामग्री कम्पनीका प्रमुख पोखरेलले भने प्रदेशको पत्राचार बिना वितरण गर्न नसकिने बताउँछन् । प्रदेश कार्यालय भैरहवामा १ लाख २० हजार बोरा ( ६ हजार टन ) युरिया मल गोदाममा रहेको कृषि सामग्री कम्पनी भैरहवाकी प्रमुख पन्थीले जानकारी दिइन् । 

परासीसहित प्रदेश गोदाममा रहेको युरिया मल अहिलेको समस्या समाधान गर्न भन्दा पनि असारमा हाहाकार हुन सक्ने अभावलाई पूर्ति गर्नका लागि राखिएको बताइएको छ । सरकारले मगाउने नयाँ युरिया मल नआएसम्म स्टकमा रहेको मल असार अघि दिन नमिल्ने पन्थीको भनाइ छ । युरिया मल अझै २/३ महिनासम्म आउने छाँट नदेखिएको कृषि सामग्री कम्पनी भैरहवाले जनाएको छ । 

यसैबीच चालु वर्षको अहिलेसम्म कृषि सामग्री कम्पनी परासीले ८७२ दशमलब ३५० टन डिएपी मल वितरण भएको जनाएको छ । कम्पनीमा रहेको ८१४ दशमलब ४ सय टनमध्ये हाल गोदाममा ८ टन डिएपी मल स्टक रहेको कृषि सामग्री कम्पनी परासीका प्रमुख पोखरेलले  जानकारी दिए । जिल्लामा ७९ सहकारीमार्फत कृषि सामग्री कम्पनीले मल वितरण गर्दै आएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.