अन्नपूर्ण मिडिया र अमेरिकाको साउथ एसियन टाइम्सबीच सहकार्य
अमेरिका : अन्नपूर्ण मिडिया नेटवर्क र अमेरिकाबाट साउथ एसियन टाइम्स प्रकाशित गदै आइरहेको फोर्सिथ मल्टिमिडिया ग्रुपबीच समाचार साझेदारीका लागि सहकार्य भएको छ । साझेदारी सम्झौतापत्रमा अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत र फोर्सिथ मल्टिमिडिया ग्रुप अमेरिकाका अध्यक्ष तथा प्रकाशक कमलेश सी. मेहताले हस्ताक्षर गरेका हुन्।
सहकार्य सम्झौताअनुरुप अन्नपूर्ण मिडिया नेटवर्कभित्र रहेका सबै प्रकाशनहरूले साउथ एसियन टाइम्सका समाचारदेखि लेखरचनालाई आफ्ना प्लेटफर्मबाट प्रकाशित गर्न पाउनेछ । साथै फोर्सिथ मल्टिमिडिया ग्रुपले आफ्ना प्रकाशनहरूमा अन्नपूर्ण मिडियामा प्रकाशित भएका वा अन्नपूर्ण मिडियामा कार्यरत रहेका पत्रकारहरूले उत्पादन गरेका सकारात्मक,प्रेरणादायक र सफलतामुखी कथाहरूलाई प्रकाशित गर्नेछ । यो सहकार्यले दुवै संस्थालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका निभाउनेछ । फोर्सिथ मल्टिमिडिया ग्रुपका अध्यक्ष तथा प्रकाशक कमलेश सी.मेहताले अन्नपूर्ण मिडिया नेटवर्कसँगको साझेदारीमा आफ्नो उत्साह व्यक्त गर्दै भने,‘यो साझेदारीले पाठकहरूलाई नयाँ दृष्टिकोण प्रस्तुत गर्ने र साउथ एसियन टाइम्समा उपलब्ध सामग्रीलाई विविध बनाउन मद्दत गर्नेछ । जसले हाम्रो पाठकहरूलाई उच्च गुणस्तरीय समाचार उपलब्ध गराउने उद्देश्य राख्दछ ।’
अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक बस्नेतले साझेदारीबारे उत्साह व्यक्त गर्दै भने,‘यो सहकार्यले हाम्रो अन्तर्राष्ट्रिय पहुँचलाई उल्लेखनीय रूपमा विस्तार गर्नेछ,जसले हामीलाई नेपाल र विश्वभरिका पाठकहरूलाई मूल्यवान समाचार सामग्री प्रदान गर्न सक्षम बनाउनेछ ।’
नेपाली मिडियाले उत्पादन गरेका समाचारहरूले अन्तर्राष्ट्रियस्तरमा स्थान पाउँदा नेपाली पत्रकारिताको समेत दरिलो बजार विस्तार हुने उनले बताए । प्रवासमा बसोबास गरिरहेका नेपालीमुलका पाठकहरू यो सहकार्यबाट लाभान्वित हुने विश्वास लिइएको छ।