स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण
लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रहरी
काठमाडौं : कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइ प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउने भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार उक्त मुद्दाको अनुसन्धान प्रतिवेदन बुधबार साँझसम्म जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी छ ।
प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाउन लागेको रायसहितको प्रतिवेदनमा रास्वपाका सभापति लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ। उक्त सहकारीबाट अपचलन भएको रकमसहित प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदावीसहितको प्रतिवेदन बुझाउन लागेको हो।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न लामिछानेसहित जीबी राई,पूर्वडीआईजी छविलाल जोशी, जीबीको साढुभाई दीपक लामा, कोषाध्यक्ष कुमार रम्तेल र व्यवस्थापक नवीन अछामीसहितका ४४ जनालाई प्रतिवादी बनाइएको प्रहरीले जनाएको छ।
यस्तै विद्यार्थी नेता दिपेश पुनकी पत्नी सविना आले मगरलाई उक्त मुद्दामा प्रतिवादी कायम गरिएको छ। उक्त सहकारीबाट ऋण लिएका अन्य एक दर्जन संघसंस्थालाई पनि प्रहरीले प्रतिवादी बनाएको छ । रकम अपचलन भएको सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा ६४ करोड ८३ लाख ३८ हजार चारसय पैसठ्ठी रुपैयाँ कारोबार भएको प्रहरीको अनुसन्धान खुलेको छ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेको हाल कास्की जिल्ला अदालतमा थुनछेक बहस जारी छ।