ग्लोबल आईएमई बैंकको १८ वर्षे सफल यात्रा

ग्लोबल आईएमई बैंकको १८ वर्षे सफल यात्रा
फाइल तस्बिर ।

काठमाडौं : विसं २०६३ मा १८औं वाणिज्य बैंकको रूपमा स्थापित ग्लोबल आईएमई बैंक यतिबेला १८औं वार्षिकोत्सव मनाउन लागेको छ। व्यावसायिक रूपमा सञ्चालनमा आएको यो बैंक १८औं वसन्त पार गरेर बिहीबार (पुस १८ गते) १९औं वर्षमा प्रवेश गर्दै छ। १ अर्ब ५० करोड चुक्ता पुँजीसहित स्थापना भएको यो बैंकको हाल ३६ अर्ब १२ करोड ८८ लाख रुपैयाँ चुक्ता पुँजी पुर्‍याएको छ। 

यसबीच २१ वटा बैंक तथा वित्तीय संस्थासँग गाभिएर बनेको अहिले सबैभन्दा ठूलो बैंक बनेको हो। यो बैंकको मर्जरको इतिहास २०६८ माघ २० देखि सुरु भएको थियो। ग्लोबलले आईएमईलाई गाभिएर सफल भएको नेपाली बैंक तथा वित्तीय कम्पनीको उदाहरणका रूपमा हेर्ने गरिन्छ। बैंकले आकार मात्रै बढाएको छैन वित्तीय क्षेत्रमै फरक पहिचान स्थापित गर्न सफल भएको छ। स्थापनाको छोटो समयमै ठूलो फड्को मारेको यो बैंक अहिले उत्कृष्ट बैंककै पंक्तिमा देखिन्छ। 

देशमा रेमिट्यान्स भित्र्याउने अग्रणी बैंकको रूपमा नेपाल राष्ट्र बैंकबाट समेत प्रशंसापत्र पाइसकेको छ। केन्द्रीय बैंकबाट आर्थिक वर्ष २०७९/०८० मा सबैभन्दा धेरै २१.१ प्रतिशत विप्रेषण (रेमिट्यान्स) भिœयाउने बैंकको रूपमा यस बैंक सम्मानित भएको थियो। विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधारलगायत बाह्य क्षेत्र सन्तुलनसमेतमा पुर्‍याएको योगदानका लागि उक्त प्रशंसापत्र प्रदान गरिएको थियो।

यसबाहेक बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ। बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, सन् २०२२ मा इरोमनी अवार्ड, द वेस्ट बैंक इन् नेपाल २०२४, बेस्ट इम्प्लोयर, ग्लोबल फाइनान्स, बेस्ट बैंक अवार्ड २०२४ जस्ता प्रतिष्ठित अवार्डहरू पछि सम्मानित भएको छ।
यस्तै राष्ट्रिय कर दिवस २०८० को अवसरमा बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा बढी आय कर दाखिला गर्ने बैंकको रूपमा नेपाल सरकार, आन्तरिक राजस्व विभागले बैंकलाई सम्मानित गरेको छ। 

समीक्षा वर्षमा बैंकले नेपाल सरकारलाई संस्थागत आयकर र स्रोतमा कर कट्टी गरी ६ अर्ब रुपैयाँभन्दा बढीको योगदान गरेको छ। व्यावसायिक सेवा सञ्जालको विस्तारले छरिएर रहेको पुँजी संकलन गरी अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको औद्योगिक क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान गरेको बैंकको दाबी छ। बैंकका अनुसार यसको अतिरिक्त नियमित र सेवा सम्झौतामार्फत ३ हजार ८ सय जनाभन्दा बढी नेपाली नागरिकलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको छ।

बैंकको हाल मुलुकको सातवटै प्रदेशमा गरी ३ सय ५४ शाखा ६८ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २ सय ३७ शाखारहित बैंकिङ सेवा, ३ सय ८४ एटीएम, विदेशस्थित भारतको नयाँदिल्ली, संयुक्त अधिराज्य र अस्टे«लियामा समेत गरी तीन स्थानमा प्रतिनिधि कार्यालयसमेत सञ्चालनमा रहेको छ। बैंकले समग्रमा (शाखा, एटीएम, एक्सटेन्सन काउन्टर, सेवा केन्द्र, विदेशस्थित प्रतिनिधि कार्यालयसमेत) करिब १ हजार १ सय सेवा केन्द्रमार्फत ५० लाखभन्दा बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ। 

बैंकको वित्तीय अवस्था 

बैंकको वार्षिक वित्तीय प्रतिवेदनअनुसार २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा बैंकको पुँजी, निक्षेप, लगानीमा सन्तोषजनक वृद्धि भएको छ। तर कर्जा प्रवाहमा उल्लेख्य वृद्धि गर्न नसकेको बैंकले स्विकारेको छ। यससँगै, आर्थिक वर्ष २०७८/०७९ सम्म हिताधिकारीलाई वितरित लाभांश रकमलाई कर प्रयोजनको लागि आयमा समावेश गरी कर दाखिल गर्नुपर्ने सर्वोच्च अदालतले नै फैसला गरेको थियो।

यसकारण बैंकले सो अवधिमा पुँजीगत जगेडा रकम र सेयर प्रिमियमको रकम समेतमा एकमुष्ठ १ अर्ब ३२ करोड ३९ लाख ६१ हजार रुपैयाँ थप रकम करको रूपमा सरकारलाई बुझाउन परेकोले बैंकको जगेडा तथा कोषको रकममा प्रभाव पर्न गएको बताइएको छ।

सञ्चालन नतिजा 

आर्थिक वर्ष २०८०/८१ मा बैंकले सञ्चालन मुनाफा ८ अर्ब ८६ करोड ७३ लाख र करपछिको मुनाफा ६ अर्ब १३ करोड ७४ लाख रुपैयाँ हासिल गर्न सफल भएको छ। गत आवमा बैंकको खुद ब्याज आम्दानी गत वर्षभन्दा २५ करोड रुपैयाँले कमी भएको छ। तर बैंकले सेवा शुल्क तथा सञ्चालन आम्दानीमा भने १ अर्ब १२ करोड ७७ लाख रुपैयाँले वृद्धि भएको छ। त्यस्तै, सञ्चालन खर्चतर्फ पनि १ अर्ब ८ करोड ४६ करोड रुपैयाँले वृद्धि भएको छ।

गत आव बैंकको खुद मुनाफामा ५५ करोड ६९ लाख रुपैयाँले कमी आएको छ। कर्जाको न्यून माग, अधिक तरलता र अपेक्षाअनुसारको कर्जा तथा ब्याजको असुली नभएका कारणले खुद मुनाफामा संकुचन आएको बैंकले जनाएको छ। ‘गत आर्थिक वर्षमा बैंकको कुल कर्जा ४.३८ प्रतिशत तथा निक्षेपमा १४.९२ प्रतिशतले बढोत्तरी भयो। निक्षेपका दरहरूमा उल्लेखनीय रूपमा कमी आए पनि निक्षेपको आकार बढ्दा र कर्जाको न्यून बढोत्तरीले खुद ब्याज आम्दानीमा प्रत्यक्ष असर पुर्‍याएको छ। 

यसको अतिरिक्त गत वर्ष जस्तै यस आर्थिक वर्षमा पनि कर्जा असुलीमा केही समस्या देखिएकोले थप कर्जा नोक्सानीको व्यवस्था गर्नु परेको कारण सञ्चालन मुनाफामा कमी आएको छ। सञ्चालन आम्दानीको बढोत्तरी तथा सञ्चालन खर्चमा गरिएको नियन्त्रणले मुनाफालाई सन्तुलनमा राख्न टेवा पुर्‍याएको बैंकले जनाएको छ। 

चालु आवको प्रथम त्रैमासमा निक्षेप, कर्जामा वृद्धि 

बैंकका अनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा निक्षेपमा २४ अर्ब ५१ करोडले वृद्धि भई ५ खर्ब २९ अर्ब ३८ करोड रुपैयाँ पुगेकोे छ। यस्तै, कर्जा लगानी २७ अर्ब ८६ करोडले बढेर कुल ४ खर्ब १८ अर्ब ६३ करोड रुपैयाँ पुगेकोे छ। प्रथम त्रैमाससम्ममा बंैकले १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको वित्तीय प्रतिवेदनमा उल्लेख छ। यस अवधिमा बैंकको निष्क्रिय कर्जा भने बढेर ४.६७ प्रतिशत पुगेको छ। यसैले अब बैंकले कर्जा असुलीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने र आगामी दिनमा कर्जाको गुणस्तरमा विशेष ध्यान दिँदै अगाडि बढ्नु पर्ने महसुस गरेको छ।

लाभांश बाँडफाँट गर्न सिफारिस ५.५ प्रतिशत

आर्थिक वर्ष २०८०/८१ समग्र बैंकिङ तथा वित्तीय क्षेत्रका लागि उत्साहप्रद रहन सकेन। पछिल्लो अवधिमा मुलुकको अर्थतन्त्रमा केही सुधारका संकेत देखिएता पनि आर्थिक गतिविधि र कर्जाको माग सोचे अनुरूप बढ्न नसकेकाले त्यसको असर प्रत्यक्ष रूपमा पर्नु स्वाभाविक हो।

बैंकका अनुसार विभिन्न व्यवसायमा परेको प्रतिकूल असरका कारण कर्जा असुलीमा केही शिथिलता आई कर्जा नोक्सानीबापतको रकमसमेत बढेको, सेयर प्रिमियम तथा मर्जर वा प्राप्तिमा सेयर आदान प्रदानको भिन्नता रकमलाई आयको रूपमा गणना गरी यसै अवधिमा एकैपटक ठूलो रकम करको रूपमा सरकारलाई बुझाउनु परेकोले वितरण योग्य मुनाफामा प्रत्यक्ष असर परी वार्षिक साधारणसभामा व्यक्त गरे अनुरूप अपेक्षाकृत प्रतिफल वितरण गर्न नसकेको हो। सोको बाबजुत पनि बैंकले आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफा तथा पुँजी समायोजन कोषसमेतबाट सेयरधनीहरूलाई बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख ७० हजारको ५.५ प्रतिशत अर्थात् १ अर्ब ९८ करोड ७० लाख ८२ हजार रुपैयाँ बराबरको लाभांश बोनस सेयरको रूपमा वितरण गर्न प्रस्ताव गरेको छ।
डेढ दर्जन भावी कार्यक्रम

बैंकले केन्द्रीय स्तरमा सुरु गरेको क्रेडिट मोनिटरिङ युनिटलाई थप प्रभावकारी बनाउँदै लग्ने भएको छ। बैंकको व्यवसाय वृद्धि गर्ने र जोखिम व्यवस्थापनका साथै विगतमा झैं आगामी दिनमा सेयरधनीलाई उच्च प्रतिफल तथा सुरक्षित लगानीको अनुभूति गराउन बैंक क्रियाशील रहने बताएको छ। आगामी दिनमा ग्राहकहरूलाई उत्कृष्ट, विश्वासिलो, भरपर्दो सेवा प्रदान गर्ने, सेयरधनीहरूलाई उचित प्रतिफल दिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको साखमा अभिवृद्धि हुने र अग्रणी बैंकको रूपमा स्थापित गर्ने गरी भावी कार्यक्रमहरू सञ्चालन गरिनेछ। 

बैंकले ग्राहकमैत्री अत्याधुनिक डिजिटल नवप्रवर्द्धन सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ र भविष्यमा समेत थप आयामहरू समेटी ग्राहकलाई प्रभावकारी सेवा पुर्‍याउने लक्ष्य लिएका छौं।  भरपर्दो र विश्वासिलो डिजिटलमा आधारित सर्वसुलभ बैंकिङले सेवाग्राही र सेवा प्रदायक दुवैको समय र पैसा बचत हुनुको साथै बैंकको मानव संसाधनको लागतसमेत घट्न जाने विश्वास रहेको छ।

सामाजिक उत्तरदायित्व
बैंकले सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत थुप्रै सहयोग गर्दै आएको छ। बैंकको तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ४ करोड ५० लाख रुपैयाँ प्रदान गरेको छ।

त्यसैगरी बैंकले आर्थिक वर्ष २०८०/०८१ मा निःशुल्क नारी स्वास्थ्य शिविर, शिक्षा, स्वास्थ्य, खेलकुद, महामारी नियन्त्रण, वातावरण संरक्षणलगायतको शीर्षकहरूमा समेत कुल ७ करोड १९ लाख रुपैयाँको योगदान गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.