शिक्षा क्षेत्रको सुधारका लागि आवाज उठ्नुपर्छ : बाबुराम भट्टराई
काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले व्यापक जनदबाबबाट शिक्षा क्षेत्रको सुधारका लागि आवाज उठाउनुपर्ने बताएका छन्।
बुधबार काठमाडौंको माइतीघरमा आयोजित खुल्ला शैक्षिक बहसमा बोल्दै भट्टराईले मुलुकलाई अघि बढाउनका लागि शिक्षा क्षेत्रको सुधार आवश्यक रहेको भन्दै यसका लागि व्यापक जनदबाब सिर्जना गर्नुपर्ने बताए।
उनले शिक्षा आयोगको प्रतिवेदनलाई तुरुन्त लागू गर्न पनि दबाब दिनुपर्ने जिकिर गरे। केही पुराना भन्नेहरूले आन्दोलनभित्र पसेर लाभ लिने र चुनावको रोटी सेक्ने प्रवृति रहेकाले सजक हुन उनले सुझाव दिए। भट्टराईले युवाहरूको सक्रियतामा नै यस क्षेत्रको सुधार सम्भव रहेको बताए।
उनले आफू अर्थमन्त्री र प्रधानमन्त्री हुँदा सबैभन्दा बढी बजेट शिक्षा र कृषि क्षेत्रमा विनियोजन गरेपछि पछिल्लो समय त्यसलाई बढाउने भन्दा पनि घटाउने काम भएको जिकिर गरे।