श्रम तथा रोजगार सम्मेलन फागुन १६ र १७ गते काठमाडौंमा हुने
काठमाडौं : पाँचौ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन फागुन १६ र १७ गते काठमाडौंमा आयोजना हुने भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै आन्तरिक रोजगार प्रवर्द्धन दशकको अवधारणालाई मूर्तरूप दिन राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गर्न लागेको जनाएको हो।
उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार दशकको रणनीतिक कार्ययोजनाउपर पृष्ठपोषण लिने र वैदेशिक रोजगारीका क्षेत्रमा देखा परेका चुनौतीहरूको विश्लेषण गरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने उद्देश्यले सम्मेलनको आयोजना गरिएको मन्त्रालयका प्रवक्ता एवं राष्ट्रिय कार्यक्रम निर्देशक डण्डुराज घिमिरेले जानकारी दिए।
सम्मेलनमा तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता, विज्ञलगायत पाँच सय जनाको सहभागीता रहने उनले बताए। सम्मेलनले विभिन्न अन्तर-सम्बन्धित विषयमा श्रमिक, रोजगारदाता र सरकारका अतिरिक्त यस क्षेत्रका विज्ञ, अध्ययन अनुसन्धानकर्ता र नीति निर्माणहरूको समेत सहभागितामा सघन छलफलको अवसर प्रदान गर्ने मन्त्रालयले जनाएको छ।