तालिममा सहभागी हुन हिंडेकी टीका एक सातादेखि बेपत्ता
डोल्पा : डोल्पाको सदरमुकाम दुनैबाट एक महिला बेपत्ता भएकी छन्। ठूलीभेरी नगरपालिका वडा-६ दुरगाउँ बस्ने २७ वर्षीय टीका सार्की एक सातादेखि बेपत्ता भएकी हुन्।
सहकारीको तालिममा सहभागी हुन भन्दै घरबाट दुनै हिंडेकी उनी अहिलेसम्म सम्पर्कमा नआएको उनका श्रीमान वीरबहादुर सार्कीले बताए। सुर्खेतबाट डोल्पाको दुनै पुगेका एक जना कर्मचारीले तालिम छ भन्दै खबर गरेपछि टीका पुस ८ गते बिहान दुनै गएको श्रीमान वीरबहादुरको भनाइ छ।
महिला हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षसमेत रहेकी टीका घरबाट निस्किएको साँझदेखि सम्पर्कमा नरहेको उनका श्रीमानले बताए। बेपत्ता भएको एक साता वितिसक्दा पनि फोन पनि नलाग्ने र सम्पर्कमा पनि नरहेपछि खोजीका लागि उनले जिल्ला प्रहरी कार्यालय डोल्पामा निवेदन दिएका छन्।
‘म मिस्त्री काममा गएको थिएँ। पहिला पनि एकपटक तालिम पर्दा दुनै पुगेर फर्किएकी हुन्। पछिल्लो पटक तालिममा जाँद बेपत्ता भएकी हुन्,’ वीरबहादुरले भने। कसैले भेटाएमा प्रहरीलाई खबर गरिदिन पनि उनले आग्रह गरे।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीले टीका बेपत्ता भएको निवेदन आएको र जिल्लाभित्र र बाहिरका विभिन्न प्रहरी चौकीहरूमा हुलिया काटेर खोजी भइरहेको बताए। टीकाले प्रयोग गर्ने फोन स्वीच अफ भएकाले लाइभ लोकेसन पत्ता लगाउन नसकिएको उनको भनाइ छ।